चर्चित लोकगायक बद्रि पंगेनी, मोडलद्वय शंकर विसी र अन्जली अधिकारीले शनिवार घरेलु महोत्सवमा दर्शकहरुलाई भरपुर मनोरन्जन दिए । शनिवारको विदामा लगातारको हुस्सु र वर्षापछि आकाशपनि खुलेको मौका पारी नेपालगन्जबासीहरु महोत्सव स्थलमा ओइरिए । निरन्तर राष्ट्रिय कलाकारको आकर्षण बन्दै गएको महोत्सवमा शनिवार दर्शकहरुको उपस्थितिले वास्तवमैं महोत्सवनै बन्यो, कलासंगीतको महोत्सव । दर्शकको साथले हौसिएका कलाकारहरुले पनि उनीहरुलाई मनोरन्जन दिन कुनै कसर बाँकी राखेनन् ।
दर्शकहरु बद्रि पंगेनीका मर्मस्पर्शी गीत र उनको प्रस्तुतिमा लठ्ठिए । शंकर बिसी र अन्जली अधिकारीको नृत्यसँगै झुमेका दर्शकहरुले महोत्सव स्थल भरिभराउ थियो भने टिकट काउन्टरमा आयोजकलाई भिड थेग्न मुस्किल प¥यो ।
महोत्सवमा अहिलेसम्म चर्चित कलाकारहरु राजेश हमाल, पशुपति शर्मा, रामजी खाँड, प्रिती आले, दुर्गेश थापा, चन्द्र शर्मा लगायतले प्रस्तुति दिइसकेका छन् । आज आइतवार ज्योति मगरलगायत चर्चित कलाकारहरुको प्रस्तुति रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा चर्चित कलाकारमात्रै होइन स्थानीय कलाकारहरुलाई पनि विशेष मौका दिइएको महोत्सवका साँस्कृतिक संयोजक मिना डांगीले जानकारी दिइन् । स्थानीय कलाकारलाई नै मौका दिन भनि महोत्सवमा खुला एक
ल नृत्य प्रतियोगिता आइडल, फेसन सो राखिएको संयोजक डांगीको भनाइ छ ।
यस क्षेत्रका कलाकारहरुलाई पहिचान गरेर मन्च प्रदान गरिएको र छुटेकाहरुले आग्रह गरेमा उनीहरुलाई समय मिलाएर स्टेज दिइएको डांगीले जानकारी दिइन् । खुला एकल नृत्य प्रतियोगिता आइडल, फेसन सो र एकल प्रस्तुतिमा गरि करिब ८० जना स्थानीय कलाकारले महोत्सवमा आफ्नो कला प्रस्तुत गर्न पाएको आयोजकले जनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगरपालिका समिति एवं महिला उद्यमी समितिको आयोजनामा भएको महोत्सवका लागि स्थानीय कलाकारहरुलाई विशेषतः प्राथमिकतामा राखेपनि राष्ट्रिय कलाकारको आकर्षण बढाउँदै लगिएको प्रचार प्रमुख बिनोद अग्रहरीले जानकारी दिए । ‘हरेक दिन अझ विशेष प्रस्तुतिहरु थपिंदै जानेछन्,’ अग्रहरीले दैनिक नेपालगन्जसँग भने ।








