नेपालगन्ज शान्त लकडाउन

सरकारले विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी लकडाउन गरेको पहिलो दिन मंगलवार नेपालगन्ज सुनसान रह्यो । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि मंगलवार बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो ।

दिनभर लकडाउन शान्त रहेपछि साँझ एकाएक बजारमा भिड बढ्यो । मानिसहरु कफुर्यु खुलेको महसुस गर्दै बजारमा घुम्न समेत निस्केको पाइन्थ्यो । कोरोना विरुद्धको सतर्कताका लागि आव्हान गरिएको लकडाउनको कुनै पनि कारणले फितलो हुनदिनुहुन्न भन्ने चेतनामा स्थानीयमा पाइएन ।

नेपालगन्ज मेडिकल कलेजमा उपचारका लागि खटिएका चिकित्सक ।


‘शान्तसँग लकडाउनको पालना गरिएको पाइयो,’ बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले दैनिक नेपालगन्जसँग भने, ‘अत्यावश्यक बस्तुको किनमेलका लागि बुधवारदेखि पसल खोल्ने व्यवस्था मिलाइएको छ ।’ त्यसका लागि दैनिक उपभोग्य र औषधिजन्य पसलमा स्थानीय प्रशासनले खोल्न समन्वय गरेको बताइएको छ ।


प्रहरीले पसल सञ्चालनमा अवरोध गरेको भन्दै केही मंगलवार अधिकांश औधषि पसल समेत बन्द भएका थिए । चौतर्फी सतर्कताका लागि सरकारले घोषणा गरेको लकडाउनका लागि नेपालगन्जवासी बिस्तारै अभ्यस्त देखिएका छन् । तीन दिन यताका निकै प्रयासबीचका अटेरी नेपालगन्जवासीले मंगलवार ‘लकडाउन’ नै गरिएपछि अटेरी कम हुँदै गएको हो ।


बिहानैपनि मर्निङ वाल्क गर्नेहरुको संख्या देखिएको नेपालगन्जमा अटेरीलाई तह लगाउन भन्दै नेपाल प्रहरी र सशस्त्रको तैनाथी बढाइएको बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले जानकारी दिए । भित्री सडकमा एकाध मानिसहरु मोटरसाइकलमा देखिएपनि सुर्खेतरोडमा एम्बुलेन्स र प्रहरीका गाडीमात्र कुदेका थिए । दिनभर शान्त र सन्नाटा छाएको नेपालगन्ज बजार साँझ भने चहलपहल देखिएको थियो । कोराना भाइरसबाट उत्पन्न महामारी भित्रन नदिन चौतर्फी सतर्कता आव्हान गरेको सरकारले मंगलवारबाट नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ । चैत १८ गते बिहान ६ः०० बजेसम्म लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक बाहिर ननिस्कन आदेश गर्दै लकडाउन घोषणा गरेको हो । ‘अत्यावश्यक सामाग्रीका लागि मानिस बाहिर निस्किएका हुन्,’ प्रजिअ खड्काले बुधवारदेखि दिनभरनै अत्यावश्यक बस्तुका पसल खुल्ने व्यवस्था मिलाइएकोले यसखालको चहलपहल नहुने विश्वास गर्दै भने ।


‘सेतु बि चोक, न्यूरोड क्षेत्र ठप्प रह्यो,’ स्थानीयवासीसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले भने । ‘दिभर रानीतलाउ, मंगल पथ सामान्य थियो,’ स्थानीयवासी साजिदा शाहले भनिन्, ‘सडकमा मानिस देखिए प्रहरीले भगाउने गरेको थियो ।’ साविकको डिएसपी रोडमा अलिक चहलपहल देखिएपछि प्रहरीले हप्काएको थियो । सडकमै क्रिकेट खेलिरहेका युवाहरुलाई प्रहरीले लखेटेको थियो ।


भारतमा कोरोना संक्रमण देखिएपछि उच्च सकर्तकता अपनाउन शुरु गरेको नेपाल सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भन्नाका लागि सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम लकडाउन गर्ने निर्णय गरेको हो । ‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । यस्तै अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ । यद्धपि, नेपालगन्जमा मोटरसाइकल, साइकल र कतिपय साना गाडी फाट्टफुट्ट निस्किएका देखिन्थे । लकडाउन उलङ्घन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपिया सम्म जरिवाना वा दुवै हुने व्यवस्था छ । पहिलो दिन प्रहरीले खासै कडिकडाउ भने गरेको देखिएन ।


सुर्खेतरोडको कारकादो देखि गणेशमान चोक क्षेत्रसम्म प्रायः सुनसान रह्यो । बिहानै देखि धम्बोझी पुष्पलाल चोक क्षेत्रपनि बन्द रहेको होटल व्यवसायी महासंघका प्रदेश अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिए । सदरलाइन त्रिभुवन चोक क्षेत्रमा एकाध मानिसहरु देखिएपनि अघिल्ला दिनजस्तो भिडभाड देखिएन । साँझ भने तरकारी खाद्यान्न किनमेल गर्नहरु भिड लगाएका थिए ।
नेपालगन्जसँग जोडिएका ग्रामीण क्षेत्र सामान्य लाग्थ्यो । भृकुटीनगर परसपुर रोडमा मानिस अनावश्यक डुलिरहेका देखिएका थिए । यद्धपि अघिल्ला दिनको तुलनामा यो संख्या निकै कम हो । स्थानीयवासी, युवा व्यवसायी अवधराज शर्माका अनुसार, लकडाउनको अवज्ञा गर्नेहरुलाई तह लगाउन प्रहरी परिचालन अझै बढाउनुपर्ने देखिन्छ ।


मन्त्रिपरिषद्को आइतबारको बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूूल गर्न उक्त आदेश जारी गर्ने निर्णय गरिएको थियो । औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने यो बेला संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने व्यवस्था छ । ‘स्वाथ्यको ख्याल राख्दै घर बसिदिनुस् भन्दा डण्डा लगाउनुपर्ने ?,’ कतिपयले गरेको अटेरीबारे बाँके प्रहरी प्रमुख ओलीले दैनिक नेपालगन्जसँग भने, ‘यतिबेला प्रत्येक नागरिक उत्तिकै जिम्मेवार र जवाफदेही हुन आवश्यक छ ।’


बुधवार अझै कडिकडाउ गर्नुपर्ने देखिएको टिप्पणी सर्वसाधारणले गरेका छन् । ‘पुरै तयारीका साथ सबैतिर प्रहरी परिचालन गरिएको छ, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओलीले भने, अबपनि अटेरी गर्नेलाई थुन्ने आदेश भएकाले सोही बमोजिम गरिनेछ । उनका अनुसार, अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने आदेशमा उल्लेख छ । प्रहरी प्रमुख ओलीका अनुसार, अहिलेसम्म कसैलाई पक्राउ भने गरिएको छैन ।


आदेश जारी भएसँगै सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्नुपर्ने सरकारको आदेश छ । जसले गर्दा नेपालगन्ज विमानस्थल मंगलवार पूर्णरुपमा बन्द रह्यो । लामो तथा छोटो दुरीका सयौं गाडी नेपालगन्ज बसपार्कमा ‘लकडाउन’ का अवस्थामा राखिएका छन् । ‘आवश्यकता अनुसारका गाडी स्थानीय प्रशासनले लैजाने गरेको’ बस व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया