महादेवको मन्दिर पुल निर्माणमा वेवास्ता

प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा रहेको जुंगे महादेवको मन्दिर जाने बाटो जीर्ण भएको बर्षौ भइसक्दा पनि निर्माणमा चासो देखाइएको छैन । पटकपटक पुल निर्माणको चर्चा चलेपनि त्यसका लागि ठोस काम भने हुन नसकेको हो । मन्दिर जाने जो कोहीले पनि जीर्ण पुल नबनाएको भन्दै आलोचना गर्दै आएका छन् ।


मिति २०७३ असार २२ मा तत्कालीन पुनरावेदन अदालतले समेत बागेश्वरी सम्बन्धी दिएको एउटा आदेशमा समेत जुंगे महादेव जाने जीर्ण पुल पुनिर्माण गर्न फैसला गरेको थियो । पुल निर्माणका २०७३ सालमा योजना अघि बढाइएको थियो । २०७४ बैशाख १५ गते पुलको डिजाइनका सम्बन्धमा सर्वपक्षीय छलफल समेत आयोजना गरिएको थियो । जिल्ला समन्वय समितिले आयोजना गरेको छलफल कार्यक्रममा एरिना डेभलपमेन्ट कन्सल्ट प्रालिले तयार गरेको डिजाइनबारे छलफल गरिए पनि त्यसपछि काम भने अगाडि बढ्न सकेन । उक्त आ.व.मा जिल्ला समन्वय समितिले २० लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको थियो ।


तत्कालीन समयमा आवश्यक पर्ने थप बजेटको ब्यवस्थापनका लागि जिल्ला समन्वय समिति बाँके तयार रहेको थियो । जुंगे महादेवको मन्दिरलाई बागेश्वरी मन्दिरकै ढाँचामा र पुललाई टुलेनको बनाउने मोडेल तय गरिएको थियो । पुलको निकास एकै तर्फ राख्ने गरि एक तर्फबाट जाने र अर्को तर्फबाट आउने ब्यवस्था सहितको अत्याधुनिक मोडेलको पुल बनाउने तयारी गरिएपनि फिल्डमा काम भने अगाडि बढेन ।


व्यवस्था फेरिएपछि पुल निर्माणमा चासो देखाइएन । स्थानीय तह कार्यान्वयनमा आएपछि नगर प्रमुख डा. धवल समशेर राणा बागेश्वरी मन्दिर व्यवस्थापन समितिको अध्यक्ष रहेका छन् । तर, वर्तमान समितिले पनि पुल निर्माणका लागि चासो दिएको पाइँदैन । ‘पुल नयाँ बनाउनु पर्छ भन्ने हामीलाई पनि लागेको छ, तर तत्काल बनाउने योजना छैन’, व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले भने, ‘भएकै पुललाई मर्मत गरेका छौं ।’


शुक्रबार महाशिवरात्रि पर्वको अवसरमा जुंगे महादेवमा घुइँचो लागेको थियो । मन्दिरमा नेपाल मात्रै नभई भारतका दर्शनार्थी समेत आउने गरेका छन् । जीर्ण पुलले मन्दिरको शोभा मात्रै बिगारेको छैन जोखिम समेत बढाएको शुक्रबार महाशिवरात्रि पर्वको अवसरमा जुंगे महादेवको दर्शनका लागि पुगेका कोहलपुरका धु्रव आचार्यले बताए । ‘भ्रमण बर्षमा प्रदेशकै गन्तव्यको रुपमा बागेश्वरी मन्दिरलाई लिइएको छ’, उनले भने, ‘तर, न मन्दिर क्षेत्रको बाटो ठिक छ न शिव मन्दिर पुग्ने पुल ।’


कतिपय दर्शनार्शीहरुले मन्दिरलाई प्राथमिकतामा राखिएको भनिएपनि व्यवहारमा वेवास्ता गरिएको मन्दिर पुग्दा देख्न सकिने दर्शनार्थीहरुले बताएका थिए । सामाजिक सञ्जालमा समेत जुंगे महादेवको मन्दिर पुग्ने पुलप्रति वेवास्ता गरिएको भन्दै आलोचना गरिंदै आएको छ । शुक्रबार मन्दिरमा लागेको भीडका कारण पनि पुल प्रति स्थानीयको चासो बढाएको छ ।


समितिका सचिव अधिकारीले जुंगे मन्दिर जाने पुल निर्माणका लागि तत्काल समितिसँग बजेट समेत नरहेको बताएका छन् । ‘पुल निर्माण ठूलो खर्च हो’, उनले भने, ‘तत्काल हामीसँग त्यसका लागि कुनै स्रोत छैन ।’ उनले बजेट भए पुल निर्माणबारे सोंच्न सकिने बताएका थिए । ‘पुल ढिलो, चाँडो बनाउन त पर्छ नै’, सचिव अधिकारीले भने, ‘स्रोत भए दीर्घकालनसम्म टिक्ने खालको आधुनिक पुल निर्माणको योजना बनाउँछौं ।’


बागेश्वरी मन्दिरलाई सरकारले सय गन्तव्य र बाँके जिल्लाले भ्रमण गन्तव्यमा राखेको छ । भ्रमण बर्षमा धार्मिक पर्यटन आकर्षित गर्नका लागि बागेश्वरी मन्दिर सम्भावनाको केन्द्र रहेपनि पूर्वाधार तर्फ तीन तहकै सरकारले बजेट भने छुट्याएका छैनन् । अझ मन्दिर वरपरको क्षेत्रका बाटो जीर्ण अवस्थामा रहेका छन् । नगर प्रमुख डा. धवल समशेर राणाले औपचारिक कार्यक्रममा चालु आ.व.को अन्त्यसम्म बागेश्वरी मन्दिर वरपरको सडक बनाउने बताएका छन् ।


उपमहानगरपालिकाले मन्दिर जाने बाटो नै ढाक्ने गरी यसअघि राखिएका पसलहरु भने मन्दिरको पश्चिम तर्फ सटर बनाएर व्यवस्थापन गरेको छ । मन्दिरमा मागेर खानेहरुलाई उपमहानगरपालिकाले असहाय केन्द्रमा लगेर राखेको छ । उपमहानगरपालिकाले पार्कमा धार्मिक कार्यक्रमहरुका लागि सभाहल बनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया