नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवार विश्लेषण गर्दा वस्तुगत व्यवसायीको सहभागिताका सवालमा समावेशीता अभाव देखिएको छ । महिला सहभागिताका दृष्टिले समावेशी नभएको विषयमा दैनिक नेपालगन्जले विश्लेषण प्रकाशित ग¥यो । व्यवसायिक दृष्टिले उम्मेद्वारको प्रतिनिधित्वमा पनि निर्वाचन समावेशी हुन सकेको छैन ।
नेपालगन्ज उद्योग वाणिज्य संघमा हाल २५ वटा वस्तुगत व्यवसायी संघहरु आवद्ध छन् । ति मध्ये दुईवटा बाहेक सबै संघहरु फरक–फरक वस्तुगत उद्योगी, व्यापारीहरु आवद्ध संघहरु हुन । तर संघको निर्वाचनमा होमिएका दुईवटै प्यानलमा ३० जना मध्ये जुत्ता चप्पल तथा कपडा व्यवसायबाट मात्रै छ जना व्यवसायीहरुको प्रतिनिधित्व छ । जुत्ता चप्पल तथा कपडा पछि किराना व्यवसायबाट तीन जना, इलेक्ट्रोनिक, खाद्य उद्योग, दुग्ध÷मासुजन्य,स्टेशनरी,मदिरा र प्रिन्टिङ प्रेससँग सम्बन्धित व्यवसायीहरु दुई–दुइ जना छन् । दुबै प्यानलबाट व्यवसायिक प्रतिनिधित्व हेर्दा जुत्ता चप्पल तथा कपडा, किराना, खाद्य उद्योग, दुग्ध÷मासुजन्य, प्रिन्टिङ प्रेस, इलेक्ट्रोनिक, इलेक्ट्रिकल, गार्मेन्ट,प्लाष्टिक, स्टेशनरी, पेट्रोलियम, मदिरा, ढुवानी, जडिबुटी गरि १४ किसिमका वस्तुगत उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व आसन्न निर्वाचनमा होमिएको देखिन्छ ।
अब्दुल वाहिद मन्सुरी नेतृत्वको समावेशी प्यानलमा कपडा व्यवसायीको बर्चस्व छ । उक्त प्यानलमा १५ जनामध्ये चार जना जुत्ता चप्पल तथा कपडा व्यवसायीहरु मात्रै छन् । किराना, स्टेशनरी र इलेक्ट्रोनिक सामानको व्यापारमा संलग्न दुई–दुई जना व्यवसायीहरु समावेश रहेको समावेशी प्यानलमा बिजुली, मदिरा, प्लाष्टिक संग सम्बन्धित वस्तुहरु बिक्रिमा संलग्न एक–एक जना व्यवसायीहरुको प्रतिनिधित्व छ भने एक जना गार्मेन्ट उद्योगीर एकजना प्रिन्टिङ प्रेस सन्चालकहरु पनि सहभागी छन् । ‘शुरुदेखिनै हामीहरु स्टेशनरीलाई प्राथमिकतामा राख्दै आयौं,’ संघका वरिष्ठ सदस्य बसन्त लामिछानेले दैनिक नेपालगन्जसँग भने, ‘अहिलेको कार्यसमितिमै पनि स्टेशनरीबाट लामिछाने र नारायण ज्ञवाली छन् ।’ विजय भण्डारी (वासु) र मन्दिरा पाण्डे स्टेशनरीबाट यसपाली उम्मेदवार छन् ।
साझा प्रजातान्त्रिकमा तुलनात्मक रुपले व्यवसायीहरुको प्रतिनिधित्व देखिन्छ । उक्त प्यानलमा खाद्य उद्योग, दुग्ध÷मासुजन्य र जुत्ता चप्पल व्यवसायबाट दुई–दुई जना छन भने अरु व्यवसायबाट एक–एक जनाको प्रतिनिधित्व छ । जसमा डिपार्टमेन्टल स्टोर, प्रिन्टिङ प्रेस, पेट्रोलियम, मदिरा, ढुवानी, जडिबुटी, किराना, इलेक्ट्रिकल व्यवसायीहरु छन् ।
नेपालगन्जमा ठुलो लगानीका व्यापार व्यवसायमा संलग्न व्यवसायीको प्रतिनिधित्व भने संघको आसन्न निर्वाचनमा देखिएको छैन । जसमा साइकल, सुनचाँदी, सौन्दर्य कला, ईट्टा उद्योगी व्यवसायीबाट एकजनाको पनि प्रतिनिधित्व हुन सकेको छैन । होटल व्यवसायबाट समावेशीले भिम कंडेललाई वस्तुगत तर्फको प्रतिनिधित्व गराएको छ । सौन्दर्यकला व्यवसायी संघ नेपालगन्जका अध्यक्ष दुर्गा अधिकारीले व्यवसायिक मात्रै नभई महिला समावेशिता पनि नभएको टिप्पणी गरिन् । अध्यक्ष अधिकारीले बाँकेमा करिब दुई सय सौन्दर्य कला व्यवसायीहरु रहेपनि निर्वाचनमा समेट्न नसकिए बाँकेमा करिब ७ सय ८० भन्दा बढि सानादेखि ठुला होटेलहरु सन्चालनमा रहेको होटेल व्यवसायी संघ बाँकेले जनाएको छ । ति मध्ये संघमा १९४ बढी होटेल व्यवसायीहरु आवद्ध छन् । तर, होटेल व्यवसायीका तर्फबाट उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा होमिएका ३० जनाभित्र एकजनाको पनि प्रतिनिधित्व छैन । होटेल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कंडेल सम्बद्ध संघको तर्फबाट समावेशी प्यानलबाट होटेल व्यवसायीहरुको प्रतिनिधित्व भएको बताउँछन् । चुनावमा तामेल मिलाउँदा सबै व्यवासयिक प्रतिनिधित्व गराउन नसकिने उनको भनाइ छ ।
नेपालगन्जमा साइकलको होलसेलसम्मको व्यापार हुन्छ । साइकल व्यवसायी संघ बाँकेमा एक सय भन्दा बढि व्यवसायीहरु आवद्ध रहेको साइकल व्यवसायी संघका सचिव मोहम्मद सरिफ बागवानले जानकारी दिए । तर, दुईवटै प्यानलमा साइकल व्यवसायीको प्रतिनिधित्व छैन । बागवानले राजनीतिक आस्थाका आधारमा चुनावी प्यानल बन्दा व्यवसायिक प्रतिनिधित्व हुन नसकेको बताए । ‘मैले एउटा प्यानलसँग आफुहरुको पनि प्रतिनिधित्व हु्नुपर्ने भनेर दाबी गरेको थिए, तर वास्ता नै गरिएन,’ राजनीतिक बर्चस्व भएकाहरुले मात्रै उम्मेदवार हुन पाउने अवस्था सृजना भयो,’ बागवानले दैनिक नेपालगन्जसँग भने । व्यवसायिक चुनावमा राजनीति भन्दा व्यवसायिक कुशलता एवं नेतृत्व क्षमताको आधारमा मुल्यांकन हुनुपर्ने उनले बताए ।
नेपालगन्जमा सुनचाँदी व्यवसाय पनि एक नेतृत्वदायी व्यवसाय हो । उद्योग वाणिज्य संघमै एक सय ५० भन्दा बढि सुनचाँदी व्यवसायीहरु आवद्ध छन । सुनचाँदी व्यवसायीहरुले सुनको उपलब्धतामा नीतिगत समस्याहरु रहेको बताउँदै आएका छन् । उक्त समस्या समाधानका लागि आवाज उठाउन पनि उद्योग वाणिज्य संघको निर्वाचनमा सुनचाँदी व्यवसायीहरुको प्रतिनिधित्व हुनुपर्ने सम्बद्ध व्यवसायीको भनाइ छ । तर, सुनचाँदी व्यवसायबाट पनि चुनावमा अपेक्षित प्रतिनिधित्व छैन । सम्बद्धबाट सुनचाँदी व्यवसायी संघ नेपालगन्जका अध्यक्ष सलाउद्धिन जसगढले उम्मेदवारी दिएका छन् । आफै राप्रपाका नेता जसगढ समस्या समाधानका लागि भन्दा पनि राजनीतिक आस्थाका आधारमा नेतृत्व क्षमताको मुल्यांकन हुँदा सुनचाँदी व्यवसायीहरुको अपेक्षित प्रतिनिधित्व हुन नसकेको बताए ।
प्रष्ट छ, उद्योग र वाणिज्यका हिसाबले पनि संघको आसन्न निर्वाचन समावेशी छैन । दुईवटै प्यानलमा आठ जना उद्योग तर्फका व्यवसायी छन भने बाँकी सबै वाणिज्य तर्फका व्यवसायी छन् । साझा प्रजातान्त्रिकमा ६ जना उद्योगी व्यवसायीको प्रतिनिधित्व हुँदा समावेशीमा भने २ जनामात्रै उद्योग तर्फका व्यवसायीहरुको प्रतिनिधित्व छ ।
भूगोलमा पनि दुवै प्यानलको उम्मेदवारी समावेशी छैन । बाँके जिल्लाकै निजी क्षेत्रको नेतृत्वदायी संघ भएपनि चुनावमा दुबै प्यानलले नेपालगन्ज बजारका व्यवसायीलाई मात्रै अवसर दिएका छन् ।
दुबै प्यानलको उम्मेदवारी छनोटमा मुख्य भुमिका खेलेका अगुवाहरु पनि चुनावमा समावेशीताको सवाल पेचिलो बन्दै गइरहेको स्वीकार्छन् । साझा प्रजातान्त्रिकको उम्मेदवार छनोट समितिका संयोजक गोपाल अधिकारीले संघमा ठुलो उद्योगीहरु समावेश हुने वातावरण सृजना हुन नसकेको बताए । उनले अबको नेतृत्वले संघमा ठुला उद्योगीहरुलाई पनि आबद्ध हुनेगरि साख बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व भएमा मात्रै वास्तविक समस्याहरु बहसमा