इन्सेकले सार्वजनिक गर्यो बर्षपुस्तक
इन्सेकले सन् २०१९ मा प्रदेश ५ मा मानवअधिकार उल्लंघनका घटनामा १ हजार ६ सय ३ जना पीडित भएको तथ्यांक सार्वजनिक गरेको छ । बुधबार इन्सेकले नेपालगन्जमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० र प्रदेशको मानव अधिकार अवस्था विषयक पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ५ मा बर्षभरी अभिलेखिकरण गरिएका मानवअधिकार उल्लंघनका घटनाका तथ्यांक सार्वजनिक गरिएको हो ।
कार्यक्रममा इन्सेक प्रदेश ५ का संयोजक भोला महतले सन् २०१९ मा राज्य पक्षबाट १ सय ७१ जना गैर राज्य पक्षबाट १४ सय ३२ जना पीडित भएको जानकारी दिएका थिए । इन्सेकको तथ्याङ्क अनुसार, घाइते ३० जना, बेपत्ता २ जना, बाल अधिकार २ सय ८३ जना, अमानवीय व्यवहारमा ६ जना, आर्थिक समाजिक तथा सांस्कृतिक अधिकारका दुई, अपहरणमा ९ जना वटा घटना अभिलेखिकरण गरिएको छ ।
महिला अधिकारमा ९ सय ८६ जना, भेला संगठित हुने अधिकारमा १० जना, कारगारमा मृत्यु एक जना, जातीय विभेद पाँच जना, गिरफ्तारी १ सय ४४ जना, यातनामा एक जना, कुटपिटमा ५९ जना, धम्की आठ जना पीडत भएको इन्सेकको बर्ष पुस्तकमा उल्लेख छ । राज्य पक्षबाट दुई जना हत्या र अन्य पक्षबाट ५५ जनाको हत्या भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ । वर्ष २०१९ मा बलात्कार र यौन दुव्र्यवहार घटनाबाट २ सय २० जना बालिका र १ सय २९ जना महिला पीडित भएको इन्सेकले जनाएको छ ।
इन्सेकले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा देशभर २०१८ कोभन्दा २०१९ मा करिब १ हजार ५ सय ३२ घटना बढी भएका छन् । इन्सेकले तयार पारेको अभिलेखअनुसार सन् २०१९ मा देशभर मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ६ हजार ६४२ पीडित भएका छन् । गत वर्ष सन् २०१८ मा यस्ता घटनामा पाँच हजार १ सय १० पीडित भएका थिए । यस वर्ष मानवअधिकार उल्लङ्घनका घटनामा ६८ महिला र ८६२ पुरुष गरी जम्मा ९३० तथा ज्यादतीका घटनामा पाँच हजार ५८ महिला र ६ सय ५४ जना पुरुष गरी जम्मा ५ हजार ७ सय १२ पीडित भएका छन् । इन्सेकका अनुसार, भने जति दाइजो नल्याएको भन्दै देशभर १३ महिलाको हत्या भएको छ । सोही कारणले ३०० महिला हिंसामा परेको उल्लेख गरिएको छ ।
कार्यक्रममा इन्सेकका साधारण सदस्य कृष्णमुरारी भट्टले वर्ष पुस्तकलाई समय सापेक्ष परिमार्जित गर्दै निरन्तरता दिने बताएका थिए । राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईले इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक सबैका लागि सहयोगी भएको उल्लेख गरेका थिए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारूले इन्सेकले समय अनुसार नयाँ विषयलाई उत्थान गरेको बताउदै इन्सेकले अभिलेख गरेको द्वन्द्व पीडितहरूको तथ्याङ्क राष्ट्रि«य र अन्तराष्ट्रिय सङ्घ संस्थाहरूले प्रयोग गरेको बताएका थिए ।
नेपाल बारका उपाध्यक्ष सुनिल श्रेष्ठले सरकारी तथा गैससको पहुचमा नआएका घरेलु हिंसाका घटना घर घरमै भएको बताउदै न्यूनिकरणको उपाय अबलम्बन गर्नु पर्ने बताए । उच्च अदालत बार तुलसीपुर,नेपालगन्जका अध्यक्ष विकास आचार्यले समय सापेक्ष वर्ष पुस्तकलाई परिमार्जन गर्दै लैजान सुझाव दिएका थिए । फातिमा फाउण्डेसनकी कावा अध्यक्ष मैमुना सिद्दिकीले महिला विरूद्ध हुने हिंसाका घटनामा सबै पक्ष गम्भीर हुनु पर्ने बताइन् ।
सन् २०१९ मा मानव अधिकार अनुगमन र प्रलेखन कार्य कुशलतापूर्वक सम्पन्न गरेको भन्दै गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालयलाई उत्कृष्ट जिल्ला प्रतिनिधि पुरस्कारबाट पुरस्कृत गरिएको थियो । अर्याललाई इन्सेक अङ्कित मायाको चिनो, सम्मान पत्र र ७ हजार रुपिँया सहित पुरस्कृत गरिएको हो । पुरस्कृत अर्यालले सम्मानले थप हौसला प्रदान गर्नुको साथै आगामी दिन काम गर्न उर्जा थपेको बताएका थिए ।