बर्दिया/भावुक योगी
बर्दिया प्रहरीले ५८ किलो लागुऔषध चरेस सहित पूर्वी रुकुम र रोल्पाका पाँच जनालाई सदरमुकाम गुलरियाबाट पक्राउ गरेको छ । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका भन्सार रोडबाट ५८ किलो चरेस सहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामशंकर कोहारले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । प्रहरी सहायक निरीक्षक सुनिल बस्याल सहितको विशेष टोलीले शनिवार पक्राउ परेका पाँच जनालाई आइतबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेहरुमा पूर्वी रुकुमको साविक खबाङ गाविस ८ घर भई हाल दाङ घोराहीमा बस्दै आएका ३४ वर्षीय राजकुमार पुनमगर, पूर्वी रुकुम कार्की भुमे गाउँपालिका घर भई हाल दाङ घोराहीमा बस्दै आएका २७ वर्षीय जुनतारा पुन, पूर्वी रुकुमकै साविक महत गाविस २ घर भई हाल दाङ घोराहीमा बस्दै आएका ३४ वर्षीय सुनथामी बुढामगर, पूर्वी रुकुम साविक तक्सेरा गाविस ९ घर भई हाल पुथा उत्तरगंगा गाउँपालिका ९ का २६ वर्षीया अस्मिता रामजाली र रोल्पाको साविक पाछाबाङ गाविस ८ घर भई हाल दाङ घोराहीमा बस्दै आएका २९ वर्षीय खीमप्रसाद रोकामगर रहेका छन् ।
अस्मिता रामजाली बाहेक चार जना दाङको घोराहीमा बस्दै आएका हुन् । पहाडी जिल्लाबाट संकलन गरिएको चरेस तराईको बाटो हुँदै भारत तर्फ लैजादै गर्दा बर्दिया प्रहरीले चेकजाँचका क्रममा गुलरिया भन्सार रोडबाट पक्राउ गरेको हो । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले बोकेको कालो झोला भित्र प्लाष्टिकले बेरेर लुकाई छिपाई राखेको अवस्थामा ५८ किलो लागुऔषध चरेस, नगद बत्तीस हजार पाँच सय रुपैयाँ र ५ थान मोबाइल सेट फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामशंकर कोहारले बताएका छन् ।
लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ को दफा घ को ५ अनुसार १० किलोभन्दा परिणाममा पक्राउ परेका उपर २ देखि १० वर्ष सम्म कैद र एक हजार ५ सयदेखि एक लाख रुपैँयासम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान रहेको प्रहरीले जानकारी दिएको छ ।