आउने व्यवसायीहरु बताउँछन् । त्यसका लागि व्यवसायीहरु राजनीतिक आस्थाका आधारमा नभई व्यवसायिक मुद्धाका आधारमा चुनावी ध्रुविकरणमा जानुपर्ने व्यवसायीहरुको मत छ । समावेशी प्यानलका सचिव वसन्त लामिछाने पनि व्यवसायिक, लैङ्गीक र क्षेत्रगत सहभागितालाई आगामी निर्वाचनमा विशेष ख्याल गर्नुपर्ने बताउँछन् । ‘आगामी नेतृत्वले नसमेटिएका व्यवसायीहरुलाई संघमा आवद्ध गराउने र आवद्ध व्यवसायीहरुलाई संघप्रति अपनत्व बढाउने जिम्मेवारी छ,’ लामिछानेले दैनिक नेपालगन्जसँग भने ।
यस्ता छन्, उम्मेदवार
साझा प्रजातान्त्रिक तर्फ
अध्यक्ष पदका उम्मेदवार ललीत कुमार रौनियार इजीमार्टका नाममा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्छन् । उपाध्यक्ष उम्मेदवार तपेन्द्र विक्रम शाह प्रेस व्यवसायी हुन्, पादुका कालसैनीका सञ्चालक उनी उद्योग तर्फका उपाध्यक्ष उम्मेदवार हुन् । अर्का उपाध्यक्ष अमीत बस्नेत डिष्ट्रिब्यूटर्स हुन् । मदिरा व्यवसायी उनी वाणिज्य तर्फका उपाध्यक्ष उम्मेदवार हुन् ।
सदस्य पदका उम्मेवार अजय कुमार डण्डन पेट्रोल पम्प सन्चालक हुन् भने सुनिल कुमार सिंघल ढुवानी व्यवसायी । बिन्दु चर्तिमगरको चाउमिन उद्योग छ, टंक प्रसाद शर्मा जडिबुटी व्यवसायी, टेक बहादुर खड्का जुत्ता चप्पल, मख्खन बहादुर धामी खाद्यान्न, तेज नारायण कंडेल निर्माण सामाग्री सप्लायर्स, बदरुद्धिन अन्सारी दुग्ध व्यवसायी हुन् । यसैगरि, विष्णु प्रसाद श्रेष्ठ जुत्ता चप्पल, दिपेन्द्रराज श्रेष्ठ मासु, सन्तोष कुमार बैश्य खाद्य उद्योगी र सुरेन्द्र सिंह सरदार विद्युतिय सरसामानको कारोबारी हुन् । सम्बद्धतर्फ सुनचाँदी व्यवसायी संघका अध्यक्ष सलाउद्दिन जसगढ, व्याग व्यवसायी संघका बद्री श्रेठ उम्मेदवार छन् । जय मंगलम् सिमेन्टस् उद्योगका सञ्चालक सन्जय अग्रवाल र पानी उद्योगका सञ्चालक राजेश मास्केले स्वतन्त्र रुपमा एसोसिएट्सका लागि उम्मेदवारी दर्ता गराएपछि साझाले समर्थन गरेको जनाएको छ ।
समावेशी तर्फ
अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी किराना स्टोर्सका सन्चालक हुन् । वहालवाला उपाध्यक्ष उनको अजीज किराना पसल छ । उद्योग तर्फका उपाध्यक्ष उम्मेदवार आदेश अग्रवाल प्रिन्टिङ प्रेस व्यवसायी हुन् । रामदूत प्रिन्टर्सका सञ्चालक उनी संघमा अहिलेपनि कोषाध्यक्ष छन् । अर्का उपाध्यक्ष पदका उम्मेदवार ज्ञानेन्द्र कुमार श्रेष्ठ कपडा व्यवसायी हुन् । उनी वाणिज्य तर्फका उम्मेदवार हुन् ।
सदस्य पदका उम्मेदवार टंक बहादुर धामी गार्मेन्ट उद्योगका सन्चालक हुन भने अब्दुल वाहिद अन्सारी इलेक्ट्रिकल, श्याम सुन्दर अधिकारी किराना, सुनिल कुमार बनिया प्लाष्टिक, चिरन्जीवी ओली र जहाँगीर मुसलमान इलेक्ट्रोनिक्स एवं हरिलाल न्यौपाने मदिरा व्यवसायी हुन । यसैगरि, राजेश कुमार वैश्य, धर्मराज अर्याल र भिम बहादुर रानाभाट कपडा र जुत्ता चप्पल व्यवसायी हुन भने विजय भण्डारी र मन्दिरा पाण्डे पुस्तक तथा स्टेशनरी व्यवसायी हुन् । सम्बद्धतर्फ होटल व्यवसाय संघका अध्यक्ष भिमलाल कंडेल, टेण्ट व्यवसायी संघका अध्यक्ष सिद्धान्तजंग राणा तथा एसोसिएटतर्फ सदस्य पदका उम्मेदवार सुवास विक्रम जिसी एम. एस मैनुफेक्चरिङ इण्डष्ट्रिज प्रा.लि.का सन्चालक र दिपेन्द्र विष्ट सुमेरु इन्टरप्राइजेजका सन्चालक हुन् ।











