सहकारी बजारबाट किसानले उचित मुल्य पाउने कृषिमन्त्री आरती पौडेलको भनाइ
प्रदेश सरकारले बाँकेमा सहकारी बजार सञ्चालनमा ल्याउने भएको छ । प्रदेश ५ मा यस वर्ष ३ वटा सहकारी बजार स्थापना गर्ने भएको मन्त्रालयको योजनामा बाँके समावेश भएको हो ।
गतवर्ष ६ वटा सहकारी बजार सञ्चालनमा ल्याइसकेको प्रदेश ५ सरकारले यस वर्ष थप तीन जिल्लामा सहकारी बजार सञ्चालन योजना अघि बढाएको हो । सहकारी बजारमा बजारभाउ भन्दा कम दरमा उपभोक्ताले खरिद गर्न पाउने व्यवस्था गरिने सम्बद्ध मन्त्रालयको भनाइ छ । सहकारी प्रशिक्षालय नेपालगन्जका प्राचार्य श्रीकृष्ण नेपालले बाँकेमा सहकारी बजार स्थापना गर्न पहल थालिएको जानकारी दिए ।
यसैबीच, प्रदेश नम्बर ५ का १२ जिल्लाका सहकारीकर्र्मीको सहभागितामा बुधवार नेपालगन्जमा सहकारी बजार परिचालन सम्बन्धि गोष्ठीको आयोजना गरिएको छ ।
सहकारी प्रशिक्षालय नेपालगन्जको आयोजनामा गरिएको गोष्ठीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ का मन्त्री आरती पौेडेलले सहकारी बजारबाट नै किसानले उत्पादन गरेको बस्तुले उचित मुल्य पाउन सक्ने बताइन् । सहकारी बजार सन्चालन गरे किसान सहित सहकारीहरुको समेत आम्दानीको श्रोत बढ्ने मन्त्री पौडेलको विश्वास थियो ।
सहकारी बजारमा किसानले आफ्नो उत्पादन निर्धक्क विक्री गर्न सक्ने भएकाले पनि यस तर्फ चासो बढाउनुपर्नेमा मन्त्री पौडेलको जोड थियो । गोष्ठीमा सहकारी बजारको मोडेल प्रस्तुत गर्दे योजना माहाशाखा प्रमुख वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले सहकारी बजारले आफ्नो उत्पादन, रोजगारीका अवसर, स्रोत उपलव्धता तथा उत्पादन खरिद, तथ्याङ्ग व्यवस्थापन र उचित मुल्यका बारेमा जानकारी गराएका थिए । घिमिरेले सहकारी बजारले कृषकको सम्मानका साथै विश्वसनियता, कृषक प्रोत्साहन, आय आर्जन गर्न कृषकलाई उचित मुल्य प्रदान गर्ने बताए ।
प्रदेश विकास परिषद प्रदेश नम्बर ५ का सहकारी विज्ञ डा. खगराज शर्माले तौल, गुणस्तर, मुल्य जस्ता कुराहरुमा उपभोक्ता ठगिनु परेकोले पनि सहकारी बजारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । सहकारी बजार सन्चालन गरिए आफ्नो जिल्ला सगै अन्य जिल्लाको तरकारी, फलफुल लगायतका बस्तु सहजै उपभोक्ता माझ पु¥याउन सहज हुने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ का सचिव तेज बहादुर सुवेदीले जानकारी दिए ।