नाकामा आवागमनको अभिलेख राखिंदै

प्रहरीले नेपाल–भारत सीमाबाट आवतजावत गर्नेहरुको रेकर्ड राख्ने भएको छ । आज सोमबारबाट जमुनाह नाकामा रेकर्ड राख्न सुरु गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।


‘नेपालबाट भारतका विभिन्न ठाउँमा जाने र भारतबाट नेपाल भित्रिने नेपाली तथा भारतीय नागरिकको इन्ट्री सुरु गर्न लागिएको हो’, जिल्ला प्रहरी प्रवक्ता, डिएसपी शिव बहादुर सिंहले भने, ‘त्यसका लागि तयारी गरिसकेका छौं ।’ उनले सोमबारबाट औपचारिक रुपमा आवातजावत गर्ने नागरिकहरुको रेकर्ड राख्ने कार्य सुरु हुने जानकारी दिए ।


नेपाल–भारत खुला सीमा भएकाले यसअघि सीमामा आवतजावत गर्नेहरुको रेकर्ड राख्ने गरिएको थिएन । यसले कति नागरिक आवतजावत गर्छन् भन्ने अनुमान मात्र गरिन्थ्यो । सुरक्षा दृष्टिकोणका हिसाबले पनि नेपाल–भारत जाने आउनेको तथ्यांक राख्न उचित हुने प्रहरी अधिकारीहरुले बताएका छन् ।


डिएसपी सिंहले कोरोनाको कारण तथ्यांक राख्ने नगरेकाले सीमाबाट हुने आउजाउमा परेको प्रभाव एकिन साथ भन्न सक्ने अवस्था नरहेको बताएका छन् । ‘अब रेकर्ड राख्न सुरु गर्दैछौं, त्यसपछि नियमित तथ्यांक आउने छ’, उनले भने । डिएसपी सिंहले सीमामा स्थापित हेल्थ डेस्कमा भारतबाट आउनेहरु परीक्षणबाट नछुटुन् भनेर निगरानी गरिरहेको बताएका छन् ।


डिएसी सिंहले प्रहरीले कोरोना बारे सचेतनाका कार्यक्रम अघि बढाएको जानकारी दिएका छन् । उनले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत ईकाइ र सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जको संयुक्त आयोजनामा विभिन्न स्कुलहरुमा कोरोना भाइरस विरुद्ध सचेतना सुरु गरेको बताए । ‘कोरोनाको सुरुवाती असरहरु, लक्षणहरु, जोखिम, बच्ने उपायहरु, न्युनिकरण सम्बन्धि विद्यालय स्तरीय सचेतनामूलक कार्यक्रम गरिरहेका छौं’, उनले भने ।


प्रहरीले आइतबार नेपालगन्ज बहुमुखी क्याम्पसमा छात्र, छात्रा र शिक्षक शिक्षिकालाई कोरोना भाइरस बारे सचेतनामूलक कार्यक्रम गरेको छ । क्याम्पस समेतको आयोजना गरेको उक्त कार्यक्रममा सार्वजनिक स्थलमा होली नखेलौ लेखिएको टि–सर्ट वितरण गरिएको थियो ।

‘कोही शंकास्पद छैनन्’

भेरी अञ्चल अस्पतालमा कोरोना विरुद्ध सतर्कता अपनाउँदै आइसुलेसन वार्डको व्यवस्था गरेको छ । अस्पतालले तत्कालका लागि आइसुलेसन वार्डमा पाँच शैय्याको व्यवस्था गरेको हो । विश्वमा देखिएको कोरोनाको सतर्कताका लागि नेपालमा पनि उपचारको पूर्व तयारी स्वरुप विभिन्न अस्पतालमा आइसुलेसन वार्डको स्थापना गरिएको छ ।


‘अस्पताल जोखिम विरुद्ध तयार अवस्थामा छ’, भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले भने, ‘अहिलेसम्म अस्पतालमा कोरोनाकै आशंकामा कुनै पनि बिरामी परीक्षणका लागि आउनु भएको छैन ।’

प्रतिक्रिया

प्रतिक्रिया