छोरा विजय कुमार गुप्तको स्मृतिमा पन्नालाल



स्व. पन्नालाल गुप्त (टोपी लगाएर बस्नुभएको) को परिवार सामुहिक तस्वीरमा


विजय कुमार गुप्त

हाम्रा परम पूज्य पिताजी प्रेस स्वतन्त्रता सेनानी सम्मानित व्यक्तित्व स्व.पन्नालाल गुप्तको स्वर्गारोहण भएको तेह्रो दिनको पुण्य तिथिमा श्रद्धाञ्जली स्वरुप केही अनुभूतिहरु ‘मैले चिनेको चाचा पन्नालाल’ शीर्षकमा लिपिबद्ध गरेको छु ।
पिताजीलाई ‘चच्चा’ भनी सम्बोधन गर्न शुरु गर्दा मैले कहिल्यै कल्पना सम्म गरेको थिइन, हाम्रा ‘चच्चा’ पन्नालाल सबैका प्रिय चाचा जी भएर नेपाल भरि प्रख्यात हुनु हुनेछ । दुई दाजु भाई अर्थात स्व. महावीर प्रसाद गुप्त र पन्नालाल गुप्त मध्ये जेठा महावीर प्रसाद गुप्त (पूर्व नगर प्रमुख २०३३–०३६) पत्रकारिता, साहित्य एवं ज्योतिष विज्ञानका राम्रा ज्ञाता पनि हुनु हुन्थ्यो । उहाँले नेपालमा पहिलो आम निर्वाचनमा सांसद पदको उम्मेदवारको रुपमा सहभागिता गर्नु भएको थियो । महावीरका जेठा सुपुत्र शिवकुमार गुप्त र जेठी सुपुत्री इन्दिरा देवीले आफ्नो पितालाई बाबू र मेरा पिताजी पन्नालाललाई सम्बोधन गरेको ‘चच्चा’ शब्दलाई प्रथम पुत्रको रुपमा अंगीकार गर्दा मैले मात्र होइन म पछिका भाई बहिनीहरुले पनि ठूलो बुवा महावीर प्रसादलाई बाबू र आफ्नो पितालाई चच्चा भन्न थाले जुन सम्बोधन उहाँहरुको पहिचान बन्यो ।
दाजु महावीर बहुमुखी प्रतिभाका धनी हुनु हुन्थ्यो । म ६–७ वर्षको हुँदा पहिलो संसदीय निर्वाचनमा मेरा पिताजीले दाजुको निर्वाचनको कमान सम्हालेको र गाउँ गाउँमा ‘तुला तराजु काम न अइन्हे हंसिया है, बेकार हलवा जोते धनवा होइन्है भरिहै खेत खलिहान’ को गीत लाउड स्पीकरमा घन्की रहेको र घरभरि प्रचार सामाग्री स्टकबाट प्रचारका लागि लगिंदै बाटिदै गरेको दृश्य मेरो मानस पटलमा ताजै छ । अनुराधा मासिक पत्रिका र नयाँ सन्देश पत्रिका पनि दाजू महावीर प्रसादको नेतृत्वमा पन्नालाल गुप्तद्वारा सञ्चालनमा आएको थियो ।
यसरी हाम्रो परिवार राजनीतिको पाठशालानै बनेको र पत्रकारिताको दीक्षा बाबू र चच्चाबाट हामीले पायौं ।
चाचाको रुपमा सबैका प्रिय उहाँ सबैलाई उत्तिकै माया र सम्मान गर्नु हुन्थ्यो । उहाँमा आफ्नो गुरु परम श्रद्धेय मंगल प्रसादको आदर्श जीवन परिलक्षित हुन्थ्यो । सुप्रसिद्ध मंगल विद्यालयका संस्थापक पनि मास्टर मंगल प्रसाद नै हुनु हुन्थ्यो ।
