संघको कमाण्ड समाल्यो नयाँ कार्यसमितिले

नेपालगन्ज उद्योग वाणिज्य संघको गत माघ ११ गते भएको मतदानबाट निर्वाचित नयाँ कार्यसमितिले आज शनिबार पदभार ग्रहण गरेको छ । संघका अध्यक्ष नन्दलाल वैश्यका अनुसार, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डि ढकाल, प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीको उपस्थितिमा नवनिर्वाचितहरुको शपथ ग्रहण गराइएको हो ।

संघमा अब्दुल वाहिद नेतृत्वको नवनिर्वाचित कार्यसमितिले शपथ लिएको हो । अब नयाँ कार्यसमितिको बैठकले दुई महिलाको मनोनयनसँगै जिम्मेवारी बाँडफाँट गर्नेछ । बैठकबाट प्रथम र द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, प्रवक्ता लगायतका जिम्मेवारी बाँडफाँट गरिनेछन् । ‘अध्यक्षले आफ्नो अधिकार प्रयोग गरी थप दुई जना मनोनित गर्ने वैधानिक व्यवस्था छ’, अध्यक्ष वैश्यले दैनिक नेपालगन्जसँग भने, ‘अनिमात्रै कार्यसमितिले पूर्णता पाउने छ ।’

केन्द्र जाने तयारीमा वैश्य

शनिबार शपथ ग्रहण कार्यक्रम लगत्तै निवर्तमान भएका अध्यक्ष वैश्यले अब केन्द्रीय सदस्य पदको तयारीमा आफु लाग्ने बताएका छन् ।

वैश्यले भने, ‘नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा उम्मेदवारी घोषणा गरेको छु ।’ त्यसैको तयारीमा प्यानल निर्माणका लागि आफु काठमाडौं पुगेर फर्किएको वैश्यले बताए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष अच्युत प्रसाईदेखि सुरु भएको उद्योग वाणिज्य महासंघको यात्रामा वैश्य पनि जोडिन लालायित भएका हुन् । प्रसाई पछि दामोदर आचार्य, सुनिल शर्मा र अहिले कृष्ण प्रसाद श्रेष्ठ नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी पछि महासंघको निर्वाचित हुन सफल भए ।


संघकै सिफारिसमा उम्मेदवार भएकी भवानी राणा अहिले महासंघको सर्वोच्च अध्यक्ष पदमा आसिन छन् । उनको कार्यकाल सकिंदैछ । आगामी फागुन २८ र २९ गते महासंघको निर्वाचन हुँदैछ । ‘निवर्तमान अध्यक्षलाई महासंघ सदस्यमा पठाउने हाम्रो परम्परा जस्तै बनिसक्यो’, अध्यक्ष वैश्यले आफु निवर्तमान हुनैलाग्दा महासंघको निर्वाचन तयारीमा जुटिसकेको जानकारी दिंदै भने ।

प्रतिक्रिया

प्रतिक्रिया