किसान –वन्यजन्तु द्वन्द्वका आयामहरु

बाँकेको गाभर भ्याली खेतिपातिको लागि राम्रो स्थान मानिन्छ । ४ वर्ष अघि त्यहि ठाउँमा खेतमा कुकुरले चित्तल लखेटेको देखेर गाउलेहरु पनि दौडिए । आत्तिएको चित्तल दगुर्न सकेन । खेतमा कुकुरले घाइते बनाएको चित्तललाई गाउलेले समाते । धानबाली नष्ट गरेर दुख दिएको चित्तललाई गाउलेले काटेर मासु खाए । कुरो निकुन्जमा पुग्यो । चित्तल लखेट्ने, चित्तलको मासु खाने, र दर्शक बन्ने करिब २ दर्जन गाउलेहरु पक्राउ परे । धेरैको भागाभाग भयो । मुद्दा चलेपछि कैद सजाय र जरिवाना तिरेर अहिले उनीहरु निस्किसकेका छन् । अचेल खेतबारीमा वन्यजन्तु पसेमा गाउलेहरु तिनीहरुलाई लखेट्न भन्दापनि आफ्नो कुकुरले वन्यजन्तु मारिदेला र आफु पक्राउ परिएला भन्ने चिन्ताले कुकुर समात्न थाल्छन् ।

निकुन्ज स्थापनाले पर्यटकीय गन्तब्य गाभरका बासिन्दाहरु खुशी भएपनि खेतीपातीमा आश्रित गाउँलेहरु भने बालीनाली कसरि जोगाउने भन्ने कुराले चिन्तित छन् । प्रदेशको चर्चित बर्दिया राष्ट्रिय निकुन्जमा बाघ बढेकोले संरक्षणकर्मिहरु जति खुशी छन्, त्यो भन्दा बढी चिन्ता निकुन्ज छेउछाउका बासिन्दाहरुमा थपिएको छ । पछिल्लो आधा वर्षमा मात्र बाघले एक दर्जन मानिसलाई आक्रमण गरेपछि छेउछाउका वासिन्दाहरु साझ विहान निर्धक्क घर बाहिर निस्कन सकिरहेका छैनन् । समस्या संरक्षण क्षेत्र वरपर मात्र नभएर सबै जिल्लाहरुमा छ । अर्घाखाचीमा चितुवा आतंक, गुल्मीमा बँदेल तथा पाल्पामा बाँदरको बिगबिगीले मानिसहरुले खेतीपाती गर्न छोडेको र बसाइ समेत सरेका घटनाहरु अचेल बढिरहेका छन् ।


सरकार र स्थानीय वासिन्दाको प्रयासले अहिले नेपालमा वनजंगल बढेको छ । वन श्रोत सर्भेक्षण २०१४का अनुसार नेपालमा वनले करिब ५९ लाख ६२ हजार हेक्टर भू–भाग अर्थात कूल क्षेत्रफलको ४०.३६% भाग र बुट्यान क्षेत्रले ६ लाख ४८ हजार हेक्टर (४.३८%) ओगटेको छ । यसरी नेपालको कुल क्षेत्रफल मध्ये वन तथा बुट्यान क्षेत्रले गरी जम्मा ४४.७४% भु–भाग ओगटेको छ । प्रदेश ५ को करिब आधा ( ४८प्रतिशत) भाग वन जंगंलले ओगटेको छ । यहाँ बाके र बर्दिया राष्ट्रिय निकुन्ज, कृष्णसार संरक्षण क्षेत्र र ढोरपाटन शिकार आरक्षको केहि भूभाग समेत पर्छ । वन र संरक्षण क्षेत्रहरुको कारणले प्रदेश ५ मा वन्यजन्तुहरूको संख्या राम्रो छ र यसले पर्यटकीय सम्भावनाहरु बढाएको पनि छ । वन्यजन्तुहरु बढेका छन् भनेर गर्व गरिरहदा वनमा वन्यजन्तुको व्यवस्थापनका कुरामा ख्याल नगर्दा वन्यजन्तुहरु किसानका खेतबारीमा पसेर बालीनाली नष्ट गर्ने , पशुपन्छी मार्ने र घाइते बनाउने, मानिसहरुलाई समेत मार्ने घटनाहरु बढिरहेका छन् जसले गर्दा किसान र वन्यजन्तुहरु विचको द्वन्द्व बढिरहेको छ ।


