ह्वात्तै बढ्यो इन्धनको माग

स्वर्ण जयन्ती मनाउँदै नेपाल आयल निगम

पश्चिम क्षेत्रमा पेट्रोलियम पदार्थको माग ह्वात्तै वृद्धि भएको छ । तीन बर्षको तथ्यांकले पेट्रोलियम तथा एलपिजी ग्याँसको माग बढेको देखिन्छ । सडकमा सञ्जालमा वृद्धि भएसँगै यातायातका साधन पनि वृद्धि भएका छन् । त्यसले पेट्रोलियम पदार्थको माग बढेको नेपाल आयल निगम इन्धन डिपो नेपालगन्जका प्रमुख नवविनोद पोखरेलले जानकारी दिएका छन् । यद्यपि, खाना पकाउन बढी प्रयोग हुने मट्टितेलको मागको वृद्धिदरमा कमी आएको छ भने ग्याँसको माग बढ्दै गएको नेपालगन्ज डिपोको तथ्यांकले देखाएको छ ।


निगमको नेपालगन्ज स्थित डिपाले आ.व. २०७३/०७४ मा ३० हजार ५ सय १२ केएल पेट्रोल आयात गरेको थियो । गत आर्थिक बर्ष २०७५/०७६ मा माग बढेपछि डिपोले ३८ हजार ४ सय ९२ केएल पेट्रोल आयात गरेको डिपोका प्रमुख पोखरेलले जानकारी दिएका छन् । आ.व. २०७४/०७५ मा डिपोले ३१ हजार ८ सय ६४ केएल पेट्रोल आयात गरेको थियो ।


त्यस्तै डिजेलको आयातमा पनि वृद्धि भएको छ । डिपोले आ.व. २०७३/०७४ मा १ लाख ४१ हजार ५ सय केएल डिजल आयात गरेको थियो । त्यसपछिका बर्षमा आयात बढेर आ.व. २०७४÷०७५ मा १ लाख ६३ हजार ६ सय ३६, आ.व. २०७५/२०७६ मा १ लाख ६५ हजार ९ सय ४७ पुगेको छ ।


‘अन्य इन्धनको तुलनामा पेट्रोल र ग्याँसको माग उच्च छ’, नेपालगन्ज डिपो प्रमुख पोखरेलले भने । उनले खाना पकाउन मट्टितेलको सट्टा ग्याँसको प्रयोग बढेकाले ग्याँसको माग बढेको बताएका छन् । उनले पेट्रोलबाट चल्ने सवारी साधन तथा सडक सञ्जालको वृद्धिका कारण पेट्रोलको माग पनि उच्च हुँदै गएको बताए ।


डिपोले आ.व. २०७३/०७४ मा १ हजार ६ सय ८० केएल मट्टितेल आयात गरेको छ । जुन आर्थिक बर्ष २०७४/०७५ मा १ हजार ८ सय ८० र आ.व. २०७५/२०७६ मा १ हजार ९ सय ३७ रहेको छ । डिपोबाट हवाई इन्धन एटिएफको बिक्री पनि तीन बर्षको तथ्यांकले ह्वात्तै बढेको देखाएको छ । आ.व. २०७३/०७४ मा एटिएफ ६ हजार १ सय, आ.व. २०७४/०७५ मा ८ हजार ४ सय तथा आ.व. २०७५/०७६ मा ७ हजार ७ सय ९२ केएल एटिएफ डिपाले आयात गरेको तथ्यांक रहेको छ ।

नवविनोद पोखरेल प्रमुख नेपाल आयल निगम लिमिटेड नेपालगन्ज इन्धन डिपो


एलपिजी ग्याँसको आयात तीन बर्षमा १२ केएल वृद्धि भएको छ । आ.व. २०७३/०७४ मा २२ हजार ८ सय १७ केएल आयात गरेको डिपोले २०७४/०७५ मा २८ हजार ७ सय ४० र आ.व. २०७५÷०७६ मा ३४ हजार ४ सय ८५ केएल एलपीजी आयात गरेको छ । डिपो प्रमुख पोखरेलले चालु आ.व.को पाँच महिनामा ग्याँसको मागको वृद्धिदर १२ प्रतिशतले बढेको जानकारी दिएका छन् ।

डिपोलाई अत्याधुनिक बनाउने योजना

निगमका नेपालगन्ज डिपो प्रमुख पोरखेलले पेट्रोलियम पदार्थको माग बढ्दै गैरहेकाले स्टोर क्षमता बढाउन आवश्यक रहेको बताएका छन् । निगमको ५०औं बर्ष प्रवेशको सन्दर्भमा दैनिक नेपालगन्जसँग कुरा गर्दै पोखरेलले प्राविधिक वा अन्य कुनै कारणले पेट्रोलियम पदार्थको आयात हुन नसके अभाव सिर्जना हुने जोखिम रहेको बताएका छन् ।

डिपो प्रमुख पोखरेलले पेट्रोलियम पदार्थको स्टोरेज बढाउनका लागि पहल भैरहेको जानकारी दिएका छन् । ‘पेट्रोल र डिजेलको स्टोर क्षमता बढाउन निगम व्यवस्थापनले पनि आवश्यक ठानेको छ’, उनले भने, ‘हवाई इन्धनको समेत आपूर्ति गर्ने भएकाले इन्धन डिपो र हवाई इन्धन डिपोको लागि थप क्षेत्रफल आवश्यक छ ।’

डिपो प्रमुख पोखरेलले पेट्रोलको मागमा वृद्धि भएकाले मट्टितेलको ७६० केएलको ट्यांकीलाई पेट्रोलमा परिवर्तन गर्ने जानकारी दिएका छन् । त्यस्तै, ७० केएलको पेट्रोलको एउटा ट्यांकीलाई मट्टितेलमा परिवर्तन गर्ने योजना रहेको पोखरेलले जानकारी दिएका छन् ।

निगम प्रमुख पोखरेलले डिपोको सुरक्षा संवेदनशीलतालाई मध्यनजर सिसि क्यामेरा जडान गरिएको बताएका छन् । उनले हवाई इन्धन कार्यालयलाई व्यवस्थिति गरिएको, प्रतिक्षालय बनाइएको, कार्यालयमा सभाहलको स्तरोन्नती गरेको जानकारी दिए । डिपोमा सेवाग्राहीको सहजताका लागि नागरिक बडापत्र समेत राखिएको छ ।

निगम सम्बन्धी कुनै गुनासो भए गुनासो सुन्ने अधिकारीकारी, सूचना चाहिएमा सूचना अधिकारीको व्यवस्था गरिएको डिपो प्रमुख पोखरलले जानकारी दिएका छन् ।

इन्धन बिक्रीका लागि आधिकारिक डिलर

निगमले बाँके, बर्दिया, दाङ्ग, सल्यान, प्युठान, रुकुम, रोल्पा, जुम्ला, सुर्खेत, दैलेख, जाजरकोट जिल्लामा इन्धन आपूर्ति गर्दै आएको छ । त्यसका लागि निगमले १ सय २० वटा आधिकारिक डिलर नियुक्त गरेको बताएका छन् ।

यस्तो छ स्टोरेज क्षमता

निगमको नेपालगन्ज डिपोमा पेट्रोल, डिजेल, मट्टिटेल, हवाई इन्धन तथा एलपीजी ग्याँस स्टोरेजका लागि १० वटा ट्यांकी रहेका छन् । पेट्रोलको २ सय १० स्टोरेजका लागि तीन वटा ट्यांकी, २ हजार २ सय ८० केएल गिजलका लागि ३ वटा ट्यांकी, ७ सय ६० केएल मट्टितेलका लागि एक वटा ट्यांक, हवाई इन्धन २ सय ८० केएल स्टोरेजका लागि ४ वटा ट्यांकी रहेका छन् ।

निगमले आज शनिबार ५० औं बार्षिकोत्सवलाई स्वर्ण जयन्तीका रुपमा औपचारिक कार्यक्रम गरेर मनाउँदैछ । स्वर्ण जयन्तीका अवसरमा नेपालगन्ज डिपोले सरसफाई, रक्तदान, खेलकुद प्रतियोगिताको आयोजना समेत गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया