अनुभूति : पृथक अनुभव र साझा अवसर

कृष्णा केसी (नमुना)

मैले कतै पढेकी छु–‘सोच बदल्नुस्, खुशी आफैं मिल्छ । स्वभाव बदल्नुस्, इज्जत आफैं मिल्छ । बाटो सही रोज्नुस्, गन्तव्य आफैं मिल्छ ।’ गत महिना मैले यस्तै पृथक अनुभव गर्ने मौका पाएँ । हामी जनताकै माझबाट जन्मिएका हौं, जनताकै लागि काम गर्ने कसम खाएका छौं । जनतालाई हरदम खुशी तुल्याउन हाम्रो प्रयास रहन्छ । यो प्रयास कतिपय अवस्थामा पुरा हुन्छ, कतिपय अवस्थामा अपुरै । यद्यपी जुनसुकै सुत्र लगाएर पनि जनतामाझ रहनु र जनतालाई खुशी बनाउनु हाम्रो धर्म हो, जिम्मेवारी हो, कर्तव्य हो ।


सधैं राजनीति, सधैं बैठक, सभा सम्मेलन । कहिलेकाँही म अलिकति फरक ढंगले पनि सोच्ने गर्दछु जीवन र जगतका बारेमा, नागरिकका साझा सवालका बारेमा । त्यसैले आयोजक बाँके जिल्ला भलिबल संघका साथीहरुको प्रस्तावलाई मैले स्वीकार गरें, र जिम्मेवारी लिएँ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको मुल आयोजक समिति संयोजकको ।


मलाई थाहा थियो, थाहा छ । खेलकुदले देश जोड्छ, समाज जोड्छ । यसको कुनै जात हुँदैन, धर्म हुँदैन, न त भाषा हुन्छ, न वर्गीय विभेद नै हुन्छ । यस्तो महत्वपुर्ण विधामा जोडिने रहर पहिल्यैदेखि थियो । स्कुले जीवनमा भलिबल खेलेको थिएँ । जिल्ला स्तरीय प्रतियोगितामा च्याम्पियन भएर क्षेत्रीय प्रतियोगिताका लागि छनोट भएको रोमाञ्चक क्षण पनि मसँग थियो । त्यसैले भलिबल एउटा खेल मात्र नभएर सिंगो समाज जोड्ने विधा हो भन्ने मनमनै लाग्थ्यो । समयक्रममा भूमिगत जीवन बिताउनुपर्ने भयो । राजनीतिमार्फत समाज परिवर्तन सम्भव छ भन्ने चेतले जीवनको आरोह अवरोहसँगै यहाँसम्म पुर्याएको हो । ठुलो संघर्षले मलाई जन्माएको हो भन्दा कत्ति पनि अप्ठ्यारो लाग्दैन । दुरदराजका नागरिकका घरदैलोमा पुगेकी छु, हरेक मतदाताका समस्यासँग साक्षात्कार गरेकी छु । उनीहरुका समस्या समाधान गर्नतर्फ सदैव अभिप्रेरित छु । लाग्छ, जीवन नै देश र नागरिकप्रति समर्पित गरिसकेकी छु ।


यसै सन्दर्भमा प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल आयोजक साथीहरुको प्रस्ताव आएको थियो । मलाई लाग्यो, यो अवसर हो । अवसर मात्र नभई सुवर्ण अवसर हो । यसको सफलताको शिखर आरोहण गरेको सपनाले मलाई रोमाञ्चित बनाइसकेको थियो । किनकी यो भलिबल हो । नेपालको राष्ट्रिय खेल । राष्ट्र र राष्ट्रियता सदैव हाम्रो शिर माथि हुन्छ । राष्ट्रिय खेल पनि हाम्रो परिचय हो । आफ्नो परिचय जोगाइराख्नु हामी सबैको कर्तव्य हो । तसर्थ भलिबल खेलको संरक्षण तथा प्रवद्र्धनमा लाग्नु मैले जीवनकै ठुलो अभिभाराका रुपमा लिएकै हुँ । मेरै विगतको सम्झना भयो, भलिबल खेलेका दिन । अझ यो त महिला भलिबल पो त । महिला सशक्तिकरणसँग जोडिएको हुनाले मलाई यसले थप छोयो । अनि हामी जीवनभर संघीयताका लागि लडेका हुनाले संघीयता लागु हुने सवालमा पनि यसको भूमिका मैले देखें । किनकी यो त मुलुककै प्रमुख कार्यकारीको नामबाट पो हुँदैछ । प्रधानमन्त्री कप । नामै काफी । बिभिन्न देशका उत्कृष्ट खेलाडी आएर खेल्ने भएकाले यसको सम्भावना मैले महसुस गरेरै हात बढाएकी हुँ । यो नेपालगन्जका लागि सम्पत्ति हुनसक्छ । बाँके जिल्लाकै शान बन्न सक्छ । प्रदेशकै एक मात्र प्रतिष्ठित प्रतियोगिता बन्न सक्छ । खेलमार्फत पर्यटन प्रवद्र्धनको आधार तयार गरिदिनसक्छ । यसकारण मेरो संलग्नता रहेको हो । निर्वाचनमा मलाई मत दिएर प्रदेश सभा पठाएझैं नेपालगन्जका बुज्रुक जमातले यस अभियानमा मलाई साथ दिनुभयो । यो सबैको साझा बनाउने अभियानमा सबै जोडिनुभयो । यसले गर्दा प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलले निरन्तरताको गोरेटोले राजमार्गको आकार लिंदैछ भन्ने महसुस भइरहेको छ । अभियानमा जोडिने सबैप्रति आभार प्रकट गर्दछु ।


यो मेरो एकल प्रयासले सम्भव छैन, भलिबल संघको मात्र प्रयासले पनि अपेक्षित गन्तव्य भेटाउन सोचेजति सहज पक्कै छैन । तसर्थ यसमा उद्योगी, व्यवसायी, पत्रकार, वकिल, नागरिक समाज सबैको साथ, सहयोग र सहकार्य जरुरी छ । विश्वव्यापी कोरोनाको त्रासले विदेशी खेलाडी यस बर्ष आउन नसक्दा हामीलाई पनि नमजा लागेको छ । तर, तपाई हाम्रो सामुहिक प्रयासले प्रधानमन्त्री कपमार्फत यहाँको पर्यटन फस्टाउनेमा कत्ति पनि शंका छैन । गत फागुन १८ गते सुरु भइ २१ गते सम्पन्न भएको प्रतियोगितामा महिला दिदी बहिनीको सीप र कौशलता आफैंमा महिला सशक्तीकरणको बलियो उदाहरण हो ।


महिलाले पनि पुुरुष सरह खेल्न सक्छन् भन्ने उत्कृष्ट दृष्टान्त देखियो कभर्डहलमा । आउनुस, तपाईं हामी सबै मिलेर प्रधानमन्त्री कप मार्फत राज्यको ध्यानाकर्षण नेपालगन्जतर्फ गराऔं । आगामी संस्करणलाई अझ भव्य बनाऔं । नेपालगन्ज, बाँके जिल्ला र समग्र प्रदेश नं ५ लाई देशकै नमुना बनाएर देखाऔं । यो साझा अवसर हो भन्ने मलाई लागिरहेको छ ।
(प्रदेश सभा सदस्य नमूना, प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा छैठौं संस्करणको संयोजकका रुपमा जिम्मेवारी सम्हालेकी छन् ।)

प्रतिक्रिया

प्रतिक्रिया