जंगलको छेउछाउका खेतबारी र वस्तीहरुमा विभिन्न किसिमका वन्यजन्तुहरु पसेर दुख दिएको नयाँ घटना नभएपनि पछिल्लो समयमा यो जटिल समस्या बनिरहेको छ । विगतमा मानिसहरुदेखि वन्यजन्तुहरु तर्सने र सजिलै भाग्ने गर्दथे तर अहिले बादर, चितुवा जस्ता वन्यजन्तुहरु मानिसका आनीबानी र चहलपहलसंग अभ्यस्त हुदै गएकाले तर्सेर टाढा भाग्न छोडेका छन् । बाँदर, स्याल, चितुवा जस्ता वन्यजन्तुहरु पछिल्ला दिनहरुमा वस्ती वरिपरी आउन थालेका छन् । अझ धार्मिक स्थल वरिपरी झुम्मिने बादरहरुले त् उल्टै मानिसलाई तर्साउने र आक्रमण समेत गर्ने गर्दछन् । यिनीहरु जंगलहुदै किसानका खेतबारीमा पुग्दा धपाउन निकै कठिन हुने गरेको छ ।


सामुदायिक वन र संरक्षण क्षेत्रको कारण नेपालमा वनजंगल बढेको छ, जसले गर्दा स्वाभाविक रुपमा वन्यजन्तुहरु बढेको छन् । वनहरुमा वन ब्यवस्थापनका कार्यक्रमहरु संचालन गर्दा त्यहाँ रहेका वन्यजन्तुको व्यवस्थापन कसरि गर्ने भन्ने बारेमा अहिलेसम्म ध्यान दिइएको छैन । हरेक वन्यजन्तुलाई चरन, प्रजनन तथा आहार विहारका लागि निश्चित किसिमको बुट्यान, झाडी र रुखहरु आवस्यक पर्छ तर वन व्यवस्थापन, झाडी सरसफाई र वन पत्ल्याउने काम गर्दा र निकुञ्जमा जंगल सफारी गराउदा वन्यजन्तुको चरन र वासस्थानमा पर्ने प्रभावको बारेमा पटक्कै ध्यान दिइएको छैन ।

अधिकांश वन्यजन्तुहरु गैर काष्ठ वनस्पतिहरु वन्यजन्तुका आहारा हुन् । तर अचेल वैज्ञानिक वन व्यवस्थापनका नाममा वनमा काष्ठ प्रजातिका रुखहरु मात्र हुर्काएर नाफा कमाउने दाउमा कर्मचारी र सामुदायिक वनका पदाधिकारीहरु लागेकाले गैर काष्ठ वनस्पतिहरु तीव्र रुपमा मासिदै गएका छन् । वनमा वन्य फलफुल र कन्दमूलहरुको अभाव भएपछि वन्यजन्तुको आहारामा कमि आएको छ । त्यस बाहेक हरेक वर्ष वनमा दोहोरिने आगलागी र वन फँडानीको कारणले गर्दा पनि वन्यजन्तुको लागि आहाराको कमि भैरहेको छ । त्यसैगरी भू क्षय र वर्खा याममा वनबाट बगेर आउने लेदोको कारणले वनभित्र रहेका साना खोला, खोल्दा र पोखरीहरुपुरिदै गएकाले हिउद र गर्मियाममा वनजंगलहरु पानीविहिन बन्दै गएका छन् । निकुञ्ज प्रशासनले निकुञ्जमा कृत्रिम पोखरी निर्माण गरेर वन्यजन्तुको लागी पानीको ब्यवस्था गर्ने प्रयास गरेपनि सामुदायिक र अन्य वनले त्यसो गर्न सकेका छेनन् । आफ्नो प्राकृतिक वासस्थानमा आहारा, वासस्थान र पानीको अभाव भएपछि अचेल वनस्पतिहरु आफ्नो ठाँउ छोडेर अन्यत्रको वनमा जाने र त्यहाँ पनि उपयुक्त अवस्था नभेटेपछि त्यसैको खोजीमा नजिकैका खेतवारी र वस्तीहरुमा पुगेर सताउने क्रम अहिले सवै वनहरुमा देखिएको छ ।


वर्षौदेखि किसानहरु वन्यजन्तुबाट पिडित भएर आफ्नो कृषि पेशा र थातथलो नै छोड्नुपर्ने अवस्था आइरहेको भएपनि यो समस्याको बारेमा राज्यका सरोकारवाला निकायहरु भने गम्भीर भएको देखिदैन । वन्यजन्तुबाट हुने जीउ धनको क्षति वापत मापदण्डको आधारमा पीडित नेपाली नागरिकलाई राहत उपलव्ध गराई वन्यजन्तु र स्थानीय बासिन्दाबीचको अन्तर सम्वन्ध घनिष्ठ राख्ने उद्देश्यले तत्कालिन वन तथा भू–संरक्षण मन्त्रालयले “वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (दोस्रो संशोधन,२०७४)” बनाएको छ । यो निर्देशिका अनुसार हात्ती, गैडा, बदेल र अर्नाले अन्न बालीमा क्षति पु¥याए मात्र राहत पाउन सकिन्छ ।

