नेपालगन्जमा धुमधाम होली

सोमवार सुनसान सरह रहेको नेपालगन्ज मंगलवार भने रंगीन भएको छ । फागु पूर्णिमाको दोस्रो दिन मंगलवार तराईमा होली मनाइएको हो ।
बिश्वव्यापी फैलिएको नोबेल कोरोना भाइरसको संत्रासको बेवास्ता गर्दै रंगीन उमंगका साथ नेपालगन्जवासीहरु होली मनाउन सडकमा आएका छन् । तुलनात्मक रुपमा अघिल्लो वर्ष जस्तो भीड उत्तेजना नदेखिएपनि सद्भावको पर्वको रुपमा एकआपमा रंगारंगी गर्नेदेखि भेटघाट गर्नेहरुको कमि देखिएन ।


अघिल्ला वर्षहरुमा जस्तो नेपालगन्जमा संस्थागत आयोजनामा संघ संस्थाहरुले होली मिलन गरेनन् । एकाधले गरेका त्यसखालका आयोजनामा प्रहरीले निरुत्साहित गरेको थियो । त्यसैक्रममा जी नेपाल टेलिभिजनले नेपालगन्जमा मंगलवार होली कन्सर्ट गर्यो । तर, बीचैमा प्रहरीले गरेको हस्तक्षेपले कन्सर्ट पुरै चल्न पाएन । यद्दपि जति चल्यो सयौं युवायुवतीले झुमेर आनन्द लिए ।


जी नेपाल टेलिभिजनका प्रवन्ध निर्देशक आशीष गुप्ताको अध्यक्षतामा भएको औपचारिक कार्यक्रम नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले उद्घाटन गरे । कन्सर्टमैं नेपालगन्ज मेडिकल कलेजले कोरोना सचेतना डेस्क सञ्चालन गरेको थियो भने विदेशी कलाकारले समेत प्रस्तुति गरेका थिए ।
बजारमा हिन्दू समुदायका मात्र होइन, मुस्लिम र सिख धार्मिक समुदायकाले पनि हिन्दुसँगै एकआपसमा रंग अविर दलेर मनाएका थिए । हातमा रंग बोकेर आपसमा रंग दल्दै हिडेका युवा युवतीहरु नेपालगन्जका मुख्यबजार सदरलाइन, न्युरोड, सुर्खेतरोडमा रंग दल्दै शुभकामना साटासाट गरेका थिए । उनीहरु पुरै उत्सवमय देखिन्थे ।


सोमवारनै जिल्ला प्रशासन कार्यालय, बाँकेले होलीमा भिडभाड र जबर्जस्ती रंगरोगन नगर्न आव्हान गरेको थियो । त्यसअघि सभासम्मेलन जस्ता कार्यक्रम नगर्न औपचारिक आग्रह गरेको थियो । यो वर्ष नेपाल पत्रकार महासंघ बाँकेले पत्रकारबीच होली मिलन आयोजना गरेन् । होलीलाई लक्षित गरि लगाइएको नेपालगन्जको रैथाने होली बजारले अपेक्षित कारोबार भने पनि सकेन ।
होलीलाई लिएर पुख्ता सुरक्षा परिचालन गरिएको थियो । सुरक्षाकर्मीले झण्डै ६० जनालाई दिनभरमा पक्राउ गरेको र डेढ सय बढी मोटरसाइकल मंगलवार नेपालगन्जका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ । दुई जनाबाहेकलाई राती अभिभावकका जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया