झोले डाक्टरको उपचारका कारण दुई मृत्यु भएपछि औषधी व्यवस्था विभाग सहित प्रशासनको टोली नरैनापुर पुगेको हो
बाँकेको नरैनापुर गाउँपालिकामा ‘झोले डाक्टर’को उपचारका क्रममा दुई जनाको मृत्यु भएको दुई दिनपछि बाँके प्रशासन र औषधी व्यवस्था विभागले चासो देखाएको छ । सम्भवतः पहिलो पटक बुधबार प्रशासन र विभागको संयुक्त टोली अनुगमनका लागि नरैनापुर पुगेको हो ।
बर्षाैदेखि ‘झोले डाक्टर’को बिगबिगी रहेपनि उपचारका क्रममा दुई जनाको मृत्यु भएको समाचार प्रकाशमा आएपछि मात्रै अनुगमनका लागि चासो देखाइएको हो । स्थानीय स्वास्थ्य चौकीमा चिकित्सक र औषधीका अभावले बर्षौदेखि त्यहाँको स्वास्थ्य झोले डाक्टरको भरमा रहेको थियो ।
बुधबार नरैनापुर पुगेको विभाग र प्रशासनको टोलीले तीन वटा मेडिकलमा छापा मारेको छ । औषधी व्यवस्था विभाग नेपालगन्ज शाखा प्रमुख निनु श्रेष्ठले नरैनापुर गाउँपालिका–५ का तीन वटा औषधी पसलमा छापा मारेको बताएकी छन् ।
अनुगमन टोलीले राजेश सिंह ठाकुरको मेडिकल पसलको ताला फोडेर औषधी बरामद गरेको छ । भारत श्रावस्ती जिल्लाको मनकौरा गाउँ बस्ने झोले चिकित्सक राजेश सिंहले उपचार गर्दा नरैनापुर–५ मटेहिया बस्ने वर्ष ३० को गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका वडा नं.७ गेंदवा गाउँ बस्ने वर्ष २८ को मालिक राम धोबीको ज्यान गएको थियो । स्वघोषित डाक्टर सिंह हाल फरार रहेका छन् । अनुगमन टोलीले शिवम् गुप्ताको मेडिकलमा पनि छापा माग मारेको छ । अनुगमन टोली पुग्न उनको पसल पनि बन्द रहेको थियो । अनुगमन टोलीले मुनसरिफ साइदुन क्लिनिकको मेडिकल पसल शिल गरेको छ ।
‘अनुगमन पछि अवैध रुपमा कारोबार गरेका मेडिकहरुबारे मुचुल्का उठाएका छौं’, औषधी व्यवस्था विभाग नेपालगन्ज शाखा प्रमुख श्रेष्ठले भनिन्, ‘ऐन मिचेर कारोबार गर्नेहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउनेछौं ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अनुगमनका लागि टोली नरैनापुर पुगेको जानकारी दिंदै प्रतिवेदन आएपछि दोषीलाई कारवाही गरिने बताएका छन् ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय पनि अनुगमनका लागि पुगेका थिए । उनले अनुमति विना नै मेडिकल सञ्चालन भएको पाएको जानकारी दिएका छन् ।
‘झोले डाक्टर’को उपचारका कारण दुईको ज्यान गएपछि त्यस क्षेत्रमा रहेका अधिकांस मेडिकल सञ्चालकले मेडिकल बन्द गरेका छन् । अवैध मेडिकल सञ्चालक र झोले डाक्टरको भागाभाग भएको स्थानीयबासीले जानकारी दिएका छन् । झोले डाक्टरका कारण यसअघि पनि बिरामीको स्वास्थ्यमा समस्या देखिएपनि पहुँच अभावमा गाउँको घटना गाउँमै हराउने गरेको स्थानीय बासी बताउँछन् ।
सोमबार मृत्यु भएका दुवैको पोष्टमार्टम भेरी अञ्चल अस्पतालमा गरिएको छ । यद्यपि, गतल औषधीले प्रयोगको पुष्टिका लागि भने भिसेरा परीक्षण गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।
नरैनापुर गाउँपालिकामा ६ वटा वडा छन् । हरेक गाउँमा कम्तीमा दुई जनाका दरले झोले चिकित्सक रहेको स्थानीयबासी बताउँछन् । यसअघि झोले चिकित्सकले सञ्चालन गरेका मेडिकल बारे सरोकारवालाको चासो नहुँदा बिरामीले अनाहक ज्यान गुमाउनु परेको स्थानीयबासी बताउँछन् । ‘ज्यान गुमाएर समाचार नै आएपछि बल्ल विभाग र प्रशासनको टोली अनुगमनका लागि आएको हो’, स्थानीयबासी भन्छन्, ‘कुन डाक्टर हो वा होइन हामीले थाह पाउन सक्ने कुरा भएन, सबैले डाक्टर भनेपछि उपचारका लागि पुग्ने गरिएको हो ।’
यसअघि मंगलवार विहान प्रदेश नं.५ की सांसद कृष्ण केसी (नमुना)ले घटनास्थलको अवलोकन गरि पीडितहरु संग भेटघाट गरेकी थिइन् । ‘नरैनापुर क्षेत्रमा रहेका जम्मै अवैध क्लिनिक बन्द गर्न निर्देशन दिएकी छु’, दैनिक नेपालगन्ज संग कुरा गर्दै सांसद केसीले भनिन्, ‘अब यस्तो घटना दोहोरिनु हुन्न ।’ गाउँमा रहेका अन्य अवैध क्लिनिकको अवलोकन पछि उनले सबै क्लिनिक शिल गर्न प्रहरीलाई निर्देशन दिएको बताइन् ।
घटना पछि स्थानीय स्वास्थ्य अवस्थाबारे प्रश्न खडा भइरहँदा स्वास्थ्य चौकी मटेहिया, गंगापुर, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुईंयामा समयमा औषधी नपुग्ने गरेको गुनासो समेत बाहिर आएको छ । दुई जनाको मृत्यु घटनामा संलग्नता रहेका झोले चिकित्सक सिंहको खोज कार्य भइरहेको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मान बहादुर बिसीले बताएका छन् ।








