
विहीवार शिलन्यास गरिएको शीत भण्डारको ‘पहिलो चरण निर्माण बैशाखभित्रै’
खम्व पुन
बाँकेको खजुराले शीत भण्डार निर्माण थालेको छ । गौरवको योजनाका रुपमा बाँकेको खजुरा गाउँपालिकाले अघि सारेको शीत भण्डारको विहीवार शिलन्यास गरिएको हो ।
खजुरा गाउँपालिका–५ उढरापुरमा रहेको १ बिगाह ७ कठ्ठा जमिनमा निर्माण गर्न लागिएको शीत भण्डारको ५ नं प्रदेश भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले विहीवार शिलन्यास गरिन् । प्रदेश नं ५ कै नमूनाको रुपमा निर्माण गर्न लागिएको १५ सय मेट्रिक टन कृषि उपज भण्डारण गर्न सकिने क्षमताको शीत भण्डार करिब ९ करोड लगानीमा तयार हुने गरि बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) समेत तयार भैसकेको गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिएका छन् ।
शीत भण्डारको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै ५ नं प्रदेश भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री पौडेलले खजुराका किसानले तरकारी उत्पादन गर्ने देखि कृषकहरु सबैको सहभागितामा शीत भण्डार निर्माण गर्न लागिएकोमा खुशी व्यक्त गरिन् । मन्त्री पौडेलले निर्माण हुन लागेको शीत भण्डारले यस क्षेत्रका किसानहरुलाई उत्साहित गरेको भन्दै खजुरा गाउँपालिकाले अघि सारेको खजुरा क्षेत्रलाई कृषि हब बनाउने उद्देश्यलाई टेवा पुग्ने बताइन् ।

पालिका प्रमुख कक्षपतिले खजुरा गाउँपालिकाको गौरवको योजना मध्ये शित भण्डार पनि रहेको बताउदै यस योजनालाई ५ नं प्रदेश सरकारले गाउँपालिकाको खातामा ५ करोड रकम पठाइसकेको जानकारी दिए । ९ करोडको योजना भएको भन्दै गाउँपालिकाले नयाँ नीति बनाई ब्यबस्थापन र सञ्चालन गर्ने बिधिमा अगाडी बढेको कक्षपतिको भनाइ छ । ‘बाँकी ४ करोड रकमको ५१ प्रतिशत गाउँपालिकाले लगानी गर्ने र ४९ प्रतिशत खजुरामा रहेका क्रियाशील सहकारी सञ्जालले लगानी गर्ने सहमति भएको छ,’ साझेदारीको नमूनाका रुपमा शीत भण्डार निर्माण भइरहेको जानकारी दिंदै कक्षपतिले भने ।
खजुरा गाउँपालिका योजना प्रमुख दिलबहादुर पौडेलका अनुसार, पहिलो चरणमा २ करोड ७८ लाख बराबरको कम्पाउण्ड पर्खाल र स्टक्चर आगामी बैशाख सम्म निर्माण गरिने लक्ष राखिएको छ । योजना अधिकृत पौडेलले शीत भण्डारको निर्माण पछि सञ्चालन र ब्यबस्थापन स्थानीय सहकारी सञ्जालले गर्ने बताउदै अनुगमन र नियमन खजुरा गाउँपालिकाले गर्ने बताए । खजुरा गाउँपालिकामा निर्माण हन लागेको शीत भण्डारको निर्माण प्यारामाउण्ट कन्स्ट्रक्सन ललितपुरले गर्ने जनाइएको छ । ‘तोकिएको समयमैं निर्माण सकिने कुरामा निर्माण कम्पनिले आस्वस्त पारेको छ,’ गाउँपालिका प्रमुख कक्षपतिले भने ।








