चुवाहट रोक्दै प्राधिकरण, समयमा महसशुल नतिर्ने साढे ७ सय बढी लाइन काटियो

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत चोरी, चुवाहट रोक्नका लागि नियमित अनुगमन सुरु गरेको छ । प्राधिकरणले ६ जना भन्दा बढी कर्मचारीलाई खटाएर मुख्य मिटर, एमसीबी, विद्युत चोरी भए÷नभएको अनुगमन गरिरहेको वितरण केन्द्र प्रमुख लखन लला मल्लिकले जानकारी दिएका छन् । गत बर्ष ११.०२ प्रतिशत रहेको विद्युत चुहावट यस बर्ष घट्दै गएको छ । प्राविधिक कारणले पनि विद्युत चुवाहट हुन्छ । त्यसैले ८.३ प्रतिशतसम्मको चुहावटलाई सामान्य मानिन्छ । चालु आ.व.को पुससम्म ६.९९ प्रतिशत चुवाहट रेकर्ड गरिएको वितरण केन्द्र प्रमुख मल्लिकले जानकारी दिएका छन् । जुन मंसिर महिनासम्म ६.०१ प्रतिशत रहेको थियो । यद्यपि, गर्मीयाममा भने प्राविधिक कारणले चुवाहट केही प्रतिशत बढ्न सक्ने सम्भावना रहेको मल्लिकले बताए ।


मंगलबार आफ्नै कार्यकक्षमा भेटिएका वितरण केन्द्र प्रमुख मल्लिक मिटर रिडरहरुलाई निर्देशक दिंदै थिए । कर्मचारीहरुलाई चुवाहट बढेको भन्दै कडाईका साथ अनुगमन गरेर रिपोर्ट दिन निर्देशन दिंदै मल्लिकले ‘गडबढी भेटिए शुन्य सहनशीलता’ अपनाउन निर्देशन गरेका थिए । ‘कसैको दबाब, प्रभावमा नपर्नुस्’, उनले कर्मचारीहरुसँग भने, ‘अप्ठ्यारो परे सिधै मलाई सम्पर्क गर्नुहोस् ।’


प्राधिकरणले पुराना मिटरहरुले सहीसँग काम नगरेकाले परिवर्तन गर्दै गएको जानकारी दिएको छ । ‘पुराना मिटरको डिस्क लो भोल्टेजमा नघुम्ने समस्या पाइन्छ’, वितरण केन्द्र प्रमुख मल्लिकले भने, ‘रिडरहरुलाई त्यसको अनुगमन गरी बिग्रेका मिटर तत्काल परिवर्तनका लागि जानकारी गराउन निर्देश गरेका छौं ।’ चालु आ.व. ३ सय ३५ वटा पुराना मिटरलाई डिजिटल मिटरसँग बदली गरेको मल्लिकले बताए । सिंचाईका लागि विद्युत लाइन लिएर घरायसी प्रयोग गर्नेहरु विरुद्ध पनि प्राधिकरणले निगरानी गरिरहेको मल्लिकले जानकारी दिएका छन् । उनले त्यसरी ठगी भेटिए २५ प्रतिशत थपेर जरिवाना गर्दै आएको बताए ।


प्राधिकरणले चालु आ.व.मा चुवाहट सम्बन्धी ३१ वटा कारवाही गरेको छ । जसबाट ४ लाख २१ हजार १ सय ६ रुपैयाँ असुल गरेको प्राधिकरणले जानकारी दिएको छ । त्यसबाहेक छुटेको बिलिङ्गबाट २ करोड २० लाख ३३ हजार ८९ रुपैयाँ असुल गरेको वितरण केन्द्र प्रमुख मल्लिकले बताए ।


वितरण केन्द्र प्रमुख मल्लिकले अनुगमनका क्रममा त्रुटि भेटिए अञ्जानवश वा सुनियोजित भएको ठम्याएर कारवाही गरिरहेको बताएका छन् । ‘कतिपय एरियामा धेरै मिटरहरुमा सिल नलगाएको भेटिएको छ’, उनले भने, ‘त्यसलाई दुरुस्त बनाउँदै लगेका छौं ।’ उनले कुनै पनि हालतमा विद्युत चोरी प्राधिकरणले नसहने बताए ।


प्राधिकरणले विद्युत महसुल असुलीलाई पनि नियमित बनाउँदै गरेको वितरण केन्द्र प्रमुख मल्लिकले बताए । ‘दबाब र प्रभावका कारण बर्षौसम्म महसुल नतिर्ने प्रवृत्तिको अन्त्य गर्दै लगेका छौं’, उनले भने, ‘चालु आ.व.मा समयमा महसुल नतिर्ने ७ सय ५१ जनाको लाइन काटेर जरिवाना सहित १ करोड २३ लाख ५८ हजार ४ सय ३६ रुपैयाँ असुल गरेका छौं ।’ चालु आ.व.मा १ हजार ६ वटा लाइन रिकनेक्सन गरेको जानकारी दिंदै मल्लिकले १ करोड ७२ लाख १५ हजार २ सय ८० रुपैयाँ महसुल संकलन भएको बताए ।

अझै १ करोड ३८ लाख उठ्न बाँकी

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले पुरानो महसुल १ करोड ३८ लाख रुपैयाँ उठाउन बाँकी रहेको छ । प्राधिकरणले यसअघि कडाई गरेर करोडौं असुले पनि चालु आ.व.मा उल्लेख्य रुपमा पुरानो महसुल असुल गर्न सकेको छैन ।


नेपालगन्ज वितरण केन्द्र प्रमुख लखन लला मल्लिकले पुरानो बक्र्यौता रहेका धेरै सेवाग्राहीको तीन पुस्ते विवरण नहुँदा असुलीमा समस्या भैरहेको बताए । ‘हामी पुरानो बक्र्यौता असुलीमा प्रयासरत् छौं’, उनले भने, ‘पुराना सेवाग्राही खोज्नका लागि रिडरहरुसँग नियमित छलफल गरिरहेको छु ।’ उनले यसअघि मन्दिर, मस्जिद, अस्पताल जस्ता संस्थाहरुको धेरै बक्र्यौता हुने गरेकोमा असुली हुँदै गएको बताए ।


प्राधिकरणले चालु आ.व.मा कालोसूचिमा रहेका ३ जना ग्राहकबाट २५ लाख रुपैयाँ असुल गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया