सिमसार शब्दको “सिम” ले पानी नसुक्ने जमीन भन्ने बुझाउँछ । भूमिगत जलस्रोत वा वर्षात्का कारण पानीको परिणाम रहने वा प्राकृतिक वा मानव निर्मित, स्थायी वा अस्थायी जमेको वा वगेको, स्वच्छ वा नुनिलो पानी भएको धापिलो जमिन , दलदले जमिन, नदीबाट प्रभावित जमिन , ताल , पोखरी जलभण्डार क्षेत्र, र कृषि जमिन समेतलाई सिमसार भनिन्छ । नेपालका सबै सिमसारहरुको विस्तृत अध्ययन नभए पनि नेपालको ५ प्रतिशत क्षेत्रफल सिमसारले ढाकेको अनुमान छ । तराईको समथर भूभागदेखि हिमालको उच्च पहाडी भू भागसम्म पाइने विविध पारिस्थितिक प्रणाली भित्र सिमसार क्षेत्रहरू विद्यमान रहेका छन् । ५ नं. प्रदेश सिमसारको दृिष्टमा सम्पन्न मानिन्छ । तराईको समतल भूमिदेखी महाभारत लेकसम्म फैलिएको ५ नं. प्रदेशका सबै १२ जिल्लाहरुमा कुनै न कुनै किसिमका सिमसारहरु रहेका छन् ।
नदीका जलाधार क्षेत्रहरु, प्राकृतिक तालतलैया, धापिला खेतहरु प्रदेशका मुख्य सिमसारहरु हुन्, जसले ५ नं. प्रदेशलाई निरन्तर पानी उपलब्ध गराएर हराभरा बनाइरहेका छन् । यस प्रदेशमा ३२ वटा मुख्य जलाधार प्रणालीहरु रहेका छन्, जस अन्तर्गत ४४ वटा नदि तथा खोलाहरु रहेका छन् । पश्चिम रापति जलाधार क्षेत्र प्रदेशको मुख्य जलाधार क्षेत्रको रुपमा रहेको छ, जसले प्रदेशको ३५.५३ प्रतिशत भुभाग ओगटेको छ । त्यसैगरी बाणगंगा तिनाउ जलाधार क्षेत्रले प्रदेशको २२.५१ प्रतिशत र बबई मानखोला जलाधार क्षेत्रले १७.०८ प्रतिशत क्षेत्र ओगटेका छन् । यी जलाधार क्षेत्रमा रहेका सानाठूला खोला नदीहरुले प्रदेशमा सिचाई पु¥याउन महत्वपूर्ण भूमिका खेलेका छन् । प्रदेशमा ३१६ हजार हेक्टर भूमिमा सिचाई पु¥याउने गरि ५४१ वटा सिचाई प्रणाली संचालनमा रहेका छन् । यी मध्ये अधिकांश सिचाई प्रणालीहरु नदि र ताल जस्ता सिमसारमै आधारित रहेका छन् ।
सिमसारको दृष्टिले कपिलवस्तु जिल्ला सबैभन्दा सम्पन्न छ । यहाँ तीन सय ५१ ताल तलैया रहेका छन् । यहाँ रामसार सुचिमा सुचिकृत एवं नेपालको सबैभन्दा ठूलो कृत्रिम ताल जगदिशपुर ताल रहेको छ । सिचाईको लागी बनाईएको यो ताल जैविक विविधताले भरिपूर्ण र आकर्षक भएकोले अनुसन्धानकर्ता र पर्यटकहरुको रोजाईको स्थान बनेको छ । यो ताल बाहेक अजिगरा तालसेखुबनिया जलाशय, हरिहरपुर ताल, बुड्डी ताल, देउरी ताल, बृजवान ताल, निग्लिहवा ताल, शंकरपुर ताल र लम्बुसागर (सगरहवा ताल) पनि कपिलवस्तु जिल्लामा रहेका छन् ।