पिताजीको जीवन यात्रा सदा संघर्षमय रह्यो । त्यसैले श्रमिकहरुप्रति उहाँ धेरै संवेदनशील भएर नेपाली श्रम आन्दोलनमा सक्रिय रहनु भयो । नेपालको प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा उहाँ सदा निष्ठावान रहनु भयो । पिताको रुपमा उहाँले हामीहरुलाई कुनै अभाव महसुुुस हुन दिनु भएन । यद्यपि, उहाँ सदा विश्रामहीन रहनु भयो । कहिलेकाही आराम गर्न आग्रह गर्न खोज्दा, ‘म एकै पटक विश्राम गछर्’ु भन्नु हुन्थ्यो । ४४ वर्ष भन्दा बढी समय साप्ताहिक किरणको सम्पादन र प्रकाशनको अभिभारा आफ्नो नेतृत्वमा कुशलता पूर्वक निर्वाह गर्नु भएका पिताजी पछि किरण प्रकाशनले निरन्तरता पाउन हम्मे हम्मे परेको छ ।
उहाँ नियमित प्रातः भ्रमण, व्यायाम, योग एवं पूजापाठ गर्नु हुन्थ्यो । प्रातः भ्रमणमा उहाँ ७–८ किलोमीटर नै दैनिक हिड्ने स्वभाव थियो । उहाँले पूजाको फूल पनि प्रातः भ्रमणकै बेला लिएर आउने गर्नु हुन्थ्यो । उहाँ विशुद्ध शाकाहारी भोजन गर्नु हुन्थ्यो । सत्य र अहिंसामा उहाँको दृढ विश्वास थियो । उहाँ महात्मा गान्धीको जीवनबाट धेरै प्रभावित हुनु हुन्थ्यो । गान्धीजीद्वारा लेखिएका पुस्तकहरुको सधै अध्ययन गर्नुका साथै प्रेम पुस्तकालय (हाल महेन्द्र पुस्तकालय ) को नियमित पाठक हुनु हुन्थ्यो । उक्त पुस्तकालयको स्थापना कालदेखिनै ठूलो बुवा र पिताजीको योगदान रहेको थियो । त्रिभुवन चौकमा रहेको प्रेम पुस्तकालय पछि आफ्नै भवनमा (हाम्रै घरको छेउमा) सरेको थियो । सादा जीवन उच्च विचार उहाँको आदर्श रहयो जसलाई जीवन पर्यन्त उहाँले अनुशरण गर्नु भयो ।
उहाँ सदा स्वावलंबनमा विश्वास राख्नु हुन्थ्यो । अर्काको काम गरी दिने तर आफ्नो काम कसैबाट गराउन न चाहने आफ्नो कारण कसैलाई कष्ट न होस् बरु आफै कष्ट सही बस्ने स्वभावका धनी हुन्थ्यो । मेरा पिताजी अन्याय र अत्याचार असमानता र भेदभाव विरुद्ध निरन्तर आवाज उठाई रहनु उहाँको अन्र्तनिहित स्वभावको अभिन्न अंग थियो ।
मैले सन १९७३ मा आफ्नो किशोरावस्थाकी सहपाठीसंग विवाह बन्धनमा बांधिदा उहाँको अनुपस्थिति रहेको घटनाले मलाई सदैव दुःखी तुल्याई रह्यो । अन्र्तजातीय विवाह त्यस बेला स्वीकार्य नभएपनि पछि परिवारले सहजता पूर्वक स्वीकार गरेको र पिताजीले पनि सामान्य रुपले आफ्नो बुहारी मेरी धर्मपत्नी किरणप्रभा शर्मा ( गुप्त) लाई स्वीकार्नु भएको थियो । यति सम्म सहृदयी हुनु हुन्थ्यो कि मेरी छोरी प्रीतिको विवाहमा आफै कन्यादान गर्नु भएको स्मृतिमा ताजै छ । वास्तवमा पिताजी अन्र्तजातीय विवाहको विपक्षमा नभई तत्कालको समाजमा परिवारलाई असहज हुने कुरामा चिन्तित हुनु भएको थियो । पिताजी खेलकूदको धेरै शौकिन हुनु हुन्थ्यो । कैरम बोर्डको खेलमा उहाँ यू.पी. चैम्पियन हुनु भएको चर्चा घरमा भई रहन्थ्यो । शतरंज(चेस) पनि उहाँको प्रिय खेल थियो । सांस्कृतिक कार्यक्रमहरुमा आदरणीय व्यक्तित्वहरु मोहन लाल वैश्य र पाटनदीन गुप्त संग मिलेर काम गर्नु हुन्थ्यो ।
पिताजी गौ पालनप्रति धेरै अभिरुचि राख्नु हुन्थ्यो । उहाँको युवास्थामा गाईसंग उभिएको फोटो मैले देखेको छु । मेरो बाल्यावस्थामा घरमा दुइटा गाई रहेको मलाई सम्झना छ । मेरा बाजेले आफ्ना मित्र पीताम्बर जंग राणा ( रामबाग) लाई गाई दिएको कुरा मैले बज्यैको मुखबाट सुनेको छु । पछिल्लो समय ( ७० वर्षको उमेर पुगेपश्चात) मा पनि उहाँलाई गाई पालन गर्ने इच्छा भएको कुरा म संग गर्नु भएको थियो ।
राजनीतिमा उहाँको उत्तिकै रुचि थियो । समाज र देशको लागि गर्नु सबैको कर्तव्य हो भन्ने कुरामा उहाँ सदैव सजग हुनु हुन्थ्यो । उहाँको देशमा प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन एवं लोकतन्त्र गणतन्त्रमा समेत संघीयता, समानुपातिक, समावेशी सिद्धान्तलाई स्थापित गराउन भएका सबै खाले आन्दोलनमा अग्रणी भूमिका रहेको सर्वविदितै छ । पारिवारिक अवस्थाले उहाँ राजनीतिमा घेरै संलग्न न रहे तापनि पत्रकारिताको माध्यमबाट उहाँ सधै राजनीतिक विषयमा समेत आफ्नो विचार प्रवाह गरी रहनु भयो । पत्रकारकै हैसियतले जब नागरिकका मूलभूत स्वतन्त्रताहरुको अपहरण भयो, उहाँ आन्दोलनरत हुनु भयो । पत्रकार जगतले चाचा पन्नालाल गुमाएको छ । हामीले आफ्नो अभिभावक, पिता गुमाएका छौं । उहाँको गौरवशाली इतिहास हाम्रा लागि सदा सर्वदा प्रकाश स्तम्भको रुपमा मार्ग दर्शन गरिरहने नै छ । पन्नालाल, पन्नाझै सदैव उज्यालो छरिरहने छन् । हामी गौरवान्वित छौं, उहाँको सन्तानको रुपमा । समस्त पत्रकार जगत र बाँकेवासी शुभचिन्तकहरुका साथै नेपाल र छिमेकी राष्ट्र भारतका पत्रकारज्यूहरुप्रति मेरो परिवारमा उहाँको सेवामा संलग्न सबै सदस्यहरु नेपालगन्ज मेडिकल कलेजका सहयोगी डाक्टरहरु नर्सिङ्ग तर्फका सिस्टरहरु, डा.किदवाई , डा. प्रकाश नाग, डा.सुरेश कनौडिया, डा.दिपेश, डा.पीयूष कनोडिया डा.असीम किदवाई, डा. रोमन किदवाई, तथा डा. गोपाल सागर डि.सी. लगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछु । यस घडीमा श्रद्धाञ्जली एवं समवेदना व्यक्त गर्ने सबैमा हृदय देखि गुप्त परिवारका तर्फबाट कृतज्ञता ज्ञापन गर्दछौं । ( नेपालगन्जका पूर्व नगर प्रमुख गुप्त वरिष्ठ अधिवक्ता हुन् ।)

प्रतिक्रिया

प्रतिक्रिया