प्रदेश कृषिमन्त्रीको आग्रह
प्रदेश ५, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले भैपरि आउने प्रकोप जोखिमबाट जोगिन किसानले कृषि तथा पशुपन्छी विमामा आकर्षण बढाउनुपर्ने बताएकी छन् ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले नेपालगन्जमा मंगलवार आयोजना गरेको पशुपन्छी विमा सम्बन्धि प्रादेशिक स्तरिय अन्तक्र्रियामा मन्त्री पौडेलले बीमा कम्पनि, वित्तीय संस्था र सरोकारवालाहरुसँग प्रदेश सरकारका पहल वारे जानकारी दिइन् ।
मन्त्री पौडेलले भैपरि आउने प्रकोप जोखिमबाट जोगिन विमाले मद्दत गर्ने भएकाले आफुले पालन गर्ने पशुपन्छी तथा तरकारी, अन्नबालीहरुको विमा गर्न आवश्यक रहेको औंल्याउदै मन्त्री पौडेलले प्रदेश सरकारेसमेत त्यसका लागि आवश्यक सहयोगको पहल वारे जानकारी गराएकी हुन् । कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै कृषि क्षेत्रको विकासका लागि विभिन्न योजना निर्माण गरेको मन्त्री पौडेलको भनाइ छ ।
बीमा गरेर व्यवसाय गर्ने किसान तथा कृषि व्यवसायिहरुलाई कृषि प्रणालीमा आधुनिकीकरण, व्यावसायिकरण र बजारीकरणको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना सुनाउँदै प्रदेश ५ का कृषिमन्त्री पौडेलले किसानले समयमै बीमा नगर्दा ठुलो नोक्सानि बेहोर्न परेको सुनाइन् । ‘बीमा गर्न किसानलाई सहज होस् भनेर सरकारले नै स्वतः अनुदान दिएको छ,’ मन्त्री पौडेलले भनिन् ।
कार्यशाला गोष्ठीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ का सचिव तेज बहादुर सुवेदीले कृषिमा युवा पुस्तालाई आकर्षित गर्न र कृषिको व्यावसायिकरण र आधुनिकीकरण गर्नका लागि कृषि विमा अनिवार्य भएको बताए । कार्यशालामा सहभागी किसानहरुले भने बीमा कम्पनिहरुले कृषि बीमाको भुक्तानीको प्रक्रिया जटिल तथा झण्झटिलो बनाएको गुनासो गरेका थिए । परम्परागत निर्वाहमुखी पशुपालन प्रणालीका कारण कृषि विमाको विकास हुन नसकेको व्यवसायिक बाख्रा तथा भैसी पालन गर्ने बाँके खजुराका किसान तुल बहादुर कंडेलले गुनासो गरे ।
कार्यक्रममा कृषि विकास निर्देशनालय रुपन्देहीका निर्देशक यमनारायण देवकोटा, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका नि.निर्देशक तुलसीराम भण्डारी, डा. प्रदीप शर्मा लगायतले विषयगत धारणा राखेका थिए । कार्यक्रममा महाशाखाका प्रमुख, खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रर्वद्धन, सहकारी प्रशिक्षण केन्द्र नेपालगन्जका प्राचार्य, विभिन्न बैंकका प्रमुख तथा प्रतिनिधि, कृषि ज्ञान केन्द्र प्रमुख, विज्ञ केन्द्र प्रमुख,तालिक केन्द्र प्रमुख, कुखुरा विकास फार्म खजुरा, बाख्रा व्यवसायी महासंघ, बंगुर व्यवसायी महासघंका पदाधिकारी, प्रदेश ५ का विभिन्न जिल्लाबाट किसान प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।








