शाहिदा बानो शाह
पक्कै पनि यहांहरु शीर्षक हेरेर आश्चर्य चकित हुनु भएको होला यो सोचेर कि लेखक लेख्न खोजेको के होला आखिर । किन भने हाम्रो मन मस्तिष्कमा यो कुरा एकदम सेट भइसकेको छ कि यहां त मानिस गरीब हुदां खेरि मात्र समस्या र बाध्यताहरु हुन्छन् ।
हाम्रो बुझाइ अनुसार जो गरीब र आर्थिक रुपले असक्त हुन्छन् उनीहरुलाई आर्थिक कमजोरीका कारण विभिन्न कठनाईहरुको सामना गर्नुपर्छ । हाम्रो बुझाइ अनुसार खानलाउन र बस्न हम्मेहम्मे हुनेहरु भन्दा ठुलो बाध्यता के होला त । आर्थिक रुपले कमजोर परिवार जहां भोक लाग्दा खानलाई दुई छाक खाना हुदैंन् ,चरम गर्मी र कठ्ग्रिंने जाडोंमा लाउनलाई गतिला लुगा हुदैंन् र पानी पर्दा रुझिरहदां बस्नलाई टाउकामाथि छत हुदैन् । जसको फलस्वरूप कति भोकले कति चिसोले त कति वर्षातको पानीमा रुझेर बिरामी हुँदा उपचार गर्न नसकी दिनदिनै मरिरहेका छन् । जसले गर्दा गरीब महिलाहरुलाई यिनै समस्याबाट दोचार (ग्रसित) हुनुपर्छ । भन्ने भनाइ र भोगाइ बारे त गाउँ समाज, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि बहस र चर्चा चलिरहेका हुन्छन् ।
तर, यो कुरा त कसैको मानसपटलमा आउदैंन् कि धनाढ्य र सम्पन्न परिवारका महिलाका पनि आफ्नै छुट्टै खाले बेदना, कठनाई र बाध्यताहरु हुन्छन् । हुन पनि हो एक धनी परिवारका महिलालाई कस्ता समस्या हुन सक्छ र राम्रो खाना, लाउन पाएकै हुन्छिन् । अझ ऐश आरामको कुरा के गर्नु अलग अलग शहरमा ठुल्ठुला महल सरह आलीशान घरहरु हुन्छन् जसमा हर किसिमका आवश्यक सरसामानहरु जुटाइएकै हुन्छ । मन बहलाउन देश विदशका विभिन्न शहरहरु घुम्न आफ्नै नीजि चिल्ला गाडी र आवश्यकता अनुसार जहाजमा चढेर गएकै हुन्छन् ।
अझ सविस्तार भन्ने हो भने आदमकदका ऐना सहितको श्रींगार डेस्क सहित अटैच बाथरूम रहेका गर्मीबाट बच्नका लागि ए.सी. र चिसोबाट बच्न हिटर लगाइएको ठुलो स्पन्ज वाला महाराजा बेड भएका व्यक्ति पिच्छे छुट्टाछुट्टै कोठा , शीशाका ठुलाठुला डाईनिंग टेबल, चाईना बोनका ब्रान्डेड कप प्लेट गिलास लगायतका भाडाकुडा, इन्डकशन र ग्याँस चुल्होमा खाना पकाउन भान्छे हुन्छन्, सरसफाई किनमेल गर्न सर्वेन्ट हुन्छन् , बच्चालाई स्कूल पुर्याउन र घर ल्याउने मान्छे छुट्टै हुन्छन्, कहीं कतै जान परे घरको चारपांग्रे चिल्ला गाडी र चलाउने चालक हुन्छन् , लुगा धुने मेसिन र धोइदिने मानिस हुन्छन् । यति मात्र कहाँ हो अलग अलग पार्टीमा लगाउने छुट्टाछुट्टै सुन, चांदी प्लाटीनम र हिराका गरगहना आदि हुनुका साथै महँगा महँगा नाम चलेका डिजाइनरहरुको बूटीकमा बनाइएका आधुनिक डिजाइनका लुगा हुन्छन् ।
सानो भन्दा सानो कार्यक्रम र पार्टीमा जानु परेमा ठुलाठुला ब्यूटीपार्लरमा मेकअप गरी आधुनिक डिजाइनर कपडामा सजाइन्छ । अनि त्यहाँ जानु पुर्व खास उपदेश दिइन्छ कि मुहारमा मुस्कान हुनु पर्छ कसैको सामु मुख अँध्यारो देखियो भनी सुन्न न परोस् । यसरी बाहिरबाट हेर्दा हेर्ने सामान्य र गरीबी स्तरकाले सोच्छन् सबथोक त पुगेछ यिनलाई केही कमी छैन् । तर ती तामझाम पछाडि कति पीडा छ भन्ने उनलाई के थाहा र थाहा होस् पनि कसरी मेकअपले सबै दुःखपीडा छोपिरहेको हुन्छ ।