त्यसैगरी बाघ, चितुवा, ब्वासो, जंगली कुकुर, गोहीले पशुधनमा क्षति पु¥याए मात्र राहत पाउन सक्ने व्यवस्था छ भने अन्न भण्डारणमा हात्तीले क्षति पु¥याउदा मात्र राहतको दावी गर्न सकिन्छ । नोक्सानी जति भएपनि निर्देशिका अनुसार नाम मात्रको राहत पाइन्छ तर यो प्राप्त गर्ने प्रक्रिया निकै झन्झटिलो छ । अझ दुखको कुरा के छ भने अहिले किसानलाई सबैभन्दा बढी दुख दिने बादर, हरिण, खरायो र चराले खेतीपाती नोक्सान गरिदिए कुनै पनि किसिमको राहत वा क्षतिपूर्ति पाइदैन । भर्खरमात्र खेतबारीमा पसेर दुख दिने बँदेल मार्न पाउने ब्यवस्था सरकारले गरेको छ तर अहिलेसम्म यसको अभ्यास हुन सकेको छैन । किसानले आफ्नो बाली र पशुपन्छी जोगाउने क्रममा वन्यजन्तुको मृत्यु भएमा किसानलाई सजाय दिने तर वन्यजन्तुले दुख दिदा किसानले कतैबाट सहयोग नपाउने व्यवस्था वास्तवमै अन्यायपूर्ण छ ।


अहिले तिनै तहका सरकारले कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु बनाइरहेका छन् । युवाहरुलाई कृषि क्षेत्रमै अड्याईराख्ने र कृषि उत्पादन बृद्धि गरि देशलाई आत्मनिर्भर बनाउने कुरालाई सरकारले महत्व दिने बताइरहदा बालि तथा पशु संरक्षण र मानव वन्यजन्तु द्वन्दलाई पर्यटकिय अवसरमा उपयोगका कुराहरु भने प्राथमिकतामा परेका छैनन् । तराईमा शहरीकरण बढ्दै जादा अहिले वनजंगलको छेउछाउमा मात्र खेतीपाती र पशुपालन सिमित हुन पुगेको छ र यो पनि वन्यजन्तुको कारणले समस्यामा परिरहेको छ । पहाडको जीविकोपार्जनको मुख्य आधार खेतीपाती पनि यहि कारणले धरापमा परेको छ र मानिसहरु बस्ति छोडेर हिड्न बाध्य छन् । किसानलाई कृषि क्षेत्रमा टिकाइराख्न र उत्पादन वृद्धि गर्न किसान–वन्यजन्तु द्वन्दलाई शुन्य तहसम्म घटाउनै पर्छ । सामुदायिक र अन्य वनमा वन्यजन्तुलाई सहज आहारविहार तथा पानीको व्यवस्था गर्ने, वन्यजन्तुलाई आवस्यकता अनुसार राष्ट्रिय निकुन्ज वा तुलनात्मक रुपमा बढी घनत्व भएको वनमा स्थानान्तरण गर्ने, धेरै संख्यामा पाइने र बढी उपद्रो गर्ने बाँदरजस्ता जीवलाई बन्ध्याकरण गरिदिने, मारेर मासु वा अन्य अवयवहरु विक्र िगर्न दिने र वन वरिपरी तारजालीको छेकवार लगाउने जस्ता कामहरु गरेमा खेतवारी र वस्तीमा वन्यजन्तुको प्रवेशलाई घटाउन सकिन्छ । कतिपय अवस्थामा वस्ती र खेतबारीमा वन्यजन्तुलाई प्रवेश गर्न रोक्न सकिदैन । यस्तो ठाउँमा स्थानीय वासिन्दाहरुलाई खेतीपाती गर्न भन्दापनि पर्या पर्यटन उद्यममा लाग्न उत्प्ररित गर्नु पर्छ ।

बाली जोगाएर खेतीपातीबाट आम्दानि गर्न नसकिने स्थानमा वन्यजन्तु अवलोकन गराएर लाभ लिन सकिन्छ । वन्यजन्तुले धेरै ुख दिने ठाउँमा किसानलाई अन्नबालीको साटोमा वन्यजन्तुले मन नपराउने वैकल्पिक खेतीपाती गर्न तथा उनीहरुको उत्पादनको बजारीकरण गर्न सरकारले आर्थिक र प्राविधिक सहयोग गर्नु पर्दछ । बाली तथा पशु बिमाको व्यवस्था र वन्यजन्तुले नोक्सानी गरेकोमा राहत तथा क्षतिपूर्ति दिने व्यवस्था राज्यले मिलाउनु पर्छ । यी कामहरु गर्न सकेमा मात्र किसानका बालीनाली र वनका वन्यजन्तुहरु दुवै सुरक्षित रहन पाउनेछन् । वन तथा वन्यजन्तु संरक्षण स्थानीय सहभागिता जुटाउन र कृषि कार्यको दिगोपनका निम्ति किसान र वन्यजन्तु विचको द्वन्द्व घटाउन राज्यले तत्कालै ठोस कार्यक्रम ल्याउनु जरुरि छ ।

प्रतिक्रिया

प्रतिक्रिया