उद्योग व्यवसायमा कोरोना कहर : बाँकेमा बन्द हुँदै रेष्टुरेन्ट, कर्मचारी कटौती गर्दै होटल

‘आजमात्रै ९० प्रतिशत कर्मचारीलाई घर पठाएँ,’ १० जना कर्मचारीबाट सम्पूर्ण सेवालाई निरन्तरता दिन आफै खटिएका नमस्ते भिलेज रिसोर्ट प्रालिका सञ्चालक पशुपति दुलालले विहीवार साँझ दैनिक नेपालगन्जसँग भने, ‘यस्तै अवस्था रहे दुई तीन दिनमा सबै कर्मचारीलाई विदा गरेर रेष्टुरेन्ट बन्द गर्छु ।’

४० जना कर्मचारीले भ्याइनभ्याइ सेवा प्रवाह गर्ने गनापुरस्थित नमस्तेमा दुलालले दुखेसो गरिरहँदा १०÷१२ जना पाहुना खाजा खान पुगेका थिए । ‘सिमा बन्दजस्तै भयो, आन्तरिक पाहुनालई बाहिर सकभर ननिस्कन सरकारले आव्हान गरेको छ, कहाँबाट मान्छे आउलान् ?’ दुलालले भने, ‘अर्काे कुरा हाम्रो आफ्नो स्वास्थ्यको जोखिम पनि त हेक्का राख्नुप¥यो ।’

कोरोना भाइरसको कहर अर्थात् कोभिड–१९ का कारण बाँकेको पुरै बजार प्रभावित भएको छ । औद्योगिक, व्यवसायिक प्रतिष्ठानहरु प्रभावित भएका छन् । सम्बद्धका अनुसार, कोरोना भाइरसकै त्रासका कारण यहाँका उद्योग, कलकारखाना बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
उद्योगमा कामदार र कच्चा पदार्थ अभाव भएपछि उद्योग प्रभावित बनेका हुन् । कोभिड–१९ सङ्क्रमण फैलिन नदिन जमुनाह नाकामा साइकलदेखि अन्य ठूला सवारीसाधन आवागमनमा रोक लगाउँदा बाँकेका उद्योगमा काम गर्ने कामदार आउन सकिरहेका छैनन् । यहाँका अधिकांश उद्योग भारतीय कामदारमाथि निर्भर छन् । ‘हाम्रा कामदारलाई उद्योगमा आउँदा जाँदा सरसफाई र सेनिटाइजरको प्रयोगलाई अनिवार्य गरेर उच्च सतर्कता अपनाइएको छ,’ नेपालगन्ज– कोहलपुर औद्योगिक करिडोरस्थित औद्योगिक प्रतिष्ठान केएल दुगड समूहका महाप्रवन्धक प्रदीप छाजेरले दैनिक नेपालगन्जसँग भने, ‘कामदार अभावसँगै कच्चा पदार्थ आयातमा कठिनाइ उत्पन्न भएपछि उद्योग सञ्चालन गरिरहन कसरी सकिएला ?’ कच्चा पदार्थको ढुवानी रोकिएको छैन । तर जापान, चिन जस्ता कोरोना प्रभावित देशबाट आउनुपर्ने कच्चा पदार्थको आयात प्रभावित हुँदा यहाँका उद्योगलाई समस्या भएको हो ।


बाँकेको होटल र उद्योगक्षेत्र कोभिड–१९ का सबैभन्दा बढी कारण प्रभावित भएको देखिएका छन् । होटलमा सेवाग्राही आउनै छाडेपछि धेरैले कर्मचारीलाई बेतलवी बिदा दिएका छन् । ‘होटल तथा रेष्टुरेन्ट कोरोना कहरले मुर्छित् छन्,’ पर्यटन क्षेत्र ध्वस्त भएको भन्दै होटल व्यवसायी महासंघका प्रदेश ५ अध्यक्ष भाष्कर काफ्लेले दैनिक नेपालगन्जसँग भने, ‘केही दिन यस्तै रह्यो भने सरकारले अस्थायी अस्पताल वा क्वारेन्टाइनका रुपमा निर्णय गरेर उपयोग गर्नुपर्छ ।’ त्यसो नभए होटलहरु बन्द हुने काफ्लेको भनाइ छ ।


होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कंडेलका अनुसार, बाँकेका सबै होटल तथा रेष्टुरेन्टले आफ्ना अधिकाँश कर्मचारीलाई विदा दिएका छन् । ‘बन्द सरह भैसकेका छन्,’ अध्यक्ष कंडेलले कर्मचारी कटौती गरेरैपनि टिकीरहने प्रयासमा रहेका होटलहरुले चुनौतीमा टिकीरहन भने गा¥हो भएको बताए । नेपालगन्जमा १ हजार ५ सयबढी होटल तथा रेष्टुरेन्ट र डेढ दर्जन तारे होटल छन् । ‘बाहिरी पाहुना बन्द सरह छ,’ सिद्धार्थ गु्रप अफ हस्पिटालीटीका निर्देशक केशव न्यौपानेले भने, ‘कसरी टिकीरहने भन्नेमा निरन्तर छलफल भइरहेको छ ।’ अर्का निर्देशक कृष्ण भण्डारीका अनुसार, आन्तरिक पाहुनाबाटै चलिरहेको सिद्धार्थमा कोरोनाविरुद्धको सचेतनामा विशेष ध्यान दिइएको छ । ‘इन्ट्रान्समैं इन्फरमेसन हेल्थ डेस्क राखिएको छ,’ भण्डारीले भने । यतिबेला होटलका लागि कर्मचारी, विद्युत र बैंक ब्याजनै मुख्य चुनौती भएको न्यौपानेको भनाइ छ ।


नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दल वाहिद मन्सुुरीले निजीक्षेत्र धरासायी बन्ने अवस्थामा पुगेको बताए । ‘राम्रो हुँदै गएको आर्थिक क्षेत्र कोरोनाका कारण नराम्रो गरी प्रभावित भएको छ,’ मन्सुरीले भने ।


नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग सङ्घका महासचिव दिला शाहले कच्चा पदार्थको स्टक सकिने अवस्था आएको बताइन् । ‘जोसँग कच्चा पदार्थ स्टक छ, उहाँहरुले उत्पादन गरिरहनुभएको छ । नत्र अरु त बन्द गर्ने अवस्था सिर्जना भइसकेको छ’, शाहको भनाइ छ । उद्योगी, व्यवसायीले उद्योग बन्द गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्ने तयारी गरिरहेका छन् । पश्चिम नेपालको प्रमुख नाका जमुनाहमा सवारीसाधन सञ्चालनमा बुधबारदेखि पूर्णरुपमा रोक लगाइएको छ ।
नेपाल र भारतर्फका सुरक्षाकर्मीले दुवै देशमा प्रवेश गर्ने ठूला सवारीसाधनदेखि साइकलसम्म सञ्चालनमा रोक लगाइएको छ । नेपालगन्जका विभिन्न उद्योग कलकारखानामा काम गर्ने सीमा क्षेत्रका सयौँ भारतीय कामदार पनि अहिले काममा आउन पाएका छैनन् । उनीहरु बिहान साइकलबाट नेपालगन्जमा काम गर्न आएर बेलुका फर्कने गर्दथे ।


‘अव्यवहारिक कडाइ’

नाकामा भइरहेको कडाईलाई उद्योगी व्यवसायीहरुले ‘अव्यवहारिक र अवैज्ञानिक’ भनेका छन् । नाकाबन्दी गरेजस्तो तीन किलोमिटर वरैबाट सवारी तथा यातायातका साधनमा रोक लगाइदा निकै कठिनाइ उत्पन्न भएको भन्दै आलोचना भएको हो ।


‘भन्सार सुचारु भएपछि कम्तिमा त्यहाँसम्म आवागमन व्यवस्थित गरिनु पथ्र्याे,’ उद्यागी, व्यवसायीहरु भन्छन्, ‘तीन किलोमिटर हिडाएर जनतालाई सास्ती दिने के यस्तो व्यवस्थापन हो ?’ उता भारततर्फ आफ्ना जनतालाई त्यस्तो कुनै रोकतोक लगाएको छैन । तर, नेपालतर्फ चौलिकादेखिनै एकाएक यातायातका सबै साधनमा रोक लगाइएको छ ।


भारतबाट नियमित आयात रोकिएको छैन । निर्यात खासै नभएपनि आयात नरोकिंदा भन्सार सम्मका लागि जानपनि उद्योगी व्यवसायीहरुलाई कठिन भएको हो । ‘एउटा गाडीको भन्सार प्रक्रियाका लागि दिनभरि लाग्छ,’ विहीवारमात्रै आफुले भोगेको सास्ती सुनाउँदै केएल दुगड समूहका महाप्रवन्धक प्रदीप छाजेरले दैनिक नेपालगन्जसँग भने, ‘यही प्रक्रियालाई कायमै राखियो भने आयातमा हुने कठिनाइ र ढिलासुस्तीले आपूर्ति प्रणालीमैं समस्या उत्पन्न हुने जोखिम देखिन्छ ।’ यसतर्फ स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण हुनुपर्ने औल्याउँदै उद्योगपति छाजेरले भन्सारसम्मको आगागमन सहज बनाउन सुझाव दिए ।

प्रतिक्रिया

प्रतिक्रिया