अब जरुरी भएछ कि सम्पन्नताको चिल्ला अनि बाक्ला पर्दा पछाडिका बिडम्बना वेदना र कुण्ठाहरुको पर्दापाश होस् र पर्दा पछाडिका क्षमता दक्षता र योग्यता उजागर भइ तिनले उचित अवसर पाउन् र ती शिक्षित क्षमतावान महिलाहरु पनि आ–आफ्ना स्तरबाट समुदायलाई योगदान पुर्याउन सहज र सफल होऊन् । यसार्थ हामी यहाँ त्यस्ता धनाढ्य परिवार की महिलाहरुको पीडा, वेदना, कुण्ठा, इच्छा, आशा अपेक्षा र बाध्यता बारे चर्चा परिचर्चा गर्नेछौं ।
हो हजुर , ती बाध्यताहरु जसको बारेमा अहिले सम्म कसैले कल्पना पनि गरेको छैन् होला ।
हामी बताउनेछौं कि अमीरीको पर्दा पछाडि कति वेदना लुकाइएका छन् । हामी बताउने छौं कि कति अपेक्षाहरु अझैं पुरा हुने प्रतिक्षामा छन् । हामी बताउने छौं कति क्षमता दक्षताहरु अहिले सम्म घरका चार दिवारी भित्र कुण्ठिएका छन् । हामी कुरा गर्नछौं सम्पन्नताको देखावटी आवरणभित्र कति पीडाहरु ओझेलमा परेका छन् । जसका बारे न त पीडितहरुले आफै आवाज उठाउने हिम्मत गर्न सकिरहेका छन् न समाजका अन्य कुनै वर्गले आंट गर्न सकिरहेको छ ।
कसैले आंट गरोस् पनि कसरी आखिर परिवारको मानसम्मान र प्रतिष्ठा जोडिएको हुन्छ । यसै विषयमा केन्द्रित रहि शहरकै केही सम्पन्न परिवारका महिलाहरुसंग उनीहरुका बाध्यता र वेदना बारे गोपनीयता कायम रहने र उनीहरुको नीजि जीवनमा यसले कुनै नकारात्मक प्रभाव नपार्न वाचाका साथ कुराकानी गर्दा जुन कुरा बाहिर आयो ती कुरालाई वक्ताहरुका नाम परिवर्तन गरी समाज सामु साझा गर्ने जमर्को गरेकाछौं । ताकि अप्रत्यक्ष रुपमा भए पनि उनका परिवार जनले उनीहरुको कुरा बुझ्ने प्रयास गरुन् ।
हेरौं केही सम्पन्न परिवारकी महिलाहरुसंग कुराकानी गर्दा उहांहरुको भनाइ हेरौं ।
प्रवीणता तहसम्म अध्ययन गरेकी राधा भन्छिन् “मेरो घरमा सबै उच्च स्तरीय शिक्षा हासिल गरी जागिर गरिरहेको सम्पन्न परिवार हो । पति शिक्षक, छोरीहरु शिक्षिका, नन्द प्रौढ शिक्षा पढाउने शिक्षिका र छोराहर जागीरे छन् । तर मैले मेरो पढाइको सदुपयोग गर्ने अवसर पाईन् । किन भने पहिला बच्चाहरु साना थिए तिनीहरुलाई पाल्नमै समय बित्यो पछि बच्चाहरु ठुला भए आ आफ्नो जागिरमा लागे । तिनीहरुको ख्याल राख्दै उमेर बित्यो । न घरकाले भने न मेरो आंट आयो कि म मेरो शैक्षिक योग्यता अनुसार योगदान दिन चाहन्छु । यदि मैले अवसर पाएको भए आज म एक सफल शिक्षिका हुनेथिए ।
आसमा खातुन भन्छिन् ‘मैले ३०वर्ष पुर्व नै स्नातक सम्म शिक्षा हासिल गरेकी थिएं । तर उहिले पति बेइज्जत होला भनी जागिर गरिन् अहिले छोराहरुको बेईज्जत होला भनी गर्न सकिन् । किनभने यो समाजमा महिलाले जागिर गरिन् भने समुदायले टुक्का हानीहानी मानिसलाई मानसिक तनाव दिन्छ कि अब त फलानाको घरकाले महिलाको कमाइ खाने भएकाछन् निकम्मा हरु । मेरा घरपरिवार ले यस्तो अपजस सुन्न नपरोस् भनी यही कुरा सोचेर म जागिर गरिन् ।’
रिहाना बेगम भन्छिन्, ‘मेरो परिवारमा हामी पाँच जना बुहारीहरु छौं । सबै भारतका प्रख्यात सहरका धनाढ्य परिवारबाट छौं । सबैले उच्च शिक्षा हासिल गरेकाछौं । जेठी प्रवीणता तहसम्म, माइली स्नातकसम्म , साइली र काइली स्नातकोत्तर अनि कान्छी कम्प्यूटरमा डिप्लोमा गरेकीछिन् । तर हाम्रो शिक्षा दराजको ढोका भित्र सीमित छ । हामीले आफ्नो शिक्षाको सदूपयोग गर्ने अवसर नै पाएनौं । हाम्रो जिम्मेवारी चांडपर्वमा आ आफ्नो शहरको प्रख्यात परिकार बनाइ परिवार र ईष्टमित्र नातागोतालाई खुवाउने अनि बच्चा र घर व्यवहार सम्म सीमित भइदियो । हामीहरुले यदि अवसर पाएको भए देश र समाजमा धेरै योगदान दिन सक्ने थियौं तर बिडम्बना ।’
जानकी भन्छिन्, ‘मैले फैशन डिजाइनर कोर्स गरे तर विवाह पश्चात सबै छाड्नु पर्यो किनभने आफु सम्पन्न परिवार की बुहारी भएकी हुनाले सबैले दबाव दिए कि यतिको धनी परिवार की बुहारीले बाहिर काम गर्दा न समाजमा हाम्रो नाक कटिहाल्छ ।’
सरस्वती भन्छिन्, ‘बिहेका लागि केटी खोज्न जानेबेला पहिलो प्रश्न नै यही हुन्छ कति सम्म पढेकी छ्यौ । बुहारी खोज्ने बेला त सकभर उच्च शिक्षा हासिल गरेकी शिक्षित र सुन्दर केटी नै खोज्छन् । तर घरमा ल्याएर उसलाई चूल्होचौका सम्म मात्र सीमित राख्छन् । परिवार र कुलघरानको मान मर्यादाको ख्याल राख्नुपर्छ भनी घरको चार दिवारीभित्र कैदी जस्तै जीवन बिताउन बाध्य गराईन्छ । यही नै यो समाजको हकीकत हो ।’
जुलेखा बानो भन्छिन्, ‘म सिलाइ कटाई र कढाई सिकेकीछु । मेरो धोको थियो कि म एउटा बुटिक संचालन गरी अरु महिलालाई रोजगारीको अवसर सृजना गर्नेछु । तर परिवारको मान सम्मानका खातिर मैले मेरो सपनालाई आफै चकनाचूर गरें । अहिले घरमा बच्चा र घर परिवारलाई स्याहर्दै बसेकीछु यतिमै जीवन सीमित छ ।’
डाक्टर नैना भन्छिन्, ‘तपाईलाई लाग्छ होला आफु यति ठूलो डाक्टर हुँदा मलाई के नि समस्या होला । तर हामी जस्ता महिलाहरुका बाध्यता छुट्टै किसिमका हुन्छन् । जसको बारे कतै कुरा उठाईदैंन् । थाहा छ हामी बिरामीहरुलाई कसरी राम्रो र निको हुने भनी सल्लाह र औषधी दिने गर्छौं । उनीहरुलाई रोगका उपचार गर्न अप्रेशन गर्छौं ताकि बिरामीलाई सन्चो होस् ऊ स्वास्थ्य भइ बाचोस् । तर हेर्नस् न हाम्रो फाटेका मन सिलाइदिने कोही हुँदैन । मनका व्यथालाई मनन गरी मलम लाई दिने कोही हुँदैन् । अरुलाई सल्लाह दिने आफु आफ्नै सन्तानका बारे फैसला गर्ने अधिकार हुँदैन बच्चालाई कुन स्कुलमा पढाउने उसको विवाह कहां गर्ने र घरायसी अन्य महत्वपूर्ण विषयमा निर्णय गर्ने अधिकार हुदैंन् । तब लाग्छ कि म असक्षम छु क्या हो जसले गर्दा मलाई महत्वपूर्ण निर्णयहरुबाट यसरी किनारा लगाईन्छ मन औधी पोल्छ तब ।’
