‘लागु औषध अपराधको मुख्य कारण’

नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले लागुऔषध दुव्र्यसनी अपराधको मुख्य कारण भएको बताएका छन् । नेपालगन्जमा लागुऔषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि सञ्चालनमा आएको कानुनी तथा मनोसामाजिक परामर्श केन्द्र एवं प्रहरी विधी विज्ञान प्रयोगशालाको उद्घाटन गर्दै खनालले लागुऔषधले समाजलाई भित्रभित्रै खोक्रो र अपराधिकबनाईरहेको भन्दै त्यसतर्फ सबै सचेत हुनआग्रह गरे । उनले बलात्कारका अपराधमा समेत लागुऔषध दुव्र्यसनीहरु सबैभन्दा बढी संलग्नता पाइएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको बताए ।


लागुऔषधको समस्या भयावह बन्दै गएको प्रष्ट्याउँदै खनालले भने, ‘लागुऔषध दुव्र्यसनीहरु भएको घरका सदस्य यति तनावमा छन् कि उनीहरुलाई राती निद्रा पर्दैन, न उनीहरु खुलेर आफ्नो पीडा पोख्न पाउँछन् । समाजमा बस्नेहरु पनि निर्धक्क हिडडुल गर्न सक्दैनन् । अपराधको जरो गएर लागुऔषधमै जोडिन्छ । राज्यले यसबाट ब्यहोर्नु परेको क्षति झनै विकराल छ ।’ लागुऔषध दुव्र्यसनीका परिवारका सदस्यहरु आफैले प्रहरीले नै लगेर थुनिदेओस भन्ने चाहना राख्ने गरेको बताउँदै खनालले भने, ‘लागुऔषधले हाम्रो समाज भित्रभित्रै खण्डित भइरहेको छ ।’
खनालले लागुऔषध दुव्र्यसनीको नियन्त्रण मात्रै नभई निर्मुलीकरणको उद्देश्य लिएर समाजका सबै सरोकारवालाहरु लाग्नुपर्नेमा जोड दिए । त्यसका लागि पहिलो प्रयास दुव्र्यसनी हुनै नदिने तर्फ हुनुपर्नेमा उनको जोड छ । प्रहरीले लागुऔषध प्रयोगकर्तालाई कस्टडीमा राखेर मात्रै समस्याको समाधान नहुने र त्यसलाई कानुनले नै बन्देज गरिसकेको भन्दै खनालले यसको विषयमा सबैमा प्रभावकारी परामर्शको आवश्यकता औँल्याए । त्यसकै लागि नेपालगन्जमा मनोसामाजिक तथा कानुनी परामर्श सञ्चालनमा ल्याइएको भन्दै खनालले जो कसैले पनि निःशंकोच केन्द्रमा सम्पर्क राखि सेवा लिन सक्ने जानकारी दिए ।


लागुऔषध नियन्त्रणका लागि आपूर्ति नै निर्मुल पार्नुेर लागु औषध तस्करहरुलाई कारबाहीको दायरामा ल्याउन प्रहरी केन्द्रित भएको बताए । ‘समाजलाई खोक्रो बनाउने र अपराधको दलदलमा फसाउने लागुऔषधको कारोबार गरि धन सम्पत्ति कमाउन उद्दत लठैत र अपराधीहरुको सात्तो खानु आवश्यक छ । यो भन्दा निकृष्ठ काम हुनै सक्दैन । अब आफ्नो ध्यान त्यस्ता अपराधीहरुलाई कानुनको कठघरामा ल्याउनतिर केन्द्रित गर्न म प्रहरी साथिहरुलाई निर्देशन दिन्छु,’ खनालले भने । लागुऔषधको ओसारपसारमा ठुलो गिरोह नै सक्रिय रहेको र एम्बुलेन्समा समेत लागुऔषध ओसारपसार भइरहेको प्रहरीले फेला पारेको पनि खनालले बताए ।
बाँके जस्ता भारतसँग सिमा जोडिएका जिल्लाहरुमा एकातर्फ मात्रै नियन्त्रणका प्रयासहरु भएर नहुने भन्दै खनालले दुबैतर्फ यस विषयमा ठोस काम हुनुपर्ने बताए । त्यसका लागि प्रहरीले सरोकारवालाहरुसँग सहकार्य गरिरहेको उनको भनाई छ । खनालले नेपाल प्रहरीले लागुऔषधको परामर्श केन्द्र सञ्चालन गर्ने र यसविषयमा सचेतीकरण गर्ने अभियान नै सञ्चालन गरेको जानकारी दिँदै समाजमा रहेका रहेक संघसंस्था र विशेषगरि विद्यालयहरुमा अभियानलाई केन्द्रित गरिएको बताए । उनले देशभरमा ७० लाख विद्यार्थीहरुसम्म लागुऔषध दुव्र्यसनीका विषयमा सचेतिकरणका कार्यक्रम लिएर प्रहरी पुग्ने बताए ।


