पुस्तक व्यवसायीको १३औं साधारणसभा
स्पष्ट पुस्तक नीति नहुँदा अस्वस्थ्य प्रतिस्पर्धा मौलाउँदै गएको पुस्तक व्यवसायीहरुले बताएका छन् । शनिबार नेपालगन्जमा भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको १३ औं बार्षिक साधारणसभामा बोल्ने व्यवसायीहरुले पुस्तक नीति नहुँदा पुस्तक व्यवसायमा बेतिथि देखिएको धारणा राखेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मनहरी बस्यालले व्यवसायमा देखिएको प्रतिस्पर्धाले साना व्यवसायी बढी मर्कामा परेको बताएका छन् । ‘सबैले आफ्नो व्यवसाय गर्नुपर्छ’, उनले भने, ‘स्कुलका ढोकामा धाउने बाहेकका व्यवसायीको पनि कारोबार सुनिश्चित हुने वातावरण बनाउन जरुरी छ ।’
अध्यक्ष बस्यालले विद्यार्थीले आफुले चाहेको ठाउँबाट पुस्तक किन्ने अवसरका लागि निजी विद्यालयहरुले समयमै पुस्तकको सूचि सार्वजनिक गर्नुपर्ने बताएका थिए । उनले व्यवसायीहरुले आफ्नो कारोबारको मूल्यांकन गरेर छुट दिन हुने, नहुने आफैले थाहा पाउन सक्ने बताएका थिए । ‘प्रतिस्पर्धाका नाममा मनपरी छुट दिनुको कारण आफ्नै कारोबारको मूल्यांकन नगर्दा हो’, उनले भने ।
महासंघका प्रदेश अध्यक्ष बसन्त लामिछानेले पुस्तक नीतिका लागि लामो समयदेखि माग उठाउँदा पनि सरकारले नसुनेको बताएका थिए । ‘पुस्तकको मापदण्डबारे सरकारले अझै निर्णय गरेको छैन’, उनले भने । पुस्तक व्यवसायीले कम नाफामा पनि काम गर्न तरहेको बताउँदै प्रदेश अध्यक्ष लामिछानेले छुट दिनु भन्दा प्रिन्ट रेट नै घटाउन प्रकाशकहरुसँग आग्रह गरेका थिए । उनले कलर र श्यामश्वेत पेजको रेट निर्धारण भएकाले पुस्तकको बिक्रीमा छुट नदिने निर्णय भएको जानकारी दिएका थिए ।
प्रदेश अध्यक्ष लामिछानेल शिक्षा स्थानीय तह अन्तर्गत रहेको उल्लेख गर्दै शिक्षा समितिमा पुस्तक व्यवसायीहरुलाई अनिवार्य सहभागी गराइनुपर्ने धारणा राखेका थिए । उनले नेपालगन्जमा लाइब्रेरी बनाउन संघले प्रयास गरेपनि जग्गा उपलब्ध नहुँदा काम अगाडि बढाउन नसकेको बताएका थिए ।
संघका जिल्ला अध्यक्ष शालिक सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै व्यवसायी नारायण ज्ञवालीले संघले व्यवसायसँगै सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गरिरहेको बताएका थिए ।
संघका जिल्ला उपाध्यक्ष सागर ज्ञवालीले स्वागत गरेको कार्यक्रममा प्याब्सन बाँकेको अध्यक्ष राजेन्द्र आचार्यले व्यवसायिक इमान्दारिता सबैमा हुनुपर्ने धारणा राखेका थिए । प्याब्सन सम्बद्ध विद्यालयमा कुनै समस्या भए समाधानका लागि आफु तयार रहेको बताउँदै उनले अरुलाई आरोप लगाउनु अघि आफुभित्र पनि मूल्यांकन गर्न पुस्तक व्यवसायीलाई सुझाव दिएका थिए ।
प्याब्सन अध्यक्ष आचार्यले व्यवसायीहरु प्रत्येक विद्यालयमा पुगेर ‘बार्गेनिङ्ग’ गर्दा बेतिथि बढेको बताएका थिए । ‘त्यसैले पुस्तक व्यवसायमा रहेको बेतिथि नियन्त्रण गर्न तपाईहरु नै सक्रिय हुनुपर्छ’, उनले भने । अध्यक्ष आचार्यले गतबर्ष पुस्तक व्यवसायीले पुस्तक छुट नदिने भनेपनि कार्यान्वयन भने नभएको बताएका थिए । ‘पुस्तक व्यवसायीका संगठनले एकरुपता कायम गर्ने भनेपनि त्यो लागु किन हुन सकेछ ?’, उनले प्रश्न गरे ।
नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले व्यवसायीहरु बीचको एकता आवश्यक रहेको बताएका थिए । ‘अनावश्यक प्रतिस्पर्धा व्यवसायी आफैले रोक्नुपर्छ’, उनले भने । उपाध्यक्ष मन्सुरीले सरकारले कर तिर्ने व्यवसायीलाई अनावश्यक रुपमा दुःख दिने गरेको बताउँदै त्यसविरुद्ध व्यवसायीहरु एकजुट हुनुपर्ने धारणा राखेका थिए । नेपालगन्ज उद्योग वाणिज्य संघलाई बलियो बनाउन वस्तुगत संघहरु पनि बलियो हुनुपर्ने भएकाले वस्तुगत संघको हकहितका लागि आफु प्रतिबद्ध रहेको उपाध्यक्ष मन्सुरीले बताए ।
वडा नं. १२ का अध्यक्ष बुद्धिसागर सुवेदीले स्थानीय तहबाट संघलाई सहयोग चाहिएमा लिखित प्रस्ताव गर्न आग्रह गरेका थिए । साधारणसभामा विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, पुस्तक व्यवसायी लगायतको सहभागिता रहेको थियो ।