सिमावर्ती भारतसँग जोडिएको नेपालगन्ज आइतवारबाट ‘सेमि लकडाउन’मा जाने भएको छ । शनिवार बसेको सरोकारवालाहरुको विशेष बैठकले बढ्दो जोखिम न्युनिकरणका लागि ‘सेमि लकडाउन’ को निर्णय गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षमा शनिबार नेपालगञ्ज उपमहानगरपालिकामा बसेको कोरोना पुर्व तयारीका लागि गठित जिल्ला स्तरीय टास्क फोर्सको निर्णय यस्ता छन्,
१)
चैत ९ गतेदेखि २१ गतेसम्म खाद्यान्न, औषधी लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल ब्यवसाय बन्द गर्ने खाद्यान्न, औषधी लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल ब्यवसाय बन्द गर्ने । संघीय सरकारले अत्यावश्यक भनेर राजपत्रमा किटान गरेका (हेर्नुस् तल) क्षेत्रलाईनै नेपालगन्जले कार्यान्वयनमा ल्याएको हो ।
२) आइतवारसम्म लायन्स डेन्टल अस्पतालमा आईसुलेसन स्थापना गर्ने । आईसुलेसन ४० बेडको हुनेछ ।
३) वडास्तरमा क्वारेन्टाईनका लागि स्थानीय तहलाई अनुरोध गर्ने, सेल्फ आईसुलेसनका लागि आम नागरिकमा आव्हान गर्ने
घ) कोरोना विरुद्ध राज्यले गरेको निर्णय कार्यान्वयनका लागि कडाईका साथ प्रस्तुत हुने
बैठकमा सीमा नाका तत्काल सिल गर्न सहभागीको अपिल ।
बैठकमा प्रदेशसभा सदस्य कृष्णा केसी,नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, नेकपा बाँकेका सचिव अशोक कोइराला, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, जिल्ला प्रहरी प्रमुख एसपी वीरवहादुर वली लगायतको सहभागिता । उपप्रमुख मगरका अनुसार बजार बन्दको निर्णय आइतवारदेखि कार्यान्वयन हुनेछ ।
नेपाल राजपत्रमा उल्लेख भएका अत्यावश्यक सेवाहरुः
१. डाँक, तार वा टेलिफोन सेवा
२. जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा
३. हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
४. हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
६. हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
७. सञ्चार सेवा
८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
९. खानेपानीको सञ्चालन तथा वितरण सेवा
१०. पर्यटन आवास, मोटल, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा
११. पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१२. अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
१३. औषधि निर्माण तथा बिक्री वितरण सेवा
१४. फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापनसँग सम्बन्धित सेवा
१५. बैंकिङ सेवा
१६. बिमा सेवा
१७. विद्युत् सेवा
१८. दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दालचामल, नुन, तेल)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१९.मौसम पूर्वानुमान, बाढी, पूर्वानुमान तथा पूर्वसूचना सेवा ।
कोरोना विरुद्ध स्वास्थ्यकर्मीलाई अभिमुखिकरण
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाले शनिबार स्वास्थ्यकर्मीका लागि शनिबार अभिमुखिकरण कार्यक्रम गरेको छ । कार्यक्रममा स्वास्थ्यकर्मीहरुले ज्यानको बाजी लगाएर हालसम्म सीमाक्षेत्रमा खटिएको भन्दै तत्काल सुरक्षाको उपाय अपनाउन माग गरेका हुन् ।
स्वास्थ्यकर्मीहरुले आधारभुत मापदण्ड अनुसारका सामान दिन माग गरेका हुन् । मास्क, एप्रोन, पिपिई, स्यानीटाईजर लगायतका सामाग्री उपलब्ध नभए हेल्थडेस्कमा काम गर्न नसकिने भन्दै उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले कोरोना विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको भन्दै स्वास्थ्यकर्मीहरुको सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्यकर्मीहरु २४ सै घण्टा काममा खटिन तयार भएको बताउँदै स्वास्थ्यमा भने सम्झौता गर्न नसकिने स्पष्ट पार्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले स्वास्थ्यकर्मीको सुरक्षाका लागि उपमहानगरपालिकाका अत्यन्त गम्भिर रहेको भन्दै केन्द्र र प्रदेश सरकारसँग निरन्तर समन्वय भईरहेको बताउनुभयो ।