विद्यालय र पुनस्र्थापना केन्द्रमै बेचिन्छ लागुऔषध !

लागुऔषध नियन्त्रणका चु्नौतीका विषयमा धारणा राख्दै खनालले विद्यालय र पुनस्र्थापना केन्द्रहरुमा नै लागुऔषध बेच्ने गरिएको पाइएको खुलासा गरे । कतिपय निजी विद्यालयहरुमा राखिएका अनुशासन इन्चार्जहरुले नै विद्यार्थीहरुलाई लागुऔषध बेच्ने गरेको फेला परेको खनालले बताए । ‘विद्यालयमा अनुशासन कायम गर्न भनेर राखिएको छ । उसैले विद्यार्थीहरुलाई फकाई फुलाई ड्रग्स बेच्ने र पछि दुव्र्यसनी नै बनाएपछि पैसा लिएर ड्रग्स बेच्ने गरेको भेटिएको छ,’ खनालले अभिभावकहरुलाई महंगो शुल्क तिरेको र बाहिरबाट हेर्दा ठिकठाक देखिएको भन्दै ढुक्क भएर नबस्न आग्रह गर्दै भने । उनले विद्यालयमा मात्रै नभई लागुऔषध दुव्र्यसनीहरुलाई सुधार्न भनि स्थापना भएका पुनस्र्थापना केन्द्रमै पनि लागुऔषध बेचिने गरेको फेला परेको पनि खुलासा गरे । उनले सबै पुनस्र्थापना केन्द्रले दुव्र्यसनीको सहि उपचारपद्धती नअपनाइरहने गरेको पाइएकोले बाँकेमा पनि त्यस विषयमा प्रभावकारी अनुगम नगर्न प्रशासनलाई आग्रह गरे । ‘लागुऔषधको लत छुटाउन औषधी नै प्रयोग गर्ने गरिएको समेत पाइएको छ । त्यहाँभित्र उनीहरुलाई परामर्श भन्दा बढि यातना दिने गरेको पनि पाइएको छ,’ खनालले भने, ‘पुनस्र्थापना केन्द्रहरु आर्थिक नाफा कमाउने उद्देश्यले सञ्चालित हुन हुँदैन । यस विषयमा प्रशासनले अनुगमनगरि नियमन गरोस् ।’


महानिरिक्षक खनालले नेपालगन्जका अस्पताल र विद्यालय वरिपरि नै मदिराको कारोबार भइरहेकोले त्यसलाई तत्काल रोक्न निर्देशन दिए । विद्यालय र अस्पताल परिसर वरीपरी मदिरा र सुर्तीजन्य पदार्थ बेच्न दिएर लागुऔषध नियन्त्रणको काम सफल नहुने खनालको भनाइ छ । उनले त्यस्ता कारोबारहरु हटाउनका लागि सहयोग गर्न नेपालगन्ज उपमहानगरपालिका र सरोकारवालाहरुलाई आग्रह गरे ।

प्रतिक्रिया

प्रतिक्रिया