कपिलवस्तुसंगै सिमा जोडिएको रुपन्देही जिल्लामा गजेडी ताल, गैंडहवा ताल, बड्की ताल, कर्महवा ताल, कपरकट्टी ताल, पोखरा ताल लगायत दुई सय ८९ ताल रहेका छन् । यहाँका तिनाउ, दानो, कन्चन , रोहिणी नदि र डण्डा नदीका जल क्षेत्रहरु र लुम्बिनीमा रहेको धापिलो घाँसे क्षेत्र (सारस संरक्षण क्षेत्र) पनि सिमसारको दृष्टिले महत्वपुर्ण छन् । नवलपरासी जिल्लामा बुद्धमंगल ताल, नन्दन ताल, झरही खोला, तुरिया खोला र गण्डक नहरको कारणले बनेका धापिला खेत र पोखरीहरु रहेका छन् । यी ताल तलैयाहरुले सिंचाई, मत्स्यपालन, पशुपालन र जीविकोपार्जनमा स्थानीयलाई सघाइरहेका छन् ।
राप्ती र ववई जस्ता ठूला नदिहरु दाङ्ग जिल्ला भै वग्ने भएकोले प्रदेशकै ठूलो जलाधार क्षेत्र दाङ जिल्लामा रहेको छ । यी नदीहरु वाहेक यस जिल्ला भएर वग्ने खोला नालाहरुमा कटुवा खोला, सिस्ने खोला, सेवार खोला, हापुर खोला, पत्रे खोला, संग्राम खोला, ग्वार खोला, पातु खोला, अर्जुन खोला, आदी प्रमुख हुन् । त्यसैगरी जिल्लाका प्रमुख ताल, तलाउ तथा दहहरुमा बाह्रकुने दह, तप्त कुण्ड, जखेरा ताल, चरिङ्गे दह, भोटे दह, किचेनी दह, ज्यामिरे दह, पर्दछन् । यि बाहेक घोराही उमनपाले एक दर्जन कृत्रिम तालहरु पनि निर्माण गरेको छ । दाङ्ग जिल्लामा नदि र ताल तलैयाहरु भएपनि तिनीहरुको उपयोग न्यून छ । पछिल्ला वर्षहरुमा यहाँका जखोरा ताल, बाह्रकुने तालमा पर्यटकीय चहलपहल भएपनि अन्य तालहरुको संरक्षण र व्यवसायिक प्रयोग हुन् सकेको देखिदैन ।
बर्दिया जिल्लामा कर्णाली नदीको जलाधार क्षेत्र बाहेक १०५ बिगाहा क्षेत्रफलमा फैलिएको बढैयाताल र प्राकृतिक रुपमा रहेको २०० बिगाहा क्षेत्रफलमा फैलिएको सतखोलवा ताल, ताराताल रहेका छन् । बाँके जिल्लामा ठुला तालहरु छैनन् तर राष्ट्रिय ताल संरक्षण समितिका अनुसार यहा २४३ वटा साना ताल तलैयाहरु रहेका छन् । यी बाहेक बाँके जिल्लामा राप्ति, बबई र मानखोलाको जलाधार क्षेत्रमा प्रसस्त साना तालहरु र धापिला जमिनहरु पाइन्छन् । राष्ट्रिय निकुन्जलाई हराभरा बनाउन र परम्परागत सिचाइमा सहयोग पु¥याउने काम बाहेक बाके र बर्दियाका नदि, तालहरुको व्यवसायिक उपयोग हुन सकेको भने देखिदैन ।
५ नं. प्रदेशका पहाडी जिल्लाहरु गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा जिल्लामा ठूला सिमसार कम भएपनि जैविक विविधता र अन्य दृष्टिले ति महत्वपूर्ण छन् । पाल्पा जिल्लाको अन्न भण्डार भनिने माडी फाँटको दलदल जमिन ठूलो प्राकृतिक सिमसार क्षेत्र तिनाउ नदीको मुहान हो । प्रभासमा रहेको कमल पोखरी, पाल्पा कै उच्च पहाडी भागमा रहेको सत्यवती ताल र जिल्लाको पूर्वी केन्द्र रामपुरमा रहेको ताल पोखरा अहिले धार्मिक र पर्यटकीय गन्तब्य बनिरहेका छन् । अर्घाखाँची जिल्लामा रहेका पाणिनी दह र ठाडाको दह धार्मिक रुपबाट महत्वपूर्ण मानिन्छन भने गुल्मी जिल्लामा रहेको ठिमुरे दह प्रवल पर्यटकीय सम्भावना बोकेको ताल हुँदाहुँदै पनि कुनै उपयोगमा आउन सकेको देखिदैन । रोल्पा जिल्लामा