पुस्तक संकलन तथा ज्ञान व्यवस्थापन अभियानको सुरुवात गरिएको अभियन्ता गोविन्द पाण्डेको भनाइ

बाँकेको जयेन्दु बाल सुधार केन्द्रको पुस्तकालयलाई मंगलवार पुस्तक सहयोग हस्तान्तरण गरिएको छ । जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले सुधार गृहकी इन्चार्ज विमला काउचा मगरलाई १३ वटा पुस्तक हस्तान्तरण गरेका हुन् ।
सकारात्मक सोच, जीउने कला, अध्यात्म, योग, सीपमूलक तालिम, कृषि, लोकसेवा आयोग तयारी, कम्प्युटर शिक्षालगायतका विषयका पुस्तक रहेका छन् । कार्यक्रममा प्रमुख पाण्डेले सुधार गृहका लागि पुस्तक संकलन अभियान नै सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
विभिन्न प्रकारका बिषयहरुमा कानूनी विवादमा नेपालगन्ज वाल सुधार गृह मा २६ जिल्लाका १८५ जना वालकहरु आश्रित छन् । तीवालकहरु मध्ये धेरै जसो माध्यामिक स्तर र प्रमाण पत्रतहमा अध्ययन गर्ने रहेका तथा निजहरुलाई अध्ययन गर्नका पुस्तकालयमा पुस्तक अभाव रहेकोले अभियाननै शुरु गरेको अभियन्ता पाण्डेको भनाइ छ ।
पाण्डेका अनुसार, पुस्तकालयको लागि माध्यामिक, प्रमाणपत्र तथा स्नातक तहका पुस्तक, लोकसेवा, शिक्षक सेवा, संस्थान सेवा, सुरक्षा सेवाका पुस्तक, सकारात्मक सोच विकास सम्बन्धी पुस्तक, सामान्य ज्ञान, भूगोल, इतिहांस, धर्मशास्त्र, साहित्य, संस्कृति सम्बन्धी पुस्तकहरु संकलन तथा निजहरुको क्षमता विकास गरी ज्ञान र शीपअभिवृद्धि गर्ने अभियान सुरु गरिएको हो ।
पुस्तक संकलन तथा ज्ञान अभिवृद्धि अभियानकालागि जिल्ला हुलाक कार्यालय बांँकेका कार्यालय प्रमुखसमेत रहेका लेखक गोबिन्दप्रसाद पाण्डेको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
समितिमा बबई बहुमुखी क्याम्पस गुलरिया बर्दियाका उपप्राध्यापक राजेन्द्रप्रसाद धिताल, अभिवक्ता विश्वजित तिवारी, शिक्षा तथा मानव स्रोत विभाग सानोठिमीका शाखा अधिकृत धनसुदन चौलागाई, लुम्विनीप्रदेश मूख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका लेखा अधिकृत दिनेश सिंह, पुस्तक तथा स्टेशनरी व्यवसायी समितिका बांकेका अध्यक्ष किशोर कुमार आचार्य, कोहलपुरका साहित्यकार महांनन्द ढकाल सदस्य रहेको उक्त समितिको सल्लाहकारमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य हरिप्रसाद तिमिल्सिना, साहित्यकार किरण आचार्य, परोपकारी जग्गादाता शिक्षक जयकेश सिंह रहेका छन् ।











