अख्तियार दुरुपयोग अनुसन्धान आयोग वुटवलको सम्पर्क कार्यालय नेपालगन्जमा चालु आ.व. २०७६/०७७ को ६ महिनामा ४ सय ५८ वटा उजुरी परेका छन् । परेका उजुरी मध्ये १ सय ११ वटाको छानविन सकिएको अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिएका छन् । ‘३ सय ४७ वटा उजुरी अनुसन्धानमा रहेका छन्’, उनले भने ।

अख्तियारको सम्पर्क कार्यालयको कार्यक्षेत्र दाङ, बाँके र बर्दिया रहेको छ । जसमा सबैभन्दा बढी उजुरी बाँकेको रहेको सूचना अधिकारी पाण्डेले बताएका छन् । ‘बाँकेको २ सय १०, दाङको १ सय ४२ र बर्दियाको १ सय ६ वटा उजुरी परेका छन्’, उनले भने, ‘दाङका ३३, बाँकेको ५६, बर्दियाको २२ वटा उजुरीको अनुसन्धान सकेका छौं ।’
चालु आ.व.को ६ महिनामा संघीय कार्यालयका १ सय ३९, शिक्षाको १ सय २, वनका ५६, भूमिको ४०, स्वास्थ्यका २३ वटा उजुरी परेको छ । सबैभन्दा बढी उजुरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका कार्यालयको रहेको छ । १ सय ७९ वटा उजुरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परेको हो ।
अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले चालु आ.व.को ६ महिनामा १३ वटा स्टिङ अपरेशन गरी १८ जनालाई रंगेहात नियन्त्रणमा लिएको जानकारी दिएको छ । जसमा सबैभन्दा बढी स्टिङ बाँकेमा गरिएको छ । बाँकेमा गरिएको ७ वटा स्टिङ्ग अपरेशनमा ११ जना समातिएको सम्पर्क कार्यालयले जानकारी दिएको छ । अख्तियारले बर्दिया र दाङमा घुस सहित नियन्त्रणका लागि ३÷३ वटा स्टिङ अपरेशन गरेको थियो । स्टिङमा समातिएका १८ जनाबाट १४ लाख २२ हजार घुस रकम बरामद भएको थियो ।
अख्तियार सम्पर्क कार्यालयक प्रमुख गणेश गैरेले आफ्ना सुचना संयन्त्र, उजुरी र पत्रपत्रिकामा छापिएका समाचारहरुलाई उजुरीका रुपमा लिएर अनुसन्धान सुरु गर्ने गरेको जानकारी दिए । उनले मानव जीवनसँग जोडिने भएकाले भ्रष्टाचारको विषयमा अनुसन्धान गर्न समय लाग्ने गरेको बताए । ‘कुनै निर्दोषले सजाय भोग्न नपरोस् भनेर सुक्ष्म अध्ययन गर्ने गरेको छौं’, उनले भने ।
अख्तियारले आज मंगलबार २९ औं स्थापना दिवस मनाउँदैछ । त्यसै सन्दर्भमा सोमबार अख्तियारले नेपालगन्जमा पत्रकारहरुसँग भेटघाट तथा सुझाव संकलन कार्यक्रमको आयोजना गरेको थियो ।
प्रयोगशाला सञ्चालनमा ल्याउँदै अख्तियार, जनशक्ति थपिंदै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा प्रयोगशाला स्थापना अन्तिम चरणमा रहेको छ । प्रमाणको परीक्षणका लागि आवश्यक रहेको प्रयोगशाला केही दिनभित्रै सञ्चालनमा आउने सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेले जानकारी दिएका छन् । ‘प्रयोगशालाका लागि भवनको व्यवस्थापन गरिंदैछ’, उनले भने, ‘यसले प्रमाणको परीक्षण गरी परिणाम छिटो प्राप्त गर्न सकिन्छ ।’
सम्पर्क कार्यालयमा जनशक्ति समेत थप गरिने भएको छ । हाल २८ जनाको दरबन्दी रहेको सम्पर्क कार्यालयमा ४० जनाको दरबन्दी स्वीकृत भएको छ । हाल अनुसन्धानका लागि ३ जना मात्रै अधिकृतको दरबन्दी रहेको सम्पर्क कार्यालयमा अब ६ जना अनुसन्धान अधिकृत हुनेछन् ।
‘उजुरी बढ्दै गएपछि थप जनशक्तिको आवश्यकता महसुस गरिएको हो’, प्रमुख गैरेले भने, ‘जनशक्ति थपिएपछि परेका उजुरीको फस्र्यौटको परिणाम बढ्नेछ ।’








