बाँकेका चार स्थानीय तहले अझै पनि उपभोक्ता हित संरक्षण समिति गठन गरेका छैनन् । जसले गर्दा स्थानीय बजारको प्रभावकारी अनुगमन हुन सकेको छैन ।
आज मार्च १५ अर्थात बिश्व उपभोक्ता अधिकार दिवस हो । हरेक बर्षको मार्च १५ का दिन विश्वभर उपभोक्ता अधिकार दिवस मनाउने गरिन्छ । गुणस्तरिय बस्तु र सेवामा उपभोक्ताको अधिकार हामी सबैको सरोकार भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । उपभोक्ता अधिकारको क्षेत्रमा कार्यरत उपभोक्ता हित संरक्षण मञ्च नेपालले ‘उत्पादनमा गुणस्तरियता, उपयोगमा बिवेकशिलता तथा सम्बृद्धि नेपालको लागि जिम्मेवार आपूर्ति र दिगो उपभोक्ता’ भन्ने नारा अगाडि सारेको मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले जानकारी दिए ।
सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको हो । यसैको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएको हो ।
उपभोक्ता अधिकार कार्यान्वयनको अवस्थाको बारेमा बिश्लेषण गर्दै उपभोक्ता संरक्षणको पक्षमा वकालत गर्ने दिनको रुपमा उपभोक्ता अधिकार दिवसलाई लिईन्छ ।
प्रत्येक उपभोक्ताले गुणस्तरिय बस्तु तथा सेवाको उपभोग गर्न पाउनु पर्नेमा त्यसो हुन नसकेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतमले बताए । आफुले प्रदान गर्ने सेवा बाहेकमा स्वय आफु पनि उपभोक्ता हुने भएकाले सबैले गुणस्तरिय बस्तु तथा सेवा प्रदान गर्नु पर्ने र त्यस बिपरित कार्य गर्नेलाई कानूनी कारवाही र पीडितले क्षतिपूर्ति पाउनु पर्ने गौतमले बताए ।
उपभोक्ता अधिकारमा ‘स्थानीय सरकारको सक्रियता बढाउनु पर्नेमा बाँकेका ४ स्थानीय तहले अझै उपभोक्ता हित संरक्षण समिति सम्म नबनाएको गौतमले बताए । बस्तु तथा सेवा गुणस्तरीय नभए त्यसले मानव स्वास्थ्यलाई समेत असर पार्ने भएकाले उपभोक्ता स्वयम पनि सचेत हुनु पर्ने उपभोक्ता हित संरक्षण मञ्चका ५ नं प्रदेश उपाध्यक्ष प्रभात कुमार ठकुरीले बताए । उपभोक्ताको सुरक्षाको अधिकार, सुचित हुने अधिकार, बस्तु तथा सेवाको छनौट गर्ने अधिकार, मर्का परेमा सुनुवाइको अधिकार, उपभोक्ता शिक्षाको अधिकार, क्षतिपुतिको अधिकार, आधारभुत आवश्यकतामा पुहँच र स्वच्छ र स्वस्थ वातावाणको अधिकार भए पनि आम उपभोक्ताले ति अधिकारहरुको निर्वाध रुपमा उपभोग गर्न नपाएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।
स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समिति रहने ब्यवस्था गरेको भए पनि बाँकेका ४ स्थानीय तहले अझै समिति गठन गरेका छैनन । बाँकेका नेपालगन्ज, कोहलपुर, जानकी र बैजनाथले समिति गठन गरे पनि खजुरा, नरैनापुर, डुडुवा र राप्तीसोनारीले अझै उपभोक्ता हित संरक्षण समिति गठन गरेका छैनन । जसका कारण स्थानिय तहमा बजारको बेथिति ज्यादा रहने गरेको छ । स्थानीय बजारमा म्याद नाघेका र लेवल नभएका सामान छ्याछ्पाप्ती पाइन्छ ।
यसैबीच, विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भ पारेर नेपालगन्ज उपमहानगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले समितिको बैठकको आयोजना गरिएको बैठक पश्चात बजार अनुगमन गर्ने उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् । उपभोक्ता हित संरक्षण समितिको बैठकले कार्ययोजना पारित गरी उपभोक्ता सचेतना र संरक्षणमा कार्य गर्न लागेको उपभोक्ता हित संरक्षण समितिकी संयोजक समेत रहेकी उपप्रमुख थापामगरले बताइन् ।
बिश्व उपभोक्ता अधिकार दिवस मनाउने सन्दर्भमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले नेपालगन्ज उपमहानगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिसंगको सहकार्यमा आज उपभोक्ता अधिकार संरक्षणको बिषयमा सरोकारवाला बिच अन्तरक्रिया गर्ने निर्णय गरेको छ । दिवसको अवसर पारेर आज दिउँसो बजार अनुगमन र उपभोक्ता सचेतनाको कार्य गर्ने निर्णय गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।
यसै गरि आगामी चैत्र ५ गते हुने कार्यालय प्रमुखहरुको बैठकमा उपभोक्ता सेवाग्राहीको हक अधिकारका बिषयमा छलफल गरिने कार्यक्रम रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताए ।
दिवसकै सन्दर्भमा बसेको कानून पत्रकार समाज नेपालको बैठकले पनि उपभोक्ता हक अधिकार संरक्षणमा सरोकारवाला जवाफदेही भै कार्य गर्नु पर्नेमा जोड दिएको छ । समाजका अध्यक्ष लोक बहादुर शाहको अध्यक्षतामा बसेको बैठकले कोरोना नाममा बजारमा कृत्रिम अभाव र कालो बजारी हुन सक्ने तर्फ नियमनकारी निकाय जिम्मेवार हुनु पर्ने बताएको छ ।
कानून पत्रकार समाजको बैठकले कोरोना भाइरसको संक्रमण हुन नदिन समयमै सचेतना अपनाउनु पर्नेमा जोड दिएको समाजका सचिव वसन्त गौतमले जानकारी दिए । समाजका सदस्य अर्जुन वली र मधु पौडेल हालै सम्पन्न प्रेस युनियनको अध्यक्ष र कोषाध्यक्षमा निर्वाचित भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको शुभकामना दिएको गौतमले बताए ।











