एडिबीको सहयोगमा ३० महिनामा सक्ने लक्ष्य राखिएको ३६ किलोमिटर सडकको काम दुई बर्ष नबित्दै सकिन लागेको हो
एशियाली विकास बैंकको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाको सहरी विकास आयोजना, परियोजना कार्यान्वयन इकाइ अन्तर्गत दुई बर्ष अघि निर्माण सुरु भएको ३६ किलोमिटर सडक तथा नाला निर्माणको काम करिब सकिएको छ । २०७४ फागुनमा कालिका जेडीटएसजे जेभीले निर्माणको सम्झौता गरी ३० महिना भित्र ४१ वटा बाटो तथा सडक निर्माणको काम सुरु गरेको थियो ।
‘दुई बर्ष अघि निर्माण सुरु गरिएको ३६ किलोमिटर बाटोको ९९ प्रतिशत काम सकिइसकेको छ’, परियोजनाका इन्जिनियर शैलेन्द्र महर्जन भने, ‘केही ठाउँमा बाँकी रहेका टुक्राटुक्री काम सक्न निर्माण जारी रहेको छ ।’
समयावधी अघि नै काम सक्न निर्माण कम्पनीले एकै साथ धेरै ठाउँमा काम गरेको थियो । ठेक्का सम्झौताकै क्रममा कालिका कन्स्ट्रक्सन प्रालिका महानिर्देशक युवराज क्षेत्रीले अवरोध नभएमा समयावधी अघि नै निर्माण सक्ने प्रतिबद्धता जनाएका थिए । यसअघि राँझा–कोहलपुर सडक खण्ड निर्माण गरेको कालिकाले निर्धारित समय अगावै काम सकेको थियो ।
एक अर्व ४४ करोड ७१ लाख ६६ हजार ४ सय ६५ रुपैयाँ लागतमा ७ सय मिटरदेखि ३ हजार मिटरसम्मका ४१ वटा सडकहरु निर्माण भएका हुन् । सडकहरु ६ मिटर देखि १६ मिटर सम्मको चौडा सडकका निर्माणका लागि सम्झौता भएको थियो । निर्माण गरिएका सडकका दुवैतर्फ नाला समेत निर्माण भएका छन् । सडकको चौडाई अनुसार नाला बनाएको उपमहानगरपालिकाले जनाएको छ ।
परियोजना अन्तर्गत मालपोत कार्यालय देखि बुलबुलिया सम्म, अशोक मार्ग, समशानघाट रोड, सदरलाइन, विपीचोक पथ, चारवाहिनीदेखि नगरभवनसम्म, रंगशालादेखि अस्पतालसम्म, रानीतलाउ देखि त्रिभुवनचोकसम्म, वाटर पार्क रोड, शितल नगर रोड, श्रृष्टि सिनेमा हल रोड, कस्तुरीमार्गदेखि भेरी प्राविधिक शिक्षालयसम्मको रोड बनाइएको छ ।
निर्माणका क्रममा धेरै ठाउँमा सडक क्षेत्रफललाई लिएर विवाद समेत भएको थियो । सबै विवादहरु समयमा समाधान गरिएकाले पनि काम समयावधी अघि नै सकिन लागेको हो । सडक क्षेत्र विवाद मिलाउन जनप्रतिनिधिले गरेको प्रयासका कारण कतैपनि काम लामो समय काम रोकिन पाएन । निर्माणका क्रममा खानेपानी पाइप व्यवस्थापन तथा विद्युत पोल, टेलिफोनका पोल पनि निर्माणका क्रममा सारिएको थियो । यद्यपि, सहमति गर्दा कतिपय बाटोहरुको चौडाई घटाउनु परेको थियो ।
नगरमा परियोजना अन्तर्गत थप ८ किलोमिटर सडक बनाउने योजना रहेको परियोजनाका इन्जिनियर महर्जनले जानकारी दिएका छन् । आ.व.का लागि उपमहानगरपालिकाले एडिबी सहरी विकास परियोजनाका लागि ८७ करोड रुपैयाँ बजेट प्रस्ताव गरेको थियो ।
वडाका योजना कार्यान्वयनमा उपमहानगरको अग्रसरता
नौ वटा वडामा पुग्यो टोली
आगामी चैत्र भित्रै नेपालगन्ज उपमहानगरपालिकाका वडाहरुको योजनाहरुको कार्यान्वयन सक्नेलागि बनाएको टोलीले ९ वटा वडामा अनुगमन गरेको छ । योजना कार्यान्वयनमा परेको समस्या, कार्यान्वयनका अवस्था बुझ्नका लागि टोली वडा, वडा पुगिरहेको टोलको नेतृत्व गरिरहेका वरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेलले जानकारी दिएका छन् ।
बरिष्ठ कार्यक्रम अधिकृत पौडेलको नेतृत्वमा प्राविधिकसहितको टोलीले वडामा योजना कार्यान्वयमा समस्या परे समाधानका लागि पहल गर्ने बताइएको छ । अनुगमनका क्रममा वडामा उपभोक्ता समिति गठन भए÷नभएको, लागत स्टिमेटको अवस्था, कर्मचारी उपलब्धता र उपस्थिति लगायतका बारेमा पनि अनुगमन टोलीले बुझ्ने काम गरेको अधिकृत पौडेलले बताए ।
‘२३ वडा मध्ये ९ वटा वडामा पुगेका छौं’, अधिकृत पौडेलले भने, ‘बाँकी वडाहरुमा पुग्ने क्रममै छौं ।’ उपमहानगरपालिकाले योजना कार्यान्वयनका लागि प्राविधिकहरु पनि वडामा खटाएको जानकारी दिएको छ । योजना शाखाका इन्जिनियर वडामा पठाइएको छ । योजना कार्यान्वयनका लागि उपमहानगरपालिकाका प्राविधिकले वडामा पुगेर सघाइरहेको बताइएको छ ।
परियोजना अघि बढ्यो
नेपालगन्ज नगर विकास समितिले वाटरपार्क परियोजनालाई अघि बढाउन महत्वपूर्ण निर्णय गरेको छ । नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख समेत रहेका नगर समितिका अध्यक्ष डा. धवल समशेर राणाको अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले परियोजना अन्तर्गत अस्थायी लालपुर्जाका लागि सूचना आव्हान गर्ने निर्णय गरेको छ ।
यसैगरी वाटरपार्कको जग्गा बिक्री वितरणका लागि मुल्य निर्धारण गर्न नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा मुल्य निर्धारण समिति गठन गरेको छ । यसैगरी बैठकले न्यूरोड सदरलाइनको जग्गा बिक्रिका लागि सूचना निकाल्ने निर्णय गरेको समितिका सदस्य तथा नेपालगन्ज उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।











