घरेलु तथा साना उद्योग कार्यालयले लामो समयदेखि रोकेको उद्योग नविकरण पुनः सूचारु भएको छ । नविकरणको म्याद नाघेपछि नविकरणका लागि पुग्ने उद्योगहरुको नविकरण घरेलुले जरिवाना लिएर पनि गरेको थिएन । कार्यालयले नविकरण रोकिदिएपछि व्यवसायीहरु मर्कामा पर्दै आएका थिए ।
अब जरिवाना तिरेर २०७७ भदौ ३ गतेसम्म व्यवसायीहरुले नविकरण गर्न पाउनेछन् । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उजिर न्यौपानेले रोकिएको नविकरण नियमअनुसार पुनः नविकरण गर्न थालेको जानकारी दिएका छन् । ‘मिति सकिएका उद्योगको नविकरण सुरु भएको छ’, उनले भने ।
उद्योग नविकरण बन्द गरिएपछि उद्योगी, व्यवसायीहरुले पटकपटक सुचारु गरिदिन पहल गर्दै आएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले व्यवसायीहरुको निरन्तरको प्रयासका कारण नविकरण खुला भएको जानकारी दिएका छन् । ‘बैंकिङ्ग कारोबारका लागि समेत नविकरण नहुँदा धेरै अप्ठ्यारो भैरहेको थियो’, उनले भने ।
महासंघले नविकरणका लागि प्रदेश सरकार तथा सङ्घीय सरकारसँग पटक–पटक छलफल गर्दै आएको थियो । महासंघका केन्द्रीय सदस्य श्रेष्ठले नविकरणका लागि महासंघ, प्रदेश संघ र जिल्ला स्थित उद्योग वाणिज्य संघहरुको पहलले नविकरण सम्बन्धी समस्याले निकास पाएको बताएका छन् । यसअघि दाङ, प्युठान, रुपन्देही, भैरहवा, नेपालगन्ज लगायतका उद्योग वाणिज्य सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय पदाधिकारी तथा प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री लीला गिरीबीच छलफलसमेत गरिएको केन्द्रीय सदस्य श्रेष्ठले बताएका छन् । त्यसपछि प्रदेश सरकारले केही दिनअघि नवीकरण रोकिएका उद्योगको पुनः नवीकरण गर्न अख्तियारी दिएको थियो । सरकारको निर्णयले उद्योगीलाई सहजता भएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताएका छन् ।
नवीकरणका लागि उद्योगी घरेलु कार्यालयसम्म पुगे पनि काम नभएपछि त्यसै फर्किने गरेका थिए । ‘हामीले पटक–पटक नवीकरण गर्नका लागि अनुरोध गर्दै आएका थियौँ, अहिले त्यो पूरा भएको छ’, उद्योग वाणिज्य संघ घोराही दाङका नारायण प्रसाद अध्यक्ष भुसालले भने । घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख उद्योग अधिकृत वासुदेव रिजालले मिति सकिएका उद्योगको नवीकरण सुरु भएको बताए । ‘निमावली निर्माण भएर आएपछि नवीकरण सुरु गरेका छौँ’, रिजालले भने । आइतबारबाट शुरु भएको नवीकरणका लागि दैनिक आधा दर्जन उद्योगी नवीकरणका लागि आउने गरेका घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
नविकरण म्याद गु्रजेका व्यवसायी दैनिक जसो घरेलु तथा साना उद्योग कार्यालय र उद्योगी व्यवसायीहरुको छाता संगठन नविकरण सुचारुका लागि पहल गरिदिन आग्रह गर्दै पुग्ने गरेका थिए । कार्यालयले भने कानुनी व्यवस्था भन्दै नविकरण नगरी फर्काउने गरेको थियो । उद्योग वाणिज्य संघहरुले संघ जिल्लादेखि केन्द्रसम्म सरोकारवाला निकायको ढोका ढक्ढक्याउँदै आएका थिए ।








