बागेश्वरी मन्दिर जाने सडक हिलाम्मे र जीर्ण

नेपालगन्जको वडा नं. २ मा रहेको प्रसिद्ध शक्ति पिठ बागेश्वरी मन्दिर हिन्दुहरुको आस्थाको केन्द्र हो । बागेश्वरी मन्दिर धार्मिक पर्यटनको सम्भावना भएको महत्वपूर्ण क्षेत्र पनि हो । त्यसैले नेपाल सरकारले भ्रमण बर्षको सन्दर्भमा जारी गरेको सय वटा गन्तव्यको बागेश्वरी मन्दिरलाई पनि राखिएको छ । संघ मात्रै नभई प्रदेश सरकारले पनि बागेश्वरी मन्दिरलाई धार्मिक पर्यटक आकर्षण गर्न सकिने क्षेत्रका रुपमा लिएको छ ।

बुधबार मात्र भ्रमण बर्षको जिल्ला स्तरीय समितिले पनि मन्दिरलाई बाँकेको पर्यटकीय गन्तव्यको सूचिमा राखेको छ । बाँकेका स्थानीय तहमा रहेको पर्यटकीय स्थलको गन्तव्य पहिचानका क्रममा बागेश्वरी मन्दिरलाई राखिएको हो ।


भ्रमण बर्ष सुरु हुन अब दुई साता पनि बाँकी छैन । यतिबेला बागेश्वरीमा धार्मिक पर्यटकलाई स्वागत गर्न झकिझाउ हुनुपर्ने हो । तर, अवस्था त्यसको ठिक विपरित रहेको छ । बागेश्वरी पुग्ने बाटाहरु जीर्ण र हिलाम्मे छन् । न्यूरोडबाट बागेश्वरी प्रवेश गर्ने मुख्य गेट बन्द रहने गरेको छ । मुख्य गेटको सानो क्षेत्रबाट मात्रै प्रवेशको व्यवस्था छ ।


धम्बोझी चोकबाट बागेश्वरी मन्दिर जाने घरबारीटोलको मुखमै स्थलमा प्रवेशद्वार बनिरहेको छ । धम्बोझीचोकदेखि बागेश्वरी मन्दिर नजिकसम्मको बाटो बनेको छ । तर, त्यसउता मन्दिरको पश्चिम गेटसम्म पुग्दा बन्दै गरेको सडक अलपत्र अवस्थामा छ । नेपाल वायु सेवा निगमबाट मन्दिरका लागि घरबारी टोल प्रवेश गर्ने नाका पनि जीर्ण छ । त्यहाँ नाला समेत बनेको छैन ।
त्रिवेणी मोडदेखि बागेश्वरी मन्दिर प्रवेश सडक यातायात साधन गुड्नै नसक्ने अवस्थामा रहेको छ ।

जीर्ण सडक, अलपत्र निर्माण सामाग्री, पुरिएको र अधुरो नालीले धार्मिक गन्तव्य नारालाई नारामै सीमित गरिएको भन्ने स्पष्ट देखिन्छ । अधुरा र पुरिएको नालीको पानी पुरै सडक हिलाम्मे भएको छ । बागेश्वरीको पश्चिम गेट नजिक इट्टा चाङ्ग लगाइएको छ । समग्रमा बागेश्वरीको वरिपरि कुरुप अवस्था देख्न सकिन्छ । ‘बोलीमा मात्रै मन्दिरलाई महत्व दिएजस्तो लाग्न थालिसकेको छ’, गंगा आचार्य भन्छन्, ‘लामो समयदेखि सडक किन हो अलपत्र नै देखिन्छ ।’
बागेश्वरीलाई नेपालगन्जको समृद्धिसँग जोड्न नगरप्रमुखदेखि, प्रदेश र संघका मन्त्रीहरुले औपचारिक कार्यक्रममा बिर्सदैनन् । तर, भ्रमण बर्ष मुखमै आउँदा पनि सडकको अवस्थाबारे कसैले चासो राखेको पाइँदैन ।


नेपाल र भारतका दर्शनार्थीहरु बागेश्वरी मन्दिर दर्शनका लागि आउने गरेका छन् । ‘तर, दर्शनार्थीहरुलाई मन्दिर पुग्दा देखेको सडकको दुर्दशाले छवि लिएर फर्कलान् त ?’, स्थानीय व्यवसायी भन्छन्, ‘धार्मिक गन्तव्य भनिरहँदा साँच्चिकै गन्तव्य जस्तो बनाउने तर्फ चासो देखाएको पाइँदैन ।’

गन्तव्य पुग्नै कठिन !

नेपाल भ्रमण बर्ष २०२० जिल्ला स्तरीय समितिले बुधबार बाँकेका आठ वटा ठाउँहरुलाई पर्यटकीय गन्तव्यको रुपमा पहिचान गरेको छ । पर्यटकीय गन्तव्यमा सूचिकृत भएका स्थानको प्रवद्र्धनका लागि प्रचारप्रसार गर्ने समितिले बताएको छ । तर, पहिचान गरिएका गन्तव्यमा भौतिक पूर्वाधार निर्माणका लागि समिति सँग बजेट नै छैन ।


सरकारले सय वटा गन्तव्य सूचिकृत गर्दा बाँकेका चार वटा समेट्यो । तर, चार वटै पर्यटकीय गन्तव्यको भौतिक विकास र प्रवद्र्धनका लागि भने बजेट छुट्याएको छैन । मन्त्रीस्तरीय निर्णयबाट बाँकेको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर, गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्जलाई स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यका रुपमा राखेको छ । त्यस्तै नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यहरुमा डुडुवा गाउँपालिका–५ को कम्मर शाह मजारलाई सूचिकृत गरिएको छ । चार वटै गन्तव्य सूचिकृत भएपछि तिनीहरुको प्रवद्र्धनका लागि सरकारले बजेट भने उपलब्ध गराएको छैन ।


जिल्ला समितिले पहिचान गरेको बैजनाथ गाउँपालिकाको गाभर भ्याली पुग्न पक्की सडक नै रहेको छ । गाभर भ्याली सामुदायिक होम स्टेका अध्यक्ष कृष्ण चौधरी भन्छन्, ‘गाभरलाई तीन वटै तहका सरकारले पर्यटकीय गन्तव्य मानेका छन् तर पर्यटक आकर्षित गर्नका लागि पूर्वाधारको क्षेत्रमा बजेट दिएको छैन ।’ गाभर जाने नाकासम्मको सडक पिच भएपनि त्यस भित्र डेढ किलोमिटर सडक राम्रोसँग ग्राभेल पनि भएको छैन । ‘स्तरीय ग्राभेल मात्रै भएपनि पर्यटकलाई सहज हुन्थ्यो’, चौधरी भन्छन्, ‘गाभरको जसरी प्रवद्र्धन गरिएको त्यसरी विकासका लागि सरकारले बजेट दिएको छैन ।’


चाल आ.व.मा प्रदेश ५ सरकारले भ्यु टावर निर्माणका लागि २० लाख बजेट छुट्याएको छ । तर, भ्यु टावर सकिंदा भ्रमण बर्षका ६ महिना बितिसक्ने सम्भावना छ । गाभर भ्याली सामुदायिक होम स्टे अन्तर्गत १७ र निजी ७ गरी २० वटा होम स्टे रहेका छन् । गाभरमा अष्ट्रिच अवलोकन, लायन्स पार्क, एग्रो टुरिजम, थारु कल्चरल अवलोकन गर्न सकिने व्यवस्था रहेको छ ।


बाँकेको राष्ट्रिय निकुञ्ज पनि पर्यटकीय गन्तव्यको रुपमा सूचिकृत छ । कोहलपुर, बैजनाथ र राप्तीसोनारी गाउँपालिकामा पर्ने निकुञ्जमा पर्यटकका लागि मुख्य गरी चार वटा गतिविधि हुँदै आएको छ । निकुञ्जमा जीप सफारी, हात्ती सफारी, जंगलवाक, नाइट क्याम्पिङ्गको व्यवस्था रहेको छ । ‘निकुञ्ज भित्र झण्डै १ सय ५० किलोमिटर घुम्न सकिन्छ, ग्राभेल बाटो छ’, भ्रमण बर्ष २०२० को प्रदेश सदस्य कृष्ण प्रसाद चौधरी भन्छन् ।


राप्तीसोनारी गाउँपालिकाको ढकेरी स्थित बोटानिकल गार्डेन पुग्नका लागि भने यातायात र बाटो सहज रहेको छ । तर, जिल्लाले पर्यटकीय गन्तव्यमा सूचिकृत गरेको डुडुवा गाउँपालिकाको कर्मशा बाबा मजार नजिकसम्म मात्रै पिच बाटो रहेको छ । मजारसम्म पुग्ने पाँच सय मिटर बाटो अझै कच्ची रहेको डुडुवा गाउँपालिकाका नेकपा नेता सकिल खानले जानकारी दिएका छन् । ‘मजारमा नेपाल तथा भारतका हिन्दुहरु दर्शनका लागि आउने भएकाले धार्मिक पर्यटनको सम्भावना भएको ठाउँ हो’, उनी भन्छन् । जानकी गाउँपालिकाको जोगागाउँ मन्दिर र तलाउ, खजुराको झलुगें पुल रहेको लालीगुराश सामुदायिक वन पनि पर्यटकीय गन्तव्य छन् । त्यहा पुग्ने सडक पूर्वाधार भने ठिकै भएको पत्रकार टिएस ठकुरी बताउँछन् । जोगागाउँ र लालीगुराँशमा पर्यटकलाई आकर्षित गर्ने खालका कुनै पनि संरचरना बनेका छैनन् ।
गन्तव्यमा रहेको राप्तीसोनारीको सिक्टा पुल पनि जिल्लाको पर्यटकीय गन्तव्यमा रहेको छ । तर, त्यहा सिक्टाको बाँध बाहेक अन्य पूर्वाधार भने छैनन् ।

‘सडक बनाउन आग्रह’

घरबारीटोलका स्थानीय तथा व्यवसायीले बागेश्वरी मन्दिर क्षेत्रको बाटो नबनाए आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबार वडाध्यक्ष सुनिल सिंह हमालसँग भेटेर उनीहरुले कालीमाई मन्दिरदेखि त्रिवेणीमोडसम्मको बाटो निर्माण सुचारु गर्न आग्रह गरेका हुन् । व्यवसायीहरुले वडाध्यक्षसँग सडक निर्माण रोकिनुको कारण पनि माग गरेका छन् ।


वडाध्यक्ष हमालसँग व्यवसायीहरुले सडक नबन्दा व्यवसायीहरुको व्यवसाय र भक्तजनहरुको आवतजावतमा समस्या भैरहेको बताएका थिए । उनीहरुले सडक निर्माणमा वेवास्तालाई उपमहानगरपालिकाको गैरजिम्मेवारी भएको टिप्पणी गरेका छन् । ‘लामो समयदेखि सडक अलपत्र अवस्थामा छ’, व्यवसायी हिमनाथ पौडेलले भने, ‘यथाशिघ्र निर्माण सुचारु नभए आन्दोलित हुने अवस्थामा छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया