गाउँमा ‘ज्यानमारा डाक्टर’, झोले चिकित्सक खोज्दै प्रहरी

बाँके राप्तीपारिको नरैनापुर गाउँपालिका, जनसंख्या ४५ हजार, स्वास्थ्य चौकी ६ वटा र झोले चिकित्सक ३५ जना । यिनै ३५ जना झोले चिकित्सकले धानेको स्वास्थ्य सुविधा बीच सयौंले ज्यान गुमाउँछन् । केही दिन रुवाबासी हुन्छ, घटनाको चर्चा र मान्छेको क्रियाकलापको चर्चा विस्तारै धूमिल हुँदै जान्छ । मान्छेको अवस्था उपचार अघिको संघर्ष र मृत्यु पछिको चर्चाकै बीच सिमित हुन पुग्यो । त्यसको मुख्य जरो हो, स्वास्थ्य चौकीमा चिकित्सक नहुनु र भएपनि उपचारका लागि चाहिने प्रविधि र औषधीको अभाव कायम रहनु ।


नरैनापुर गाउँपालिकामा ६ वटा वडा छन् । हरेक गाउँमा कम्तीमा दुई जनाका दरले झोले चिकित्सक छन् । कक्षा १० मात्र पढेका र भारतको बहराइच लगायत केही सहरका क्लिनिकमा एक दुई वर्ष मात्र प्रशिक्षण लिएर सिमावर्ती गाउँमा ठूलो डाक्टरकै रुपमा आफ्नो क्लिनिक स्थापित गर्ने ३५ जना झोले चिकित्सकले नरैनापुर गाउँपालिकाको स्वास्थ्य धान्दै आएका छन् । यि चिकित्सक बारे चर्चा तब मात्र हुन्छ, जब कसैको मृत्यु हुन्छ । केही समय चर्चा त्यसपछि पुनः सामान्य स्थिति कायम गर्दै झोले चिकित्सकले पुनः आफ्नो पेशा सुरु गर्छन् ।


बाँके नरैनापुर गाउँपालिकामा सोमबार झोले चिकित्सकको उपचारबाट दुई जनाको ज्यान गएपछि चिकित्सकले चर्चा पाए । भारत श्रावस्ती जिल्लाको मनकौरा गाउँ बस्ने झोले चिकित्सक राजेश सिंहले उपचार गर्दा नरैनापुर–५ मटेहिया बस्ने वर्ष ३० को गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका वडा नं.७ गेंदवा गाउँ बस्ने वर्ष २८ को मालिक राम धोबीको ज्यान गयो ।


‘घरमा मुण्डनको कार्यक्रम थियो भोज खाएपछि बोमिट हुने क्रम बढेपछि परिवारका सदस्यले डाक्टर बोलाए’, इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मान बहादुर बिसीले भने, ‘उपचारकै क्रममा गयाराजको मृत्यु भयो, मालिक रामलाई उपचारका लागि नेपालगन्ज लैजाने क्रममा ज्यान गएको हो ।’


करिब २५ वर्ष देखि गाउँमा अवैध उपचार गरी बसी आएका चिकित्सक राजेश सिंहको यो पहिलो घटना होइन, स्थानीय मयाराम धोबीले भने, धेरै मान्छेको मृत्यु भयो तर मृत्युको जाँच नभएका कारण कुरा खुलेन । मृत्युपछि दुबैको शव परीक्षण पछि अन्त्येष्टी गरिएको प्रहरीले जनाएको छ । मंगलवार विहान प्रदेश नं.५ की सांसद कृष्ण केसी (नमुना)ले घटनास्थलको अवलोकन गरि पीडितहरु संग भेटघाट गरेकी छन् । ‘नरैनापुर क्षेत्रमा रहेका जम्मै अवैध क्लिनिक बन्द गर्न निर्देशन दिएकी छु’, दैनिक नेपालगन्ज संग कुरा गर्दै सांसद केसीले भनिन्, ‘अब यस्तो घटना दोहोरिनु हुन्न ।’ गाउँमा रहेका अन्य अवैध क्लिनिकको अवलोकन पछि उनले सबै क्लिनिक शिल गर्न प्रहरीलाई निर्देशन दिएको बताइन् ।


घटना पछि स्थानीय स्वास्थ्य अवस्थाबारे प्रश्न खडा भइरहँदा स्वास्थ्य चौकी मटेहिया, गंगापुर, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुईंयामा समयमा औषधी नपुग्ने गरेको गुनासो बाहिर आएको छ । ‘स्वास्थ्य चौकी मटेहियाका इन्चार्ज प्रेम बुढाले समयमा औषधी नभएका कारण पटक पटक विरामी फर्काउनुको विकल्प नरहेको बताए । ‘अर्डर अनुसार औषधी प्राप्त हुँदैन’, उनले भने, ‘अहिले सामान्य औषधी सिटामोल समेत छैन ।’


‘स्वास्थ्य चौकीबाट समयमा माग नआएका कारण अपुग हुन गएको हो’, नरैनापुरका स्वास्थ्य संयोजक मोइन खाँ भन्छन्, ‘समयमा माग नगरेपछि औषधी अभाव हुनु स्वभाविक हो ।’ उनले भने, ‘खपत भएका कारण औषधी सक्किनु ठूलो कुरा होइन ।’ दुई जनाको मृत्यु घटनामा संलग्नता रहेका झोले चिकित्सक सिंहको खोज कार्य भइरहेको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज बिसीले बताए । ‘हामी सहित अन्य सबै झोलेलाई खोज तलाश सुरु गरेका छौं’, उनले भने, ‘मेरो क्षेत्रमा अवैध मेडिकल माफियाहरुलाई कुनै स्थान छैन ।’

प्रतिक्रिया

प्रतिक्रिया