कोरोना कहर : नेपालगन्ज हुँदै दैनिक दुई हजार बढी नेपाली घर फर्कंदै

पछिल्ला तीन यतामात्र नेपालगन्ज नाकाबाट ६ हजार नेपाली भारतका विभिन्न ठाउँबाट घर फर्किएका छन् । इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार, यसरी फर्किने सबै नेपाली भारतीय भूमिमा श्रमका लागि गएका हुन् ।


‘कोरोनको सन्त्रासपछि उनीहरु डरले घर फर्किएको पाइएको छ,’ इप्रका जमुनाहका प्रमुख, प्रहरी नायब निरीक्षक माधव रिजालले दैनिक नेपालगन्जसँग भने, ‘कतिपयलाई कामबाट विदा दिइएको छ भने अधिकांश महामारीको सन्त्रासले घर फर्किएको बताउँछन् ।’ रिजालका अनुसार, पछिल्ला तीन दिनमात्र यो संख्या ६ हजारबढी छ । ‘आउने क्रम निरन्तर बढ्दो छ,’ उनले भने । यसरी फर्कनेमा कालीकोट, जुम्ला, सुर्खेतलगायतका उनीहरु हिमाञ्चल, सिमला, लखनउ, दिल्ली लगायतबाट आएका हुन् ।


भारतबाट आउनेहरुलाई नाकामा चेकजाँचपछि मात्र नेपाल प्रवेश दिइएको छ । ‘एक जना नानपाराबाट आइरहेका भारतीय नागरिकलाई शंकास्पद भेटिएपछि उतै फर्काइएको छ,’ चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीका अनुसार, नानपाराबाट कैलालीका लागि जाँदै गरेका उनको ज्वरो १०१ डिग्री देखिएपछि उतै फर्काइएको हो । उच्च ज्वरोपनि कोभिड – १९ भाइरसको जोखिम मानिन्छ ।


बर्दिया, कैलाली नाकाबाट पनि घर फर्किने नेपालीको अवस्था उस्तै छ । बर्दिया राजापुर नगरपालिकाका ध्रुवप्रसाद न्यौपाने २० दिन अघिमात्र भारतको गढुवालमा कमाउनका लागि गएका थिए । विश्वभर महामारीका रुपमा फैलँदै गएको कोरोना भाइरसको त्रासले न्यौपाने छिटै घर फर्कनु प¥यो ।


टीकापुर नरगपालिका–९ सत्ती भन्सार कार्यालय नजीकै रहेको सहायता कक्ष ‘हेल्थ डेस्क’मा उनको ‘थर्मल गन’ बाट शारीरिक तापक्रम स्वास्थ्यकर्मीले जाँच गर्दै थिए । ‘बीस दिनअगाडि कामका लागि मलगायत आठ÷दशजना साथी गडवाल पुग्यौँ,’ न्यौपानेले संवाददातासँग भने, ‘पुगेको केही दिनमै कोरोनाको त्रास भयावह हुँदै गयो, काम गर्न सक्ने वातावरण रहेन । घरबाट लिएको पैसा पनि सकियो । कुनै विकल्प नभएपछि घर फर्कियौँ ।’


न्यौपानेजस्ता सयौँ नेपाली सीमा नाकाबाट नेपाल प्रवेश गर्दै आएका छन् । भारतमा पनि कोरोनो भाइरसको सङ्क्रमणबाट सयौँ सङ्क्रमित हुँदा त्यहाँका नेपालीमा समेत ठूलो त्रास रहेको नेपाल फर्केका नेपालीले बताउने गरेका छन् । न्यौपानेसँगै आएका विकास अधिकारीले घरको जोहो भारतमा गई मजदुरी गरेमात्र चल्ने भन्दै त्यो बाटो बन्द भएको बताए । कोरोना भाइरसको सङ्क्रमण कम भएलगत्तै भारत फर्किने उनको भनाइ छ ।


सत्ती भन्सार कार्यालयका प्रमुख रामचन्द्र शर्मा ढकालले पहिलेको तुलनामा चहलपहलमा कमी आए पनि मानिसको ओहोरदोहोर नरोकिएको बताउछन् । कोरोनाको सन्त्रास बढेपछि नगरपालिकाले फागुन २४ गतेबाट खक्रौलामा रहेको सहायता कक्ष ‘हेल्थ डेस्क’ मार्फत भारतबाट आउने नेपालीको स्वास्थ्य जाँच गर्न थालेको छ । हालसम्म कसैलाई पनि त्यस्तो लक्षण नदेखिएको बताउँदै हेल्थ डेस्कमा कार्यरत अहेव मकेन्द्र रोकायाले लक्षण नदेखिए पनि ढुक्क हुने अवस्था भने नभएको बताए ।


भारतमा केही नेपाली कामदारलाई कामबाट निकालिएको छ । तीमध्ये कतिपयलाई फेरि काममा फर्किन भनिएको छ भने कतिपयले रोजगारी नै गुमाएका छन् । भारतको मुम्बईमा एक होटलमा कार्यरत अछामका विकास धामीलाई केही समयपछि काममा आउनु भनिएको छ तर कहिलेसम्म काममा फर्किने भन्ने कुरोको ठेगान छैन । ग्राहकको संख्या घटेसँगै उनीलगायत धेरै कामदारलाई होटल व्यवस्थापनले केही समयका लागि बिदा दिएको छ । ‘एकातिर बिदाको समय अर्कोतिर कोरोनाको हल्ला फैलिन थालेपछि घर फर्किएँ,’ उनको भनाइ छ, ‘मजस्तै धेरैलाई बिदा गरिएको छ ।’ यसरी घर फर्किनेमा भारतका महाराष्ट्र, मुम्बई, हैदरावाद, गुजरात, लखनऊ, सुरतलगायत शहरबाट धेरै रहेको पाइएको छ । सीमा क्षेत्रमा घर फर्किने नेपालीको संख्या बढेसँगै चुनौतीसमेत थपिएको छ । उनीहरुलाई भरपर्दो ढङ्गले स्वास्थ्य जाँच गर्न सकिएको छैन । अहिले सीमा क्षेत्रमा रहेको हेल्थ डेस्कले थर्मल गनमार्फत ज्वरो नाप्ने र सामान्य सोधपुछ मात्रै गर्दै आएको छ । स्वास्थ्यकर्मीले उनीहरुलाई ज्वरो नाप्नाका साथै रुघाखोकी र श्वासप्रश्वास समस्याबारे सोध्ने गरेको छ ।


थर्मल गनले ज्वरोको मात्रा देखाए पनि रुघाखोकी र श्वासप्रश्वास समस्याबारे सम्बन्धित व्यक्तिले भनेपछि मात्रै स्वास्थ्यकर्मीले थाहा पाउने अवस्था छ । हेल्थ डेस्कमा त्यस्तो सङ्क्रमण देखिने बित्तिकै सबै संयन्त्रहरु तयारी अवस्थामा राखिएको स्वास्थ्यकर्मीको दावी छ ।

प्रतिक्रिया

प्रतिक्रिया