बाँकेमा प्रदेश सरकारको विकास खर्च निराशाजनक

प्रदेश सरकारको पूँजीगत खर्च गत बर्षको जस्तै निराशाजनक
प्रदेश सरकारको बजेट १ अर्ब ७४ करोड, खर्च १० करोड मात्रै
संघीय सरकारको विकास खर्च तुलनात्मक सन्तोषजनक

बाँकेमा प्रदेश ५ सरकारको खर्च विगतको जस्तै निराशाजनक देखिएको छ । चालु आ.व.को पाँच महिना सकिंदा पनि प्रदेश सरकारले बाँकेका योजनाका लागि विनियोजन गरेको पूँजीगत खर्च निराशाजनक नै रहेको छ । यद्यपि, बजेट खर्च गर्न प्रदेश सरकारसँग अझै ७ महिना बाँकी रहेको छ । हालकै अवस्थामा खर्चको अवस्था रहने हो भने यसबर्ष पनि विकासका काम नै नभई फ्रिज हुने जोखिम भने देखिन्छ ।


चालु आ.व. ०७६/०७७ मा प्रदेश ५ सरकारले बाँकेका लागि पूँजीगत तर्फ १ अर्ब ७४ करोड ११ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ । मंसिरसम्म उक्त बजेट मध्ये १० करोड ६९ लाख ७४ हजार ६ सय ७९ रुपैयाँ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगन्जका कोष नियन्त्रक प्रकाश पौडेलले जानकारी दिए । चालु तर्फ प्रदेश सरकारले चालु आ.व.का लागि १ अर्ब ८२ करोड ९ सय ३४ रुपैयाँ छुट्याएको छ । उक्त रकम मध्ये मंसिरसम्म २३ करोड ६१ लाख ५० हजार रुपैयाँ खर्चको भएको विवरण कोलेनिकामा रहेको छ ।


गत बर्ष प्रदेश सरकारले बाँकेमा छुट्याएको बजेटको ६० प्रतिशत पनि खर्च भएको थिएन । गत आ.व.मा प्रदेश सरकारले बाँकेका लागि आ.व. ०७५÷०७६ मा पूँजिगत (विकास) खर्च तर्फ १ अर्ब ३२ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये ५८.२० प्रतिशत अर्थात् ७६ करोड ९१ लाख रुपैयाँ मात्र खर्च भएको थियो । गत आ.व.को असारमा मात्रै प्रदेश तर्फको ४४ करोड १७ लाख रुपैयाँ असारमा खर्च भएपछि खर्च प्रतिशत ५० नाघेको हो ।


संघीय सरकारले पूँजीगत खर्चको अवस्थामा भने सन्तोषजनक नै रहेको छ । संघीय सरकारले चालु आ.व.मा पूँजीगततर्फ ५ अर्ब ८६ करोड ५४ लाख ४५ हजार ७ सय ६ रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये १ अर्ब ७ करोड ७६ लाख ५ हजार ७ सय ९ रुपैयाँ खर्च भएको छ ।


संघीय सरकारले गत आ.व. ०७५/०७६ मा पूँजिगत (विकास) खर्चका लागि ८ अर्ब ९८ करोड ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये ७ अर्ब ३१ करोड ६ लाख रुपैयाँ मात्रै खर्च भएको छ । जुन विकास बजेटको ८१.४० प्रतिशत हो । यस बर्षपनि संघ तर्फको खर्च राम्रो नै रहेको छ ।


चालु आ.व. २०७६/०७७ मा बाँकेका लागि संघीय सरकारले चालु तर्फ ७ अर्ब ९७ करोड ५४ लाख ६७ हजार ८ सय ७४ रुपैयाँ छुट्याएको थियो । जसमध्ये पाँच महिनामा ३ अर्ब ५८ करोड ६३ हजार ७ सय २० रुपैयाँ खर्च भएको कोष नियन्त्रक पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया