बाँके : करोडौंको ब्राउन सुगर सहित दुई पक्राउ

बाँके प्रहरीले लागुऔषध विरुद्ध ठूलो सफलता हात पारेको छ । नेपाल–भारत समूहको जमुनाहबाट प्रहरीले शनिबार दुई छुट्टाछुट्टै घटनामा २ सय १८.५ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । शनिबार साँझ आधा घण्टाको फरकमा दुई जनालाई प्रहरीले लागुऔषध सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज माधव रिजालले जानकारी दिएका छन् ।


नेपाल–भारत सीमाको जमुनाह नाकाबाट मोटरसाइकलमा नेपाल छिरेका अब्दुल रसिद उर्फ चाँदबाबु २ सय ग्राम ब्राउन सुगर सहित फेला परेका हुन् । ‘हेल्मेटको भित्री भागमा रहेको फर्ममा लुकाएर ल्याएको लागुऔषध फेला पार्न सफल भएका हौं’, जमुनाह प्रहरी इन्चार्ज रिजालले भने । प्रहरीले चाँदबाबुले यसअघि पनि पटकपटक लागुऔषध भित्र्याएको आशंका गरेको छ ।


त्यस्तै अर्का नेपाली नागरिकलाई पनि १८.५ ग्राम ब्राउन सुगर सहित जमुनाह प्रहरीले शनिबार नै फेला पारको छ । कैलाली टिकापुरका शिवराज पुरी प्रहरी चेकजाँचका क्रममा लागुऔषध सहित फेला परेको जमुनाह प्रहरी इन्चार्ज रिजालले जानकारी दिएका छन् । ‘स्कुटरको मोडगार्डमा लुकाएर ल्याएको अवस्थामा ब्राउन सुगर फेला पारिएको हो’, उनले भने । जमुनाह प्रहरीले दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाएको छ ।
दुवैले त्यति ठूलो परिणामको लागु औषधी कहाँ र कसलाई दिनका लागि लग्दै थिए भन्ने अनुसन्धान गरिरहेको बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले जानकारी दिएका छन् । ‘नेपालगन्जमा लागुऔषध न्यूनीकरण गर्ने उद्देश्यले परामर्श केन्द्र सञ्चालनमा ल्याएपछि लागुऔषध विरुद्ध थप सक्रियताका साथ प्रहरी टोली खटिएको छ’, प्रहरी उपरीक्षक ओलीले भने ।


नेपालगन्ज नाका भएर नेपालका विभिन्न सहरहरुमा लागुऔषध तस्करी हुने गरेको छ । त्यसैले बाँके प्रहरीले सीमामा लागुऔषध भित्रिन नदिन छुट्टै प्रहरी टोली समेत खटाउँदै आएको छ । जिल्लामा लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषधका कारोबारी र सेवनकर्ता विरुद्ध कारवाही गर्दै आएको छ ।


भारतको बारावंकीमा सरकारको अनुमतिमै अफिम खेती हुने गरेको छ । औषधीको प्रयोजनका लागि उत्पादन हुने अफिम तस्करी भएर नेपाल आउने गरेको हो । कारोबारीले नेपालगन्जलाई ट्रान्जिट बनाएर विभिन्न जिल्ला लागुऔषध लैजाने गरेको पक्राउ परेकाहरुबाट खुल्ने गरेको छ । ठूलो परिणाममा लागुऔषध सहित समातिने कारोबारी भन्दा भरिया बढी हुने गरेका छन् ।

भारतीय लागुऔषध कारोबारीले रुपैडियासम्म र रुपैडिहाबाट नेपालीले ब्राउन सुगर भित्र्याउँदै आएका छन् । नेपालमा प्रहरीले कडाई गर्न थालेपछि पहिले सिधै नेपाल छिर्ने भारतीय कारोबारी अहिले रुपैडिहासम्म मात्र आउने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । रुपैडिहाबाट नेपालीले लागुऔषध भित्र्याउने गर्दा पछिल्लो समय पक्राउ पर्नेमा नेपालीहरु नै बढी पाइने गरेका छन् ।
बाँके प्रहरीमा विगत ५ वर्षको अवधीमा लागुऔषधका सात सय ८ वटा मुद्दाहरु दर्ता भएका छन् । ती मुद्दामा एक हजार एक सय २५ जना पक्राउ परेका छन् । बाँकेमा ३ हजारभन्दा बढी गाँजा र मदिरा बाहेकको लागुऔषध दुव्र्यसनीहरु रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया