भारतका विभिन्न ठाउँबाट नेपालसँगको सीमावर्ती बजार रुपैडिहा आइपुगेको २४ घण्टा बितिसक्दा पनि नेपाल भारत सीमानाको नेपालगन्ज नाकास्थित दशगजामा दुधेबालक सहित १४ जना नेपाली अझै अलपत्र अवस्थामा छन् ।
दुई महिला सहित सुर्खेत र दैलेखका उनीहरुलाई दिनभर सिमापारि भारतीय बजार रुपैडिहामा रोकी रातीपख नेपालतर्फ पठाइएको थियो ।
उनीहरुलाई सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले स्वास्थ चेकजाँचका लागि बनाइएको सीमा गेटछेउ आश्रय दिएको छ । जमुनाह प्रहरी इन्चार्ज माधव रिजालका अनुसार, प्रहरीलेनै आफ्नो खाना खुवाएको छ । अब नेपालगन्ज उपमहानगरपालिकाले खानाको जिम्मा लिन्छ भन्ने सुनेको छु, प्रहरी नायब निरीक्षक रिजालले भने ।
उनीहरुलाई कसरी नेपाल ल्याउने भन्ने बारेको अन्योलताले काखको नाबालकसहितका १४ जना अलपत्र अवस्थामा टेन्टको बास भएका हुन् ।