आज लकडाउनको दशौं दिन । देश ठप्प छ । मानिसहरु घरमै छन् । यातायात बन्द छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना विरुद्ध नेपालले चैत्र २५ गते मध्यरातसम्म लकडाउन गरेको छ ।
लकडाउनका कारण मानिसका आम्दानीका स्र्रोत ठप्प रहेका छन् । खाद्यान्न तथा तरकारी पसल खुलेका छन् । तर, ती पर्याप्त छैनन् । सामानको आपूर्ति ठप्प हुँदा महंगी बढेको छ, पसलका सामान सकिंदै गएका छन् ।
लकडाउनका कारण धेरै समस्याहरु सिर्जित भएका छन् । नेपाल–भारत आवतजावत गर्नका लागि सीमामा मानिस रोकिएका छन् । कतिपयको औषधी सकिएपनि किन्न निस्केका छैनन् । अझै दैनिक ज्याला मजदुरी गरेर खानेहरुलाई हातमुख जोर्न धौधौ रहेको छ ।
संकटको अवस्थाले मानवीय कार्य भने जगाएको छ । संकटमा सघाउन सामूहिक र व्यक्तिगत रुपमा मानिसहरु प्रतिबद्ध रहेका छन् । स्थानीय तहले स्रोत जुटाएर खाद्यान्न वितरण गरिरहेको छ । ‘दैनिक ज्याला मजदुरी गरेर हातमुख जोर्नेहरुलाई समस्या भएपछि वडाका ३७ परिवारलाई जनप्रतिनिधि लगायत समाजका अगुवाहरुको सहयोगमा खाद्यान्न वितरण गरेका छौं’, बाँके खजुरा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष तिलक वीर सुनार भन्छन् । उनी खाद्यान्न अभाव भएकाहरुलाई सहयोग जुटाएर घरसम्मै खाद्यान्न पुर्याउने गरेका छन् ।
बाँकेका सबै स्थानीय तह यो संकटको बेलामा कोही भोका नरहुन् भनेर आफुलाई तयार अवस्थामा राखेका छन् । स्थानीय तहले आफ्नो अरुसँग सहयोग जुटाएर विपन्नका लागि खाद्यान्न सहयोग गरिरहेका छन् ।
सरकारले लगाएको लकडाउनको अवधीमा नेपालगन्ज उपमहानगरपालिका भित्र क्वारेन्टाईनमा बसेकाहरुका लागि खाना र नास्ताको व्यवस्था गरिएको छ । श्री गुरुनानक सिंह सभा (गुरुद्वारा), नेपाल शिवसेना, अवधी पत्रकार संघ बाँके शाखाद्वारा क्वारेन्टाईनमा बसेका करीब २०० बढीका लागि दैनिक रुपमा साँझ–बिहान खानाको व्यवस्था गरिएको गुरुद्वाराका प्रधान राजेन्द्रसिंह सरदारले जानकारी दिएका छन् ।
त्यसैगरी बिहान नास्ताको लागि संत निरंकार मण्डल नेपाल शाखा कार्यालय नेपालगन्ज, नेपाल शिवसेना र अवधी पत्रकार संघ बाँके शाखाको सहकार्यमा २०० बढी नास्ताको व्यवस्था गरिएको संत निरंकार मण्डलका संजय श्रेष्ठले बताए ।
लकडाउनका कारण अस्पतालमा रगतको अभाव भएपछि अन्तर पार्टी युवा संजाल बाँकेले २४ घण्टा रगत उपलब्ध गराउन सुरु गरेको छ । रगतको अभावमा रहेका ब्यक्तिहरुलाइ रगत उपलब्ध गराउन संजालले सम्पर्क ब्यक्ति तोकेको छ । रगतको अभाव भएका बिरामीका आफन्तले सम्पर्क गरेमा तत्काल रक्त संचार केन्द्रमा पुगेर रगत उपलब्ध गराउने ब्यवस्था मिलाइएको नेकपा बाँकेका कार्यालय सदस्य रत्न खत्रीले जानकारी दिनुभयो ।
सम्पर्क ब्यक्तिहरुमा नेकपा बाँकेका नेता रत्न खत्री ९८५८०२०८०८, डिल्ली बराल ९८५८०३४०००, किशोर थापा ९८५८०२१५१७, समाजबादी पार्टीका, बिजय यादव ९८५११ ४८१२२ ,नेपाली कांग्रेसका प्रशान्त बिष्ट ९८५८० २००६७ , हिरालाल लोनिया ९८५८०२१ ०८७ रहनुभएको छ ।
लकडाउनका लागि सहयोग जुटाउन र सहयोग गर्दा भरपर्दो माध्यम सामाजिक सञ्जाल तथा सञ्चार माध्यम बनेका छन् । अनलाइनबाट सहयोग आवश्यक भएको सोध्ने र सहयोग गर्न जाने गरेको पाइन्छ ।








