‘नेपालगन्जको गिर्दाे व्यवसायिक अवस्थामा व्यवसायीहरुको मनोबल उँचो गराउन यो एउटा उत्सव हो,’ नेपालगन्ज सडक खाना उत्सवको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा यसो भनिरहँदा होटल खनालका सञ्चालक दिवाकर खनालको अनुहारमा चिन्ता व्याप्त थियो ।
\
दशक बढीको अमेरिका बसाइपछि जन्मथलोमैं केही गर्न उद्यत पुराना राजनीतिकर्मी खनालको अनुहार बुधवार पनि उस्तै थियो । पत्रकार सम्मेलनमा अलिक उत्साहको संकेतमा आशावादी वरिष्ठ व्यवसायी खनाल बुधवार भने जिल्ला प्रशासन कार्यालयमा अत्यासपूर्ण अवस्थामा भेटिए ।
‘नेपालगन्जका लागि केही गरौं भनेर लागेको सकिन्न जस्तो निराश बनाए,’ जिल्ला प्रशासन कार्यालयमा बाँकेको परिसरमा भेटिएका होटल व्यवसायी संघका अध्यक्ष भिमलाल कंडेलको यो अभिव्यक्तिबाट नेपालगन्जमा सडक खाना उत्सवका लागि अग्रसर खनाल जस्ता व्यवसायीको मनोदशा प्रष्ट पारेको थियो ।
होटल व्यवसायीहरुको छाता संस्था, होटल व्यवसायी संघ बाँके नेपालगन्जले फागुन २३ गतेदेखि २५ गतेसम्म आयोजना गर्न लागेको प्रथम सडक खाना महोत्सव २०७६ लाई स्थानीय प्रशासनले अंकुश लगाइदिएको छ । आयोजनाका लागि साता दिनमात्र बाँकी रहँदा प्रशासनले ‘ट्राफिक र सुरक्षा’ कारण देखाउँदै उत्सवमा अंकुश लगाएको हो ।
नेपालगन्जको खानालाई नेपालमंै चिनाउने विश्वासका साथ तयारीमा लागेका व्यवसायीहरुलाई बहानाबाजी गरेर प्रशासनले अंकुश लगाएको गुनासो गर्दै आफ्नो आयोजनाको आवश्यकता र महत्व बुझाउन दिनभरजसो निमित्त प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायसमक्ष अनुनय विनय गरे । ‘हामी जति पीडा सुनाएपनि प्रशासनले हाम्रा कुरा सुन्ने धैर्यतामात्र देखायो, सुनुवाई पटक्कै गरेको छैन,’ अध्यक्ष कंडेलले दैनिक नेपालगन्जसँग भने, ‘महोत्सवको ६० प्रतिशत तयारी सकियो, लाखौं रकम खर्च भइसक्यो, अब अहिले आएर किन अंकुश लगाउन खोजियो ?’
होटल व्यवसायी संघका प्रवक्ता डिलाराम पौडेलले मौलिक खानाहरुको स्टल राखि बजारीकरण तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखेर खाना महोत्सव गर्न लागिएकाले राज्यले सहयोग गर्नुको साटो अवरोध गर्न नहुने बताए । महोत्सव प्रचारप्रसार संयोजक पौडेलले देशविदेशमा खाना महोत्सवबारे प्रचारप्रसार भइसकेकाले रोक्दा नेपालगन्जबारे गलत सन्देश प्रवाह हुने भएकाले सबैतिरबाट सहयोग पु¥याउनुपर्ने बताए ।
धम्बोझीस्थित खनाल होटलदेखि सुर्खेतरोडको बागेश्वरी लिंकरोड सम्मको पूर्वीभागको तीन लेनलाई तीन दिनसम्म सजाएर खाना महोत्सव गर्न स्थानीय सरकारले लिखित इजाजत लिएर होटल व्यवसायीहरु तयारीमा जुटेका हुन् । ‘तयारीको अन्तिममा सुरक्षाको सुनिश्चितताका लागि सिसिटीभी क्यामेरा जडानको स्वीकृति लिन जाँदा नयाँ बखेडा झिक्ने काम भयो,’ होटल व्यवसायी महासंघका प्रदेश अध्यक्ष भाष्कर काफ्लेले अवरोध भन्दा राज्यले सहजीकरण गरिदिनुपर्ने बताए । नेपालगन्जका तारे होटल समेतलाई साथमा लिएर संघले खाना महोत्सव गर्न लागेको हो । ‘यो आयोजनाले नेपालगन्जलाई उत्कृष्ट परिकार र स्वादको मौलिक सहरका रुपमा स्थापित गर्न सकिन्छकी भन्ने आशा हो,’ सडक खाना उत्सवको तयारीमा सक्रिय होटल सिद्धार्थका निर्देशक केशव न्यापानेले भने ।
आयोजक मूल समितिका अधिकांश पदाधिकारी, सदस्यहरु तीन दिनदेखि तयारीका सबैकाम रोकेर प्रशासनिक अंकुश फुकाउन सक्रिय हुनु परेको संघका वरिष्ठ सल्लाहकार नारद पुरीको भनाइ छ । पुरीले स्थानीय प्रशासन कसैको दबाव र प्रभावमा परेको आशंका गर्दै सहायक प्रजिअ उपाध्यायसँग भने, ‘नेपालगन्जको व्यवसायलाई पछाडी पार्ने गरि निर्णय लादिएको छ, सुधार होस् ।’
नेपालगन्ज पहिलो पटक गर्न लागिएको सडक खाना महोत्सवमा ५० हजार स्वादका पारखीले अवलोकन गर्न अनुमान आयोजकको छ । ‘आयोजनालाई भव्यता दिन ४६ लाखबढी खर्च गरिंदैछ,’ अध्यक्ष कंडेलले आयोजना केही गरि रोकिने अवस्थामा अहिले सम्म भएको खर्चको जिम्मेवार को हुने ?’ कंडेलले त्यसो भनिरहँदा नजिकै रहेका उपाध्यक्ष टेक नारायण सापकोटा, कोषाध्यक्ष टिका खनाल लगायतका पदाधिकारी भन्दै थिए, ‘नेपालगन्जका २ हजार होटल बन्द घोषणा गरेर धम्बोझीमा आयोजना अवधिभर सडकमा बस्ने घोषणा गर्नुपर्छ ।’
स्थानीय प्रशासनले सडकमा सार्वजनिक यातायात अवरोध पुग्नेगरि मेला महोत्सव आयोजना गर्न नदिने मात्र आफ्नो सरोकार भएको बताउँछ । ‘अन्यत्र गर्न सकिन्छ,’ निमित्त प्रजिअ उपाध्यायले भने, ‘सडकमा कुनैपनि मेला महोत्सव गर्न लिखित इजाजत दिन सकिन्न ।’ यद्धपि, स्थानीय सरकारले इजाजत दिइसकेकाले उसैको निर्देशनमा भनिएबमोजि हुने कुरामा प्रशासनले हस्तक्षेप गर्नेनगर्ने कुराको यकिन नभइ आयोजना अगाडी बढाउन नसकिनेमा संघ अन्योलमा परेको छ ।
सडक खाना महोत्सवमा सुर्खेतरोड धम्वोझीदेखि कृषि विकास बैंकको पूर्वपट्टीको सडकको एक भागमा भब्य लाइट, टेन्ट सहितको व्यवस्थापनमा आयोजना गरिने महोत्सवमा तारे होटलदेखि मौलिक परिकार सहितका पचास बढि स्टल समावेश गरिने योजना छ । ‘६ लेनको सडकमा आधाबाटोमात्र महोत्सवले तीनदिनसम्म प्रयोग गर्न खोजेको छ, त्यो पनि साँझ तीन घण्टाका लागि,’ संघका वरिष्ठ उपाध्यक्ष राम बहादुर लिम्बु भन्छन्, ‘स्थानीय प्रशासनले हस्तक्षेप गर्नुभन्दा प्रहरी प्रशासन लगाएर व्यवस्थित गर्न सहजीकरण गर्नुपर्छ ।’
सर्वसुलभ मूल्यमा एउटै ठाउँमा थरीथरीका परिकारको स्वाद लिन पाउने व्यवस्था रहने खाना महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । सडकमै बसेर साँगीतिक आनन्दसँगै तारे होटलको स्वाद सहुलियतमा खान पाइने कुराको प्रचारप्रसार भारतको बहराइचसम्म पु¥याइसकिएको छ । भारतको नानपारा, बहराइचबाट समेत पर्यटक सहभागी हुने खबर आएको जानकारी दिंदै आयोजकले नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्ने योजनामा महोत्सव गर्न लागिएको बताउँदै आएको छ । २ करोडबढीको कारोबार गर्ने लक्ष राखेको महोत्सवमा ५० हजार खानाका पारखीले तीन दिनसम्म अवलोकन र कयौं किसिमका स्वाद लिने आयोजकको विश्वास छ । ‘प्रशासनको दबावमा महोत्सव गर्न सकिंदैन,’ स्थानीय प्रशासनको अंकुशले तनावमा रहेका महोत्सव आयोजक मूल समितिका संयोजक कंडेलले भने, ‘नाफामुखी नभएर नेपालगन्जको साझा आयोजना भएकाले सबैको साथमामात्र आयोजना सम्भव छ ।’
बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले भने महोत्सव रोकिएको नभइ ट्राफिक तथा सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयबाट इजाजत अनिवार्य भएको बताए । ‘इजाजत भएअनुसार हुन्छ,’ प्रहरी उपरीक्षक ओलीले दैनिक नेपालगन्जसँग भने ।