म्याराथनलाई “धारा” को साथ

नेपालगन्जमा यसै साता आयोजना हुने नेपालगन्ज म्याराथनलाई नेपाली खाद्य उद्योग क्षेत्रकै अग्रणी, केएल दुगड समूहको धारा शुद्ध तोरीको तेलले साथ दिने भएको छ । नेपालगन्जमै उद्योग रहेको धाराले नेपालगन्ज म्याराथनमा मुख्य प्रायोजन गर्ने सहमति भएको हो ।
क्रिएटिभ ह्याण्ड्सको आयोजनामा हरेक वर्ष आयोजना हुने म्याराथनको पाँचौं संस्करण यसै साता शनिबार आयोजना हुँदैछ । केएल दुगडका महाप्रबन्धक प्रदीप कुमार छाजेड र क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

‘अब प्रतियोगिताको नाम धारा नेपालगन्ज म्याराथन हुनेछ,’ केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारासँगको सम्झौतापछि अध्यक्ष ठकुरीले भने, ‘नेपालगन्जको ब्राण्डिङमा स्थानीय उद्योगले हातेमालो गरेकोमा उत्साहित छौं ।’ उनले धारा तेलको नारानै ‘मुटु चाहिन्छ मुटु’ भएकाले यो भावनासँग म्याराथनको तालमेल रहरलाग्दो भएको बताए ।
सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ ।

‘नेपालगन्जको महत्वपूर्ण इभेन्ट बनोस् भन्नेमा हाम्रो साथ हो,’ छाजेडले दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्जलाई खेलकूद मार्फत विश्वभर चिनाएर एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सक्छौं ।’ पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहरका रुपमा परिचित छ । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने आयोजकको उद्देश्य रहेको बताइएको छ ।


‘ नेपालगन्ज र कोहलपुरलाई जोड्ने एउटा सशक्त माध्यमका रुपमा नेपालगन्ज म्याराथन एउटा महत्वपूर्ण कडी बन्न सक्छ,’ नेपालगन्जलाई महानगर बनाउने अवधारणामा यसले सहयोग पुग्ने विश्वास लिएको भन्दै अध्यक्ष ठकुरीले भने, ‘हो, यसमा सबै क्षेत्रको एकता र साथ आवश्यक छ ।’


पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन, ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथाखुल्ला दौड समावेश गरिएको छ । त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागिपनि दौड स्पर्धा समेटिएको छ ।
यस बर्षदेखि ३ किलोमिटरको कर्पोरेट रन पनि राखिएको आयोजकले जनाएको छ । जसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथाबिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता रहने विश्वास छ ।

म्याराम्याराथनतर्फ शीर्ष आठ जना तथा हाफम्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ बताएको छ । नेपालगन्ज उपमहानगरपालिका नजिक बीपी चोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागी हुनेछन् । त्यस्तै, जुम्ला, कालिकोट लगायतका कर्णालीकाजिल्लाहरु र प्रदेश ५, ६ र ७ का खेलाडीहरुले भाग लिदै आएका छन् ।


नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई विजेता भएका थिए भने हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । यसपटक सबै विधामानगद पुरस्कार बृद्धि गरिने आयोजक क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष ठकुरीले बताएका छन् । ‘आयोजनालाई भव्यता कसरी दिने भन्नेमा हामी योजना बनाइरहेका छौं,’ ठकुरीले दैनिक नेपालगन्जसँग भने ।

प्रतिक्रिया

प्रतिक्रिया