‘जिद्दी सञ्जु’ले जितेरै छाडिन्

‘म छोरीलाई खेलकुद बाट टाढै राख्न चाहन्थें’, पोखराबाट छोरीको फोन आएदेखि उत्साहित सञ्जु चौधरीका बाबु चामुले हर्षित स्वरमा भने, ‘मेरो जिद्दका अगाडि केही चलेन, जिद्दि छोरीले जितेरै देखाइन् ।’


राप्तीसोनारी–३ बेलासपुर बाँकेका चामु आफ्नी श्रीमति सुन्दरमोति थारुका साथ २०५२ सालदेखि नेपालगन्जमा छन् । ‘नेपालगन्जकै रैथाने भइयो’, बिहीबार बेलुकी छोरी सञ्जुले नेपालको भारोत्तोलनमा स्वर्ण पदक जितेर इतिहास रचेपछि बधाई लिन भ्याइ, नभ्याइ अवस्थामै दैनिक नेपालगन्जसँग चामुले भने, ‘सञ्जु, मञ्जु र मनोज यतै जन्मिए, हुर्किए, बढे र पढे ।’


दुई छोराछोरीको पढाई राम्रो भएपनि सञ्जुको खेलप्रतिको रुचिले बाबु चामु चिन्तित थिए । भेरी अस्पतालमा कनिष्ट कर्मचारी सञ्जुका बाबु चामु उनलाई अस्पतालमै कुनै काम लगाउन चाहन्थे । आमा सुन्दरमतिलाई वेष्टर्न अस्पतालमा सहयोगीको जागिर खुवाएका चामु ठुली छोरी मञ्जुलाई भेरीमै काम लगाएका छन् । ‘हाम्रो आर्थिक अवस्थाले छोरीलाई खेलकुद भन्दा काममा लगाउनु पर्ने बाध्यता छ’, कुरा गर्दै जाँदा भावविव्हल भएका चामुले सञ्जुको जिद्दिपन उजागर गर्दै भने, ‘मेरो जिद्दि थियो छोरी काममा लागोस्, तर उनी (सञ्जु) खेलमै लागिरहन चाहन्छिन् ।’
छोरीको इच्छा विपरित काममा लगाउने बाबुको जोड होइन । ‘पाँच कक्षादेखि खेलकुदमा समय दिंदै आएकी सञ्जुलाई समयले साथ दिएन’, बाबुको ठम्याई हो । हुनपनि दौडमा ‘च्याम्पियन’ सञ्जु राष्ट्रिय स्पर्धामा उत्कृष्ट नतिजा ल्याएपनि अपेक्षित ठाउँ नपाएको चामुको भनाइ छ ।

क्रिकेट त उसको मुख्य खेल हो’, महिला क्रिकेटमा समय बिताएकी सञ्जुले सोचे अनुसार अवसर नपाएपछि बिधा परिवर्तन गरेको जानकारी दिंदै चामुले भने, ‘जुन दिन छोरीले मलाई उठाएर पछारिन् उसैदिन मैले भारोत्तोलनमा छोरीलाई प्रेरित गर्ने निर्णय गरेको हुँ ।’ उनका अनुसार, क्रिकेटका लागि ७५ हजारको खेल सामाग्री किनेर ल्याइदिंदा उत्साहित सञ्जुले बाबुलाई खुशीले उचालेकी थिइन् । ‘कलिली छोरीले म ९५ किलोको हुँदा जुरुक्कै उठाएपछि मलाई लाग्यो यस्तै भारी उठाउने खेलमा लगाउनु पर्छ’, त्यसलगत्तै भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी समसुद्दिन सिद्दिकीसँग सम्पर्क गरेको सम्झदै चामुले भने, ‘आखिर त्यो निर्णय सही साबित भयो ।’

सञ्जुलाई प्रारम्भिक कालदेखि प्रशिक्षित गरेका सिद्दिकीले उनको प्रस्तुतिप्रति हर्ष प्रकट गरे । ‘आशा अनुरुप प्रतिफल प्राप्त गरेकोमा अत्यन्तै खुशी छु’, १३ औं सागका लागि पोखरामै रहेका सिद्दिकीले दैनिक नेपालगन्जसँग भने, ‘भारोत्तोलनमा महिलातर्फ इतिहास मात्र रचिएन सञ्जु मार्फत देशले नै एउटा गतिलो सन्देश प्रवाह गरेको छ ।’ सञ्जु सहित १० जनालाई गत अक्टोबरमा दक्षिण कोरिया प्रशिक्षणका लागि अवसर जुटाएका नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टण्डन पनि पोखराको खुशी नेपालगन्जलाई तत्काल बाँडे । ‘म मात्रै होइन देश नै हर्षित छ’, लगातार स्वर्ण बर्षा गरिरहेको नेपालले भारोत्तोलनबाट थप एक स्वर्ण दिन सकेकोमा उत्साहित हुँदै टण्डनले दैनिक नेपालगन्जसँग भने, ‘अझै दुई स्वर्ण भारोत्तोलनबाट थपिने आशा छ ।’ त्यसका लागि पूर्व तयारीमा सञ्जु सहित १० जनालाई १० दिने तालिमका लागि कोरिया पठाएको सम्झदै संघका अध्यक्ष टण्डनले भने, ‘हाम्रो आशा सञ्जुले पूरा गरिन् ।’

गत वर्ष नेपाल पुलिसमा छिरेकी सञ्जुले सागको पहिलो सहभागितामै सिनियरतर्फ स्वर्ण जितेपछि यसको श्रेय प्रशिक्षकसहित घरपरिवारका सदस्यलाई सुम्पिन् । उनले मैदानमै सञ्चारकर्मीसँग प्रतिक्रिया दिंदै जितबाट आफूलाई निकै खुसी लागेको र सोचेजस्तो लिफ्ट लिन सकेको बताइन् ।

नेपालगन्जकी खेलाडी सञ्जु चौधरीले इतिहास रचेपछि खुशी व्यक्त गर्नेहरुको लहरै चलेको छ । सबै तिर सञ्जुको वाहवाही छ भने भारोत्तोलनमा सम्भावना पनि औंल्याइएको छ । ‘सञ्जुले जुन परिस्थिति र पृष्ठभूमिमा इतिहास रचिन् हाम्रा लागि गौरवबोध गराएको छ’, भेरी अस्पतालका डा. बद्री चापागाईले सहकर्मी चामु चौधरीलाई बधाई दिंदै भने, ‘यस्तो परिस्थितिमा पनि आफ्नी छोरीलाई निरन्तर खेलकुदमा प्रोत्साहित गर्ने बाबुको तारिफ जति गरेपनि पुग्दैन ।’ उनीसँगै रहेका अर्का सहकर्मी डा. प्रकाश थापाले पनि खेलाडी सञ्जुसँगै स्वर्णका लागि परिवारले दिएको योगदानको प्रशंसा गरे । ‘वास्तवमा सञ्जुले आफ्नो क्षमतालाई जमेर प्रदर्शन गरिन्’, नेपालगन्ज उद्योग वाणिज्य संघमा खेलकुद विभाग प्रमुख रोहित टण्डनले दैनिक नेपालगन्जलाई सम्पर्क गर्दै भने, ‘यो खुशीमा नेपालगन्ज रमाउनु पर्छ ।’

सामाजिक सञ्जुलाई बधाई दिनेहरुको ओइरो नै छ । ‘लगानी गरेपछि प्रतिफल अवश्य आउँछ । रतन दाइ, हेर्नुस् त नेपालगन्जले जन्माएकी सञ्जु चौधरीले इतिहासमै पहिलो स्वर्ण पदक दिलाइन् । सुरेन्द्र दाइ, समसुद्धिन दाइले सपना र सम्भावना देखाउनुभयो, रतन दाइले भरोसा दिलाउनुभयो, सही अभिभावकत्व दिनुभयो । नेपाली भारोत्तोलनलाई अन्तर्राष्ट्रिय एरिनामा अलग पहिचान स्थापित गराउन रतन दाइ नेतृत्व सफल छ । देशले यसको मुल्यांकन अवश्य गर्नेछ’, खेल पत्रकार टीएस ठकुरीले सञ्जुको जित लगत्तै बधाई दिंदै सामाजिक सञ्जालमा भनेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया