नजिकको ‘सिंहदरबार’ बनाउन साढे १६ करोड खर्चिइँदै

(वडा कार्यालयबाट सञ्चालित बाँकेको नरैनापुर गाउँपालिका)

राज्य पुनर्संरचनाका क्रममा गर्दा बनाइएका स्थानीय तहले अझै पनि भवन बनाउन सकेका छैनन् । बाँकेका पाँच वटा स्थानीय तहसँग पुनर्संरचना पछि जिम्मेवारीमा आएका शाखाहरुका लागि पर्याप्त कोठा नहुँदा ‘खुम्चिएर’ कार्यसञ्चालन गर्दै आएका छन् । नेपालगन्ज उपमहानगरपालिका राज्य पुनर्संरचनापछि नयाँ आधुनिक भवनबाट सञ्चालित छ । उपमहानगरपालिकाले यसअघि भाडामा दिएका कोठाहरु समेत खाली गरेर कार्यालय प्रयोजनका लागि प्रयोग गरेको छ । कोहलपुर नगरपालिकाले कोहलपुर चोकमा गाविस हुँदादेखि नै योजनामा रहेको भवनलाई पूर्णता दिएर त्यहीबाट व्यवस्थित रुपमा कार्यालय सञ्चालन गरिरहेको छ ।


नेपालगन्ज र कोहलपुर बाहेकका स्थानीय तहसँग भने पर्याप्त रुपमा कार्यालय सञ्चालनका लागि पर्याप्त कोठाहरु भएको भवनहरु छैनन् । संघीयता पछि जिम्मेवारीमा आएका विभिन्न महाशाखा र शाखाहरुका लागि पर्याप्त कोठा नभएपछि नयाँ भवन बनाउने योजनामा छन् । त्यसका लागि स्रोत जुटाउन स्थानीय तहले जिल्ला समन्वय समिति र प्रदेश, केन्द्र सरकारसँग पहल गरेका हुन् ।


बाँकेका सबै स्थानीय तहले गत बर्ष नै स्थायी केन्द्रको टुङ्गो लगाएका थिए । खजुरा गाउँपालिकाले वडा नं. ३ स्थित नेरा प्रावि बी गाउँमा रहेको ४ विगाहा बढी क्षेत्रफल जमिनमा गाउँपालिकाको केन्द्र राख्ने निर्णय गरेको छ । उक्त निर्णय सदर गर्न पालिकाले पठाएको निर्णय प्रदेश सरकारबाट संघीय सरकारमा पुगेको गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिएका छन् । गाउँपालिकाको भवन बनाउन खजुराले १४ करोड लाग्ने अनुमान छ । ‘केन्द्र सरकारको स्वीकृति सँगै भवनका लागि टेण्डर गर्नेछौं’, अध्यक्ष कक्षपतिले भने, ‘भवनका लागि यस बर्ष डेढ करोड रुपैयाँ बजेट व्यवस्थापन गरेका छौं ।’


जानकी गाउँपालिकाले अस्थायी केन्द्र खजुरा खुर्दमा रहेको छ । जानकीले स्थायी केन्द्र इन्द्रपुरमा सार्ने निर्णय गरिसकेको छ । इन्द्रपुरबाट गाउँपालिकाको कार्यालय सञ्चालनका लागि भवन बनाउने योजनामा रहेको जानकीले त्यहाँ सभाहल निर्माण गरिरहेको छ । गाउँपालिका भवनका लागि ४ करोड बजेट जिल्ला समन्वय समितिबाट प्राप्त हुने अध्यक्ष राम निवास यादवले जानकारी दिएका छन् । ‘जिसस र हाम्रो ६०÷४० को लगानीमा भवन बनाउने योजना छ’, उनले भने, ‘केन्द्र सार्ने निर्णय सरकारले अनुमोदन गरेपछि निर्माणको कार्य सुरु गर्नेछौं ।’ अध्यक्ष यादवले पालिकाको भवनको लागि डिपिआर गराइसकेको जानकारी दिएका छन् ।


बाँकेको डुडुवा गाउँपालिकाले स्थायी केन्द्र वडा नं. ३ बनकट्टी तोकको छ । तर, हाल वडा नं. ४ मा रहेको वडाको भवनबाट गाउँपालिकामा सञ्चालनमा रहेको छ । ‘पालिका सञ्चालनका लागि अहिलेको ठाउँ पर्याप्त छैन, केन्द्र पनि सार्ने निर्णय भैसकेको छ’, गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले भने, ‘बनकट्टीमा पालिकाको भवन बनाउनका लागि पुसमा टेण्डर गर्ने योजना छ ।’ उनले पालिकाका लागि चार तल्लाको भवन बनाइने बताए । ‘सुरुमा ५ करोड लागतमा दुई तल्ला बनाउने छौं’, उनले भने, ‘पालिका भवनका लागि जिल्ला समन्वय समितिले ३ करोड रुपैयाँ दिनेछ, हामीले २ करोड छुट्याएका छौं ।’


बाँकेको नरैनापुर पनि वडा नं. ४ को कार्यालयबाट सञ्चालनमा रहेको छ । नरैनापुरले सोही वडामा पालिका लागि १५ करोड खर्चेर भवन बनाउने योजना बनाएको अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिएका छन् । ‘सुरुमा भवनका लागि ६ करोड रुपैयाँ बजेट व्यवस्था गरेका छौंं’, उनले भने । राप्तीसोनारी गाउँपालिकामा पनि कार्यालयका लागि भवन पर्याप्त छैन । तर, यस बर्ष भवन थप्ने योजनामा नरहेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया