दुर्घटनाका कारण अकालमा ज्यान जानेहरुको संख्या बढ्दै गएको छ । चालु आ.व. २०७६/०७७ को पाँच महिनामा मात्रै बाँकेमा ३३ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् । गत आ.व. २०७५/०७६ मा ६० जनाको दुर्घटनामा निधन भएको थियो ।
चालु आ.व.को साउनमा ७, भदौमा ४, असोजमा ५, कार्तिकमा ६ र मंसिरमा सबैभन्दा बढी ११ जनाको दुर्घटनामा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जानकारी दिएको छ । दुर्घटनामा चौपायाहरुको समेत मृत्यु भएको छ । चालु आ.व.को ५ महिनामा १० वटा पशु चौपायाको दुर्घटनामा परी मृत्यु भएको छ ।
बाँकेमा पाँच महिनाको अवधीमा कुल ८६ वटा दुर्घटना भएका छन् । जसमा ७३ जना गम्भीर र ६१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार किरण चन्दले जानकारी दिएका छन् । जिल्लामा सबैभन्दा बढी दुर्घटना मोटरसाइकलको भएको प्रहरीको तथ्यांक रहेको छ । पाँच महिनाको अवधीमा ६६ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । उक्त अवधीमा १ सय ११ वटा सवारी साधन दुर्घटनामा परेका थिए । ६ वटा ट्रक, १ टिप, ११ जिप, २ ट्याक्टर, ४ वटा टेम्पो र ६ वटा साइकल दुर्घटनामा परेका थिए ।
बढी जसो दुर्घटनाका तिव्र गति र चालकको लापरवाहीले हुने गरेको तथ्यांक जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांकले देखाएको छ । आ.व. ०७५/०७६ मा बाँकेमा ९९ सय वटा दुर्घटना भएको तथ्यांक ट्राफिक प्रहरीको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार, गत आ.व.मा दुर्घटना विश्लेषण गर्दा प्रमुख कारण तिव्र गति, चालकको लापवारही रहेको पाइएको थियो । आ.व. ०७५/०७६ मा तिव्र गतिका कारण ३९, चालकको लापरवाहीका कारण ३९ वटा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । गत आ.व.मा ओभरटेकका कारण ७, मापसेका कारण ५, यान्त्रिक कारणले २, सडकको कारणले ३ र चौपायाको कारणले ३ वटा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
बाँकेमा गत आ.व.मा भएका दुर्घटनामा ६० जनाले ज्यान गुमाएका छन् । गत आ.व.मा दुर्घटनामा ७५ जना गम्भीर घाइते भए । जसमा ४२ पुरुष, १४ महिला र ४ बालक रहेका छन् । उक्त अवधीमा ४५ पुरुष, २३ महिला, ७ बालक र १ बालिका गम्भीर घाइते भएको तथ्यांक प्रहरीमा छ । ८६ जना साधारण घाइते भएका थिए । साधारण घाइते हुनेमा ५४ पुरुष, २९ महिला र ३ बालिका रहेका छन् ।