अब सहकारीहरुले उद्देश्यमुलक काममा केन्द्रित भएर कति जनालाई स्वरोजगार बनाइयो, कति जनालाई विदेशबाट स्वदेश फर्काइयो, कति जनाको आँशु पुछियो भन्ने डाटा दिन सक्नुपर्छ । कम्तिमा सदस्यहरुलाई आफ्नो भान्सालाई आत्मनिर्भर बनाउ सक्ने बनाउने योजनातिर ध्यान दिनुपर्छ । समग्रमा अबको सहकारी उत्पादनमुलक बन्नेतिर लाग्नुपर्छ, यसको अर्काे विकल्प छैन ।
दामोदर अधिकारी
महासचिव
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड
हाल एकातिर सहकारीहरुको नियमनकारी निकायको भूमिका फितलो भइरहेको र अर्काेतिर सहकारीहरु उत्पादनमुखि नभइरहेको अवस्थाले सहकारी अभियानले अपेक्षाकृत गति लिन नसकेको सहकारी कर्मीहरु बताउँछन । यसै सन्दर्भमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)का महासचिव दामोदर अधिकारीसँग दैनिक नेपालगन्जका लागि गरिएको संवादको अंश आजको अंकमा
अहिले सहकारीले भोगिरहेका समस्याहरु के–के हुन ?
अहिले देश नै नौलो अभ्यासमा छ । सहकारीहरु पनि संघीय संरचनाअनुसार तिनओटा तहका सरकारहरु मातहत छन् । अहिले खासगरि कर्मचारी व्यवस्थापन, कानुन निर्माण लगायतका संरचनाहरुको टुंगो नलागीसकेको अवस्था छ । त्यसैले अहिले संक्रमणको जस्तै अवस्था छ । स्थानीय तहमा सहकारी बुझेका कर्मचारीहरुको अभाव र आवश्यक कानुन पनि नबनीसकेको अवस्थामा केहि कुरामा जटिलताहरु देखिएका छन् । सहकारीको अलग्गै फाँट पनि छैन, कार्यकारी प्रमुखहरु सरुवा भइरहेका छन् । संविधानले सहकारीलाई अर्थतन्त्रको एक खम्बा मानेपनि स्थानीय सरकारमा सहकारीको मर्मलाई बुझेका जनप्रतिनिधिहरु पनि नभएको पाइन्छ । यस्तो अवस्थामा सहकारीकर्मीहरुमा प्रतिवेदन कहाँ बुझाउने, अनुगमन कस्ले गर्ने जस्ता अन्योलता बढेको छ ।
त्यसकारण जनप्रतिनिधिहरुलाई सहकारीबारे बुझाउने जिम्मा सहकारीकर्मीहरुको पनि हो । यहि कुरालाई मध्यनजर गर्दै पछिल्लो समय सहकारी महासंघ, नेफ्स्कून र अन्य सहकारी संघहरुले जनप्रतिनिधिहरुलाई गोष्ठीमा सहभागी गराउने र अभिमु्खिकरण गर्ने कामलाई तिव्रता दिएका छन् । जसको परिणामस्वरुप पालिका स्तरमा पनि अनौपचारिक रुपमा सहकारी सन्जाल निर्माण भएका छन् । सुरुको अवस्था भन्दा अहिले केहि सुधार पनि हुँदै गएको छ । अर्काेतिर सहकारी संग सम्बन्धित ४७ वटा कानुनहरु बाझिएको अवस्था छ । ति कानुनमा रहेका अन्तरविरोधहरु मिलाउन बाँकी नै छ । त्यसको लागि संघीय मन्त्रालयले तदारुकता पनि देखाइरहेको हामीले पाएका छौँ ।
स्थानीय सरकारहरुले निभाउनुपर्ने भुमिका कस्तो हो ?
सहकारी आफैंमा स्वायत्त संस्था हो । यसलाई राज्यले हस्तक्षेप गर्न पाउँदैन । तर अगुमगन र निगरानी गर्न सक्छ । आफ्नो क्षेत्रभित्रका सहकारीहरुलाई कसरी प्रयोग गर्ने त्यसको नीति बनाउन सक्छ । त्यसकै आधारमा ऐनहरु बनाउन सक्छन् । सहकारीहरुको क्षमता विकासका काममा सहकार्य गर्न सक्छ । धेरै कामहरु स्थानीय तहले गर्न सक्छ । सहकारी अभियान राज्यको नीति नियमको पालना गर्ने कुरामा सधैं कटिबद्ध रहन्छ ।
सहकारीहरुले अहिले पनि गल्ती गर्ने क्रम नरोकिनुको कारण चाहिँ के पाउनुभएको छ ?
यस्ता सहकारीहरु पनि छन जसले प्रविधिलाई अंगीकार गरेर अघि बढिरहेका छन् । स्वभाविकरुपमा त्यस्ता सहकारीहरु बलिया छन् । तिनको सामाजिक छवि पनि राम्रो छ । तिनले सदस्यहरुलाई मालिकका रुपमा स्थापित गरेका छन् । आन्तरिक सुशासनलाई अक्षरशः पालना गरेका छन् । यस्ता सहकारीहरु नेपालमा मात्रै होइन अन्तर्राष्ट्रिय स्तरमा पनि आफुलाई चिनाउन सफल भएका छन् । यिनलाई अनुसरण गर्नुपर्ने आवश्यकता छँदैछ । तर सबै सहकारीहरु यस्तै छन् भन्न सकिन्न । अहिलेपनि कतिपय ग्रामिण क्षेत्रका सहकारीहरुमा नीति विधि र प्रविधिको ज्ञान र पहुँच छैन । तिनलाई प्रवद्र्धन गर्ने निकायको भुमिका राम्रो छैन । यो अवस्थाले उनीहरु आत्तिएका छन् । अर्काे, शहरमा भएका केहि सहकारीमा आवद्ध र तिनका सन्चालकहरु ऐन नियमको खुकुलोपनको फाइदा उठाउँदै नीति विधि र प्रविधि भन्दा बाहिर गएर काम गरिरहेका छन् । सहकारीलाई आफ्नो निजी व्यवसायको रुपमा प्रयोग गर्ने र सदस्यहरुको सोझोपनको फाइदा उठाएर धोका दिनेहरु पनि छन् । हाम्रो बाँके जिल्लामा पनि केहि समस्याहरु देखिएका छन् । अहिले हामीले नेपालगन्जमा नेफस्कुनका क्षेत्रीय कार्यालय खडा गरेर अन्य सहकारी संघहरु सँग पनि सहकार्य गर्दै सहकारीहरुको अनुगमन, सचेतीकरण र अभिमुखिकरणका कार्यक्रमलाई लिएर अघि आएका छौँ । यसमा सबैको साथ र सहयोगको खाँचो छ ।
सहकारी एकिकरणको आवश्यकता पनि बढ्दै गएको हो ?
एकदमैं, एकिकरण अहिलेको सबैभन्दा महत्वपूर्ण आवश्यकता हो । हिजो सहकारीको जागरण कालखण्डमा धेरै सहकारीहरु खुल्नु स्वभाविक थियो । तर, अहिले हामीले सो कालखण्ड पार गरेका छौँ । अब एकै कार्यक्षेत्रमा काम गरिरहेका सहकारीहरु एक भएर अघि बढ्नुपर्छ । यसलाई कानुनले पनि बाटो खोलिदिएको छ । अब सम्भावित क्षेत्रमा लगानी गर्ने उत्पादनमुल क्षेत्रको पहिचान गर्ने र लगानी गर्ने बेला हो । त्यसैले हामीले भनेका छौँ जहाँ सहकारी छैन त्यहाँ सहकारीहरु खोलौँ जहाँ बढि छन त्यहाँ एकिकरण गरौँ । सदस्यहरु डुप्लीकेसन गरेर, एउटै सदस्यलाई चार ठाउँबाट ऋण लगानी गरे फाइदा छैन । त्यसकारण हामीले एकिकरणको सुरुवात पनि गरिसकेका छौँ । मैले आफैले नेतृत्व गरेको बर्दियाको सिको बचत तथा ऋण सहकारी पनि ६ वटा सहकारीहरु एक भएर बनेको हो । त्यो नेपालका ४ पटक ब्राण्डेड सहकारी बन्न सफल भयो । एसियाली मापदण्डमा पनि पु¥याउन हामी सफल भयौँ । त्यसकारण एक भएमा त्यसको परिणाम पनि राम्रो हुने कुरामा हाम्रो विश्वास हुनुपर्छ । एकीकरणको विषयलाई सरकारले पनि कार्यान्वयनमा लैजान तदारुकता देखाइरहेको अवस्था छ । अब सहकारीकर्मीहरु स्वतःस्फुर्त रुपमा यस अभियानका जुट्न जरुरी छ ।
सहकारीहरुले अब आफुलाई कता लैजानुपर्छ ?
अब हामीले सहकारी सचेतना, सदस्यता बृद्धि र अभियानको औचित्यको पुष्टिकरण मात्रै नभएर उद्यम र उत्पादनतिर लक्षित हुनुपर्ने बेला भएको छ । अब सहकारीहरुले उद्देश्यमुलक काममा केन्द्रित भएर कति जनालाई स्वरोजगार बनाइयो, कति जनालाई विदेशबाट स्वदेश फर्काइयो, कति जनाको आँशु पुछियो भन्ने डाटा दिन सक्नुपर्छ । कम्तिमा सदस्यहरुलाई आफ्नो भान्सालाई आत्मनिर्भर बनाउ सक्ने बनाउने योजनातिर ध्यान दिनुपर्छ । समग्रमा अबको सहकारी उत्पादनमुलक बन्नेतिर लाग्नुपर्छ, यसको अर्काे विकल्प छैन ।