लगानी डुब्ने निश्चित
बाँकेका हजारौं नागरिकले भारतीय बीमा कम्पनीमा जीवन बीमा गराएका छन् । एकीन तथ्यांक नभएपनि बाँकेका गाउँमात्रै नभएर सहरी क्षेत्रमा बस्नेहरुको बीमा भारतीय कम्पनीसँग गरेका छन् ।
अब भारत गरिएको बीमाको भुक्तानी लिन नेपाली नागरिकलाई समस्या हुने बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बताएका छन् । ‘अवस्था पहिले जस्तो छैन, राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुन लागु भएका छन्’, उनले भने, ‘कसैले भारतमा जीवन बीमा गरेको छ भने सरेण्डर गर्नु उपयुक्त हुनेछ ।’
भारतमा रहेको कम्पनीसँग बीमा गर्नु जोखिम मात्रै नभई गैरकानुनी कार्य समेत भएको अध्यक्ष चापागाईले बताएका छन् । ‘नेपालको ऐनले त्यस्तो गर्न मिल्दैन’, उनले भने, ‘त्यसैले सीमामा बीमा सम्बन्धी जनचेतनामूलक होर्डिङ्ग बोर्ड राखेका छौं ।’
‘हिजोका दिनमा सीमापारी बीमा गर्दा नगदमा प्रिमियम बुझाउने र नगदमै भुक्तान लिन सकिन्थ्यो’, अध्यक्ष चापागाईले भने, ‘अब भने एकाउन्पेयी चेक मार्फत मात्रै भुक्तानी हुन्छ, नेपाली नागरिकले भारतमा खाता खोल्न पाउँदैनन्, यसले उनीहरुले बीमामा गरेको लगानी नै डुब्ने जोखिम रहन्छ ।’
सम्पत्ति शुद्धिकरण ऐन, आतंकवादमा लगानी सम्बन्धी ऐन छ । त्यो संयुक्त राष्ट्र संघले आफ्ना सदस्य राष्ट्रहरु सबैलाई लागु गरेको छ । भारत र नेपालमा पनि लागु छ । ‘आजको समस्या के हो भने सीमा क्षेत्रका मानिसहरुले खुरुखुरु भारतमा नयाँ नखोलेपनि प्रिमियम तिरिरहनु भएको छ र म्याचुअर्ड भैसकेपछि बैंकले भुक्तानी वापत एकान्टपेयी चेक दिन्छ । नगद दिंदैन । त्यो चेक साट्न समस्या हुन्छ’, उनले नेपाली नागरिकको भारतमा बीमा रहे सरेण्डर गर्न सुझाव दिंदै भने, ‘भारतीय बैंकको चेक नेपालमा साटिदैन, स्रोत खुलाउनु पर्ने हुन्छ ।’ ‘एकातिर भुक्तानीको जटिलता, अर्कोतिर गैरकानुनी कार्य’, उनले भने, ‘त्यसैले यसलाई सबै मिलेर रोक्नु पर्छ ।’
बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाई
अध्यक्ष चापागाईले भारतीय बीमा कम्पनीले भन्दा नेपाली बीमा कम्पनीले बढी बोनस दिने भएकाले नेपालीले नेपालमै जीवन बीमा गर्नु सुरक्षित रहेको बताए । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति अध्यक्ष चापागाईसँग दैनिक नेपालगन्जले गरेको कुराकानी आगामी अंकमा प्रकाशित गरिनेछ ।
बीमा कर्मचारीलाई प्रशिक्षण
नेपालगन्जमा रहेका निर्जीवन बीमा कम्पनीका कर्मचारीहरुलाई प्रशिक्षण थालिएको छ । कर्मचारीहरु संगठित, नेपाल इन्स्यारेन्स प्रोफेशनल सोसाइटी (निप्स) नेपालगन्ज च्याप्टरले विषयविज्ञहरु निम्त्याएर प्रशिक्षण आयोजना गरेको हो ।
सोमबार बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाई, कार्यकारी निर्देशक राजुरमण पौडेल, विषयविज्ञ भोजराज शर्मा लगायतले नेपालगन्जका ५० बढी सहभागीलाई प्रशिक्षण दिनुभएको निप्सका नेपालगन्ज च्याप्टर महासचिव सुबोध श्रेष्ठले जानकारी दिए । ‘नेपालगन्जमा बीमा कम्पनीका कर्मचारीहरुका लागि यो महत्वपूर्ण अवसर हो’, हालै मात्र संगठित भएको निप्सको संयोजनमा कार्यक्रम भैरहेको जानकारी दिंदै भने, ‘दुई दिनसम्म चल्ने प्रशिक्षणले कर्मचारीहरुलाई धेरै कुराको जानकारी उपलब्ध गराउने छ ।
निप्सकै संयोजनमा आइतबार बाँकेका स्थानीय तहका प्रमुख, उपप्रमुखहरुसँग बीमा समितिले अन्तरक्रिया गरेको थियो । ‘बीमालाई स्थानीय तहमार्फत जनस्तरमा पुर्याउने उद्देश्य हो’, बीमा समितिले गरेको अन्तरक्रिया बारे निप्सका महासचिव श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘बीमा ऐन २०७५ आएपछि व्याप्त अन्योलतालाई बीमा समितिकै पदाधिकारीहरुको उपस्थितिमा यसखालका कार्यक्रमको आयोजनाले महत्वपूर्ण अवसरको सिर्जना गरेको छ ।’

महासचिव श्रेष्ठका अनुसार, निप्सका नेपालगन्ज च्याप्टर अध्यक्ष डिएन गिरीको अध्यक्षतामा सोमबार नै बैठक पनि गरिएको छ । बैठकपछि बीमा समितिका अध्यक्ष चापागाईलाई बीमा ऐन २०७५ का समस्याबारे ध्यानाकर्षण गराइएपछि ‘कमजोरीहरु सच्याउने’ प्रतिबद्धता प्राप्त भएको महासचिव श्रेष्ठले जानकारी दिए । बाँकेमा निर्जीवन तर्फ २० र जीवन बीमा तर्फ १९ वटा कम्पनीले काम गरिरहेका छन् ।