तारा भन्छिन्, ‘म एक सम्पन्न परिवारबाट छु । जहां जीवनयापनका लागि चाहिने हरेक कुरा ब्रान्डेड र उच्च क्वालिटीका हुन्छन् । अझ् लगाउनलाई थरिथरीका गहना छन् जो भन्ने बेला घरकाले सबै सामु भन्ने पनि गर्छन् कि यी सबै गरगहना तिम्रै हो । जुन गहनाले विभिन्न अवसरमा म लादिएको हुन्छु तर बिडम्बना यो छ कि म आफ्नो मनमर्जीले ती मध्येबाट एक सिन्को कसैलाई न दिन सक्छु न बेच्न सक्छु । कस्तो विवश्ता है ।’
सर्मिला भन्छिन्, ‘हामी जति सम्पन्न र धनी परिवारको सदस्य भए तापनि अहिले पनि हाम्रो समाजमा महिलाको स्थान पुरुषको तुलनामा तल्लो स्तरमा नै छ । जति ठुल्ठुला कुरा गरे नि अझैं पनि समाजमा महिलालाई दोस्रो दर्जामा नै राखिन्छ ।’
माथि छलफलमा सहभागी हुने महिलाहरुको बाध्यता हेर्यौं । जो शिक्षित छिन् तर आफ्ना योग्यता अनुसार समाजमा योगदान पुर्याउने अवसर बाट बन्चित छन् । कोही आफ्नो पढाइलाई सदुपयोग गर्न नपाईरहदां दुखी छिन् भने कोही आफ्नै घरमा घरायसी महत्वपूर्ण फैसलाहरुमा आफ्नो मन राय समेत राख्न नपाईरहदां दुखि छिन् । अझ धेरैले त आफुले लगाइरहेको गहनाहरु आफु खुशी सही काममा समेत राम्रो नियतले भलो हुने गरी चलाउन नपाईरहंदा दुखि छिन् । कोही महिलालाई पुरुषको तुलनामा दोस्रो दर्जामा राखिने प्रवृत्तिले दुखि छिन् ।
हामी माथि नै कुरा गरी सकेछौं कि वेदना, कुण्ठा ,बाध्यता र विवशता गरीब परिवारका महिलाहरुलाई त हुन्छ नै जस बारे हरेक स्तरमा छलफल हुन्छ र तिनलाई समाधान गर्ने उपाय खोजेर आवश्यक पहल पनि गरिन्छ अनि ती गरीब परिवारका महिला पुरुष कसैलाई त्यस पहलबाट कुनै आपत्ति पनि हुदैंन् बरु तिनीहरु खुशी साथ आफ्ना समस्या समाधानका लागि गरिने पहलमा आफु पनि हर तवरले सहभागी हुन्छन् ।
तर धनी परिवारका महिलाहरुका वेदना , कुण्ठा ,बाध्यता र विवशता फरक हुन्छन् । जसको समाधान गर्नु त परै जाओस् समस्या तिर पनि कसैको ध्यानै जादैंन् । अझ खुलस्त रुपमा भनौं भने धनी महिलाहरुका समस्या अलि उच्च जोखिम खाले हुन्छन् । जस बारे न त कतै चर्चा गरिन्छ न समाधान गर्ने पहल र प्रयास गरिन्छ । परिवारको सहभागिताको कुरा गरौं भने पुरुषहरुको यस विषयमा घोर आपत्ति हुन्छ । किनभने मान मर्यादा र प्रतिष्ठा जोडिनुका साथै पुरुत्वको अहंकार समेत जोडिएको हुन्छ । जसले गर्दा ती चिल्ला पर्दा पछाडिका समस्या र बाध्यता ज्युं का त्युं नै छन् ।
धनाढ्य र सम्पन्न परिवारका महिलाहरुका बिध्यता र समस्या बारे कुरा गर्न यस कारण जरुरी लाग्यो । ताकि जो आफु आफ्नो जीवनशैलीसंग सन्तुष्ट छन् तिनलाई त्यसमा रमाउन दिने । तर जो ईच्छुक छन् उनीहरुलाई अबको आउने दिनमा यस्ता समुदाय र परिवारले महिलाका क्षमता, दक्षता र योग्यताको कदर गरी उनीहरुको इच्छा ,अपेक्षा र चाहना अनुसार समाजलाई सभ्य र राम्रो बनाउन उनले गर्न सक्ने योगदान गर्न चाहेमा कुनै खाले मुल्य र मान्यताहरु बाधाका जन्जीर नबनोस् ।
हामी सबैको साझा चाहना कि एउटा सभ्य समाज निर्माणमा सक्षम महिलाले योगदान पुर्याउन सक्ने वातावरण सृजना होस् ।