तीन तहका सरकार बीच समन्वय अभाव, बाँकेमा १८ वटा योजना अलपत्र

मुलुक संघीय संरचना भएपछि बिकास निर्माणका कामहरु समय मै सम्पन्न होलान् । सेवाग्राहीहरुले सरकारले उपलब्ध गराउने सेवा र सुबिधाहरु सहज रुपमा पाउलान भन्ने धेरैले आशाा गरेका थिए । तर, मुलुक संघीय संरचनामा गएपछि गठन भएका संघीय, प्रदेश र स्थानिय सरकार बीच समन्वय नहँुदा बाँके जिल्लामा मात्रै विकास निर्माणका १८ वटा योजनाको काम अलपत्र परेको छन् ।


तीन तहका सरकारहरु बीच समन्वय नहुँदा नेपालगन्जमा निर्माणाधिन अवस्थामा रहेको जिल्ला शिक्षा कार्यालय र कृषि बिकास कार्यालय भवन निर्माणको काम एक बर्ष देखि अलपत्र परेका छन ।


साबिकका जिल्ला शिक्षा कार्यालय खारेज भएर शिक्षा बिकास तथा समन्वय इकाई कार्यालय गठन भयो । नयाँ कार्यालय गठन भएसँगै शिक्षा कार्यालयमा इन्जिनियर र सब इन्जिनियरहरु प्रदेश र स्थानीय तहमा समायोजन भएर गए ।


प्राविधिक कर्मचारी नहँुदा निर्माणाधिन कार्यालय भवनको अनुगमन गर्ने प्राविधिकहरु भएनन् । प्राविधिक कर्मचारी नहँुदा शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको भवन निर्माणको काम २०७५ साउन देखि रोकिएको छ ।


करिब २ करोड ११ लाखमा निर्माण कार्य सुरु भएको कार्यालय भवनको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी २० प्रतिशत काम पुरा गर्नका लागि गत आर्थिक बर्षमा विनियोजन भएर आएको ५० लाख रुपैयाँ निर्माणधिन भवनको अनुगमन गर्ने प्राविधिक नहुँदा फ्रिज भएर गएको छ भने निर्माण ब्यवसायीले पछिल्लो चरणमा गरेको कामको रकम समेत भुक्तानी पाउन सकेका छैनन् । ठेक्काको समयावधि २०७५ चैतमा सकिएको भए पनि हालसम्म म्याद थप सम्म हुन सकेको छैन । चालु आर्थिक बर्षमा भबन निर्माणको काम सम्पन्न गर्नका लागि १ करोड रुपैयाँ विनियोजन भएर आए पनि हालसम्म ठेक्काको म्याद थप र अनुगमन गर्ने प्राविधिकहरुको टुंगो लागेको छैन ।


शिक्षा कार्यालयको जस्तै कृषि ज्ञान केन्द्रको भवन निर्माण पनि एक बर्षदेखि अलपत्र छ । कृषि विकास कार्यालयको ढाई तले भवन निर्माणको काम तीन बर्ष पहिले २ करोड ८७ लाखमा सुरु भएको थियो । निर्माण कार्य सुरु भई भवन निर्माणको काम एक चौथाई हुँदै गर्दा कृषि विकास कार्यालय नै खारेज भयो । नेपाल सरकार मातहतमा रहेको कृषि बिकास कार्यालय प्रदेश सरकार अन्र्तगत मात्रै भएन कार्यालयको नै नाम परिबर्तन भएर कृषि ज्ञान केन्द्र बन्यो ।
संघीय सरकारबाट प्रदेश सरकारमा भएका कारण निर्माणाधिन कार्यालयलाई आवश्यक पर्ने बजेटको ब्यबस्था हुन नसक्दा २०७५ असार मसान्तसम्म पुरा भई सक्नु पर्ने भवन निर्माणको काम हाल सम्म अलपत्र अवस्थामा छ । निर्माणाधिन भवन कुन सरकारले कसरी बनाउने भन्ने अन्यौलमा कारण एक बर्ष देखि भवन निर्माणको काम रोकिएको हो । कृषि ज्ञान केन्द्र बाकेको निरन्तरको प्रयास पछि २०७६ कार्तिकमा आएर बल्ल निर्मााधिन भवन प्रदेश सरकारले बनाउने निर्णय भयो । तर, हालसम्म बजेटको ब्यबस्था हुन सकेको छैन ।


भवन निर्माण सम्पन्न गर्नका लागि अझै करिब दुई करोड ३० लाख बजेट लाग्ने अनुमान गरेर केन्द्रले बजेट माग गरेर प्रदेश सरकारमा पठाएको छ । बजेटको ब्यबस्था भए पछि म्याद थप गरेर भवन निर्माणको कामलाई अगाडि बढाइने कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताए ।


मुलक संघीय संरचनामा गएपछि सरकारी कार्यालयहरुको संरचनामा भएको फेरबदल र कर्मचारीहरुको समायोजनाका कारण बाँके जिल्लामा मात्रै १८ वटा बिकास निर्माणका योजनाहरुको काम रोकिएको निर्माण व्यवसायी संघ बाँकेका अध्यक्ष टेकबहादुर खड्काले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया