बाँकेको कोहलपुर वडा नं. ६ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा नेकपा विजयी भएको छ । काँग्रेसबाट विजयी वडाध्यक्षको निधन भएपछि उपनिर्वाचन गरिएको हो ।
शनिबार अबेर राती आएको मत परिणाम अनुसार नेकपाका राम शरण थारु अध्यक्ष पदमा निर्वाचित भएका हुन् । मत परिणाम अनुसार, नेकपाका थारु ६३ मतले विजयी भएको निर्वाचन आयोगलाई उद्धृत गर्दै नेकपा बाँके अध्यक्ष आइपी खरेलले जानकारी दिएका छन् ।
काँग्रेसबाट श्रीकृष्ण थारु, राप्रपाबाट श्रीधर सुवेदीले प्रतिस्पर्धा गरेका थिए । यसअघि काँग्रेसले जितेको वडामा भएको उपनिर्वाचनमा नेकपाले सफलता प्राप्त गरेको हो । यो सँगै कोहलपुरमा नेकपाको स्पष्ट बहुमत भएको छ । १५ वटा वडा रहेको कोहलपुरमा प्रमुख सहित नेकपाका ९ र उपप्रमुख सहित काँग्रेसका ६ वडाध्यक्ष छन् । कुल २ हजार २६ मतदाता रहेको उक्त वडामा कुल १ हजार ६ सय ३४ मत खसेको छ ।
यसअघि काँग्रेस आफ्नो किल्ला बचाउन र नेकपा आफ्नो दबदबा कायम गर्न प्रचारमा केन्द्रीय स्तरका नेताहरुलाई पनि सहभागी गराएका थिए ।








