आफ्ना माग र मुद्दाहरुमा सरकार गम्भीर नभएको भन्दै थारुहट/थारुवान राष्ट्रिय मोर्चाले आन्दोलन घोषणा गरेको छ । मंगलवार नेपालगन्जमा पत्रकार सम्मेलन गरी मोर्चाका संयोजक लक्ष्मण थारुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

‘न राज्य मागियो, न हतियार उठाइयो,’ शान्तिपूर्ण आन्दोलनका कार्यक्रमबाटै राज्यलाई झुकाएर आफ्ना माग पुरा गराएरै छाड्ने दृढता व्यक्त गर्दै मोर्चाका संयोजक थारुले पत्रकार सम्मेलनमा भने, ‘सामुहिक आमरण अनसनबाट आनदोलन अगाडी बढ्दैछ ।’
बाध्यात्मक अवस्थामा आन्दोलन गर्नुपरेको जनाएको मोर्चाले फागुन १ गते संयोजक लक्ष्मण थारु सहितको सामुहिक अमरण अनसन बसेर कैलालीबाट शन्तिपूर्ण अन्दोलनको शुरुवात गर्ने घोषणा गरेको हो । ‘त्यसपछि पनि मागको सुनवाई नभए फागुन २ गते थारुहटका सबै जिल्ला र काठमाडांैमा पनि शान्तिपूर्ण जनप्रर्दशनका कार्यक्रम गरिनेछ,’ संयोजक थारुले भने ।
मोर्चाले रेशम चौधरी लगायत जेलमा रहेका थारु बन्दीहरुको रिहाई, टीकापुर घट्नालाई राजनीतिक घटनाको रुपमा सम्बोधनको माग गरेको छ । लाल आयोग प्रतिवेदनको सार्वजनिक, संविधानको धारा १८, ३८, ४२, ५६ र २७४ संशोधन तथा टीकापुर घट्नमा थारु समुदायको पसलमा आगजनी गरेका दोषीको कारबाही लगायतको १४ वटा मागलाई लिएर थारुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनमा जान लागेको हो । माग सम्बोधन नभए ५ गते थप अन्दोलनको कार्यक्रम सार्वजनिक गरेर अन्दोलन गर्ने मोर्चाको तयारी छ ।
थारुहट/थारुवान राष्ट्रिय मोर्चा संयोजक लक्ष्मण थारु
सरकारको इच्छा शक्ति नभएकाले नै आफुहरुको माग सम्बोधन हुन नसकेको मार्चाले आरोप लगाएको छ । ‘सात प्रदेशले देशको समस्या समाधन हुँदैन’, मोर्चाका संयोजक थारुले पत्रकारका जिज्ञासामा भने, ‘ अहिलेको प्रादेशिक संरचनाले देशमा द्वन्द्व पैmलाउनु बाहेक लोकतन्त्रको मर्मलाई सम्बोधन गर्न सक्दैन ।’