माडीखोला, लुग्रींखोला, जिनावाङखोला लगायत एक दर्जन खोलाहरु रहेका छन् भने प्युठान जिल्लामा धर्मावती (झिम्रुक), माण्डवी , राप्ती र यिनका सहायक नदीका आसपासका समतल भुभागहरु सिमसारका रुपमा रहेका छन् । रुकुम पूर्वमा सानी भेरी नदि र नेपालकै प्रसिद्ध कमल दहका साथै छिप्री दह रहेका छन् । विगतमा कमलको डाठ र फूल संकलन गर्ने थलोको रुपमा मात्र सिमित कमल दह पछिल्लो समयमा पर्यटकीय गन्तब्य पनि बनिरहेको छ ।
सिमसार क्षेत्रलाई कृषि उत्पादनको दृष्टिले उर्वर भूमि र जैविक विविधताको दृष्टिले अत्यन्तै धनी क्षेत्रका रुपमा लिइन्छ । सिमसारले धैरै किसिमका प्राणी र वनस्पतिलाई वासस्थान प्रदान गर्दछ । जीवजन्तु एवं वनस्पतिको विविधताका लागि सिमसारले महत्वपूर्ण भूमिका खेल्दछ । भूमिगत जलस्रोत र पानीका अन्य स्रोतहरू कायम राख्न, पहिरो रोकथाम गर्न र पोषकतत्वको चुहावट रोक्न सिमसारको अह्म भूमिका रहन्छ । कृषि उत्पादन , पर्यटन, जलविद्युत र पर्यावरण सन्तुलनमा सबै किसिमका सिमसारहरुलाइ उपयोग गर्न सकिने भएपनि अहिले सम्म ५ नम्बर प्रदेशका सिमसारहरुबाट अति न्यून मात्रामा मात्र लाभ लिन सकिएको छ । सिचाईलाई प्राथमिकता दिएर ठूला नदिहरुकम निर्माणाधिन सिचाई आयोजना संपन्न भएपछि पक्कैपनि प्रदेशले लाभ लिन सक्नेछ । रुपन्देहीको रोहिणी नदीमा बहु उद्धेश्यीय जलाशय बनाउने राम्रो शुरुवात भएपनि सम्भावना बोकेका अन्य खोलाको बहुप्रयोग सम्बन्धमा ध्यान पुग्न सकेको छैन । यहाँका खोला नदीहरुमा जल पर्यटनका गतिविधिहरु संचालन गर्न, जल विद्युत उत्पादन गर्न सकिने देखिन्छ ।
पछिल्लो समयमा यहाँका ताल र प्राकृतिक पोखरीहरुमा पर्यटकको आकर्षण बढेको पाइएको छ । रुपन्देहीकै नन्द भाउजु, गैडहवा र दानापुर ताल, कपरकट्टि ताल कपिलवस्तुको जगदीशपुर ताल, अर्घाखाचीको ठाडा दह, गुल्मीको ठिमुरे दह, दांगको जखोरा ताल र बाह्रकुने ताल, बर्दियाको बढैया तालमा विस्तारै पर्यटकहरु बढ्न थालेका छन् । केहि तालहरुमा समुदायको चासो बढेकोले संरक्षण र प्रचार प्रसारका कार्यहरु हँुदै जाँदा पर्यटकीय लाभ लिन सकिने भएको छ तर अधिकांश ताल तलैयाहरु समुदाय र सरकारकै वेवास्ताको कारणले अतिक्रमण परेर, भूक्षयको चपेटामा परेर नासिदै पुरिदै गैरहेका छन् । प्रदेशमा रहेका सम्पूर्ण तालतलैयाको नक्शांकन, तालिकिकरण र संरक्षणका कामहरु बेलैमा थालिएन भने आउदो दशक भित्रैमा अधिकांश तालतलैयाहरु चौर र खेतबारीमा परिणत नहोलान भन्न सकिदैन ।
सिमसार मासिदै जादा धेरै सभ्यता र सम्भावनाहरु पनि मासिने निश्चित छ । त्यसैले प्रदेशमा उपलब्ध सबै जलक्षेत्र र सिमसारको उचित संरक्षण र उपयोग गर्ने कुरामा स्थानीय र प्रदेश सरकार तत्कालै अघि सर्नु आवश्यक छ ।