मीरेश अधिकारी
जब भूतको फिल्म हेर्छौ, त्यसमा कुनै न कुनै डरलाग्दो पात्र हुन्छ । त्यो पात्रले उपद्रव काम गरिरहेको हुन्छ । दर्शकलाई थाहा छ कि, त्यहाँ खतरा छ । जब राती कुनै आवाज सुनेर कोहि एक्लै बाहिर निस्केको देखिन्छ, अनि हामी दिक्क पर्दै भन्छौ, के गरिरहेको होला… खुरुक्क ढोका लगाएर बस्नु नि…!
सोचौं, हाम्रो यो जीवन पनि एउटा भूतको फिल्म जस्तै हो । जसलाई कसैले हेरिरहेको छ । जीवनको यो फिल्ममा कोरोना भाइरस (कोभीड —१९) भन्ने भूत छ । यसलाई फिल्ममा रुपान्तरण गर्ने हो भने कुनै दर्शकले शायद, अहिले हाम्रो ब्यवहार हेरेर उसैगरि टाउकोमा हात राख्दै सोच्छ, होला । जसरी हामीले त्यस्तो फिल्म हेर्दा कुनै पात्रको ब्यवहार हेरेर आफ्नो टाउकोमा हात राख्ने गर्छौ ।
कोरोना भाइरसको उद्गमस्थलका रुपमा लिइने चीनको वुहान अनि युरोपको इटली हामीले देखिसकेका छौं । त्यहाँ भइरहेको गतिविधिबारे शायद यहाँ उल्लेख गरिरहनु सान्दर्भिक नहुन सक्छ ।
जिम्मेवारपूर्ण व्यवहार खै ?
चीनपछि युरोप र अमेरिकामा कोरोना भाइरसले त्रास फैलाइरहेको देख्दा देख्दै पनि हाम्रो ब्यवहार कत्ति पनि जिम्मेवारिपूर्ण भएको पाइएको छैन । हामीले यो बिर्सनु हुदैन कि यो भाइरसको रोकथामको एकमात्र उपाय भनेको व्यक्तिगत दूरि हो । नागरिकहरुबीचको घुलमिलले भाइरस फैलावटलाई बढाउँछ । तर, यहाँ हामी बस चढ्दै टाढा–टाढाको यात्रा गर्दैछौं । स्वस्थ र सुरक्षित रहे भोलि कार्य, कार्यालय, विद्यालय तथा अन्य स्वाभाविक कार्यहरु गर्न सकिन्छ । तर स्वास्थ्य नै नरहे के गर्ने ?
कनिका कपुरले झैं पार्टी नगरौं
यो समय अरुको र आफ्नो सुरक्षाको लागि आफूलाई बन्द गर्नु हो, बलिवुड गायिका कनिका कपुर झै पार्टी गर्ने समय होइन । अर्को, केहि ब्यक्तिहरु भन्छन्, यसले हामीलाई केहि गर्दैन, बृद्धबृद्धाहरुलाई मात्रै खतरा छ । ठिक छ, राम्रो कुरा हो, तर यहि कुरा आफ्नाबा, आमालाई ध्यानमा राखेर सोचौं त ? तपाईलाई यो लाग्यो भने तपाईको ज्यानलाई खतरा त नहोला । तर, तपाईको गैह्रजिम्मेवार ब्यवहारले एकै घरमाबस्ने तपाईका बा, आमालाई तपाईले भाइरस सार्ने खतरा छैन र ?त्यस्तै तपाई जस्तै सोच्ने कुनै अन्य गैह्र जिम्मेवार युवाले तपाईका बा, आमालाई भाइरस सार्ने खतरा छैन र ? त्यसैले जिम्मेवार बनौ, अनि आफ्नो लागि नभए पनि अरुकालागि यो भाइरसबाट बच्ने सक्दो कोशिस गरौं ।
दुरी कायम गरौं
अर्को, म त सहरमा छु, सुविधा छ, अस्पताल छ भन्ने पनिभावना देखिएको छ । यदि काठमाण्डौमा १० लाख नागरिक छन् । यो भाइरस फैलियो भने १० प्रतिशतको दरले कमसेकम १ लाखलाई अस्पताल चाहिने हुन्छ, जुन काठमाडांैमा उपलब्ध छैन । न त्यति रोगिलाई सेवादिने स्वास्थ्यकर्मी नै छन् । त्यो बेलामा विरामीको बाँच्न सक्ने सम्भावना हेरेर मात्र स्वास्थ्य सेवा दिइने छ । यस्तो भयावह स्थितिलाई ननिम्त्याउन एउटै मात्र उपाय भनेको सामाजिक दूरी हो ।











