अब कता जान्छ नेपालगन्ज उद्योग वाणिज्य संघ ?


ओली महासचिव, न्यौपाने कोषाध्यक्ष, कार्यसमितिलाई पूर्णता, वरिष्ठमा लामिछाने


संघमा पदाधिकारी पनि निर्वाचनबाटै

नेपालगन्ज उद्योग वाणिज्य संघमा पदाधिकारी चयन प्रक्रियापनि निर्वाचनबाटै भएको छ । त्यससँगै नयाँ कार्यसमितिले पूर्णता पाएको छ । संघको मगलवार बसेको बैठकले थप पदाधिकारी र सदस्य चयन गरेसंगै कार्यसमितिले पूर्णता पाएको हो ।
आन्तरिक निर्वाचन प्रक्रियाबाट नेपालगन्ज उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा आदेश अग्रवाल चयन भएका छन् । संघमा रहेका दुई जना उपाध्यक्ष मध्ये एकजनालाई बरिष्ठ बनाउने व्यवस्था छ । सोही अनुसार, मंगलवार सबेको संघको बैठकबाट बरिष्ठ उपाध्यक्ष टुङ्गो लागेको हो । महासचिवमा चिरञ्जीवी ओली, उपमहासचिवमा धर्मराज अर्याल, कोषाध्यक्षमा हरिलाल न्यौपाने चयन भएका छन् । त्यस्तै बरिष्ठ सदस्यमा बसन्त लामिछाने निर्वाचित भएका । उनीहरु निर्वाचन प्रक्रियाबाट जितेर आएका हुन । बैठकले प्रवक्तामा टंक धामी , महिला सदस्यमा पार्वती आचार्य र उषा भण्डारीलाई चयन गरेको कार्यसमिति सदस्य विजय भण्डारी (वासु) ले जानकारी दिए ।
माघ ११ गते भएको संघको निर्वाचनका लागि भएको समिकरण भने कार्यसमितिको पहिलो बैठकबाटै टुटेको छ । समावेशी प्यानल र साझा प्रजातान्त्रिक समुहको नामबाट निर्वाचनमा होमिएका ब्यवसायीहरु कार्यसमितिको बैठकमा पदाधिकारी चयन गर्ने बिषयमा भने एकमत हुन सकेनन् । समावेशी प्यानलबाट निर्वाचित एक सदस्य सहित दुई जनाले पदाधिकारी चयनकालागि गठबन्धन तोडेर प्रजातान्त्रिक समूहबाट सदस्यहरुसंग मिलेर उम्मेदवारी दिएपछि समिकरण टुटेको हो ।
समावेशी प्यानलबाट निर्वाचित सदस्य भिमबहादुर रानाभाट महासचिव पदका लागि प्रजातान्त्रिक समूहसंग सहकार्य गरेर उम्मेदवार बने । वरिष्ठ सदस्यमा समावेशी प्यानलकै ब्यवसायिक नेता भाष्कर काफ्लेलाई उम्मेदवार बनाइएको थियो । निर्वाचनमा एकै समूहबाट चुनाव लडेका रानाभाटसँग बराबरी मतमा ओलीले अध्यक्ष अब्दुल वाहिद मन्सुरीको निर्णायक मतबाट महासचिव विजयी भएका हुन् ।
कोषाध्यक्ष पदको निर्वाचनमा हरिलाल न्यौपानेले १० र टंक प्रसाद शर्माले ८ मत पाएका थिए । शर्मा प्रजातान्त्रिक प्यानलका हुन् । उप–महासचिव पदमा धर्मराज अर्यालले १० र प्रजातान्त्रिकका टेक बहादुर खड्काले ८ मत पाएका थिए । वरिष्ठ सदस्यमा बसन्त लामिछानेको १० र भाष्कर काफ्लेलाई ८ मत परेको थियो भने २ जना महिला सदस्यमा पार्वता आचार्य र उषा थापा भण्डारीले ११–११ मत पाएका थिए । उनीहरुको प्रतिस्पर्धी माया गुरुङ र बिष्णुसिंह ठकुरीले ७–७ मत पाए । ‘निर्वाचनका बेला गरिएको भद्र सहमति उलंघन गरिएकाले निर्वाचनमा जानुप¥यो,’ रानाभाटले दैनिक नेपालगन्जसँग भने । यद्धपि प्रजातान्त्रिक प्रक्रियामा सहभागी भएकाले संघको व्यवसायिक चुनौतीमा एक ढिक्का भएर जाने कुरामा कुनै समस्या नहुने रानाभाटको भनाइ थियो ।

प्रतिक्रिया

प्रतिक्रिया