विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका पीडितहरूको सम्झना तथा मेलमिलाप दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००४ नोभेम्बर २२ मा पारित गरेको प्रस्तावअनुसार हरेक वर्ष मे ८ र ९ लाई “दोस्रो विश्वयुद्धका सबै पीडितको सम्झना तथा मेलमिलाप दिवस” का रूपमा मनाउने गरिएको हो।

उक्त प्रस्तावमार्फत सदस्य राष्ट्र, संयुक्त राष्ट्रसङ्घीय निकाय, गैरसरकारी संस्था तथा विश्व समुदायलाई यी दिन विभिन्न कार्यक्रम आयोजना गरी युद्धका पीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्न आह्वान गरिएको थियो।
महासभाले दोस्रो विश्वयुद्धजस्तो भयावह घटनाले भावी पुस्तालाई युद्धको विभीषिकाबाट जोगाउन संयुक्त राष्ट्रसङ्घ स्थापना गर्ने आधार तयार गरेको उल्लेख गरेको छ। साथै, संयुक्त राष्ट्रसङ्घको बडापत्रअनुरूप शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्दै अन्तरराष्ट्रिय शान्ति तथा सुरक्षालाई सुदृढ बनाउन सदस्य राष्ट्रलाई एकताबद्ध प्रयास गर्न आग्रह गरिएको छ।
सन् २०१० मार्च २ मा महासभाले पुनः अर्को प्रस्ताव पारित गर्दै मे ८ र ९ लाई दोस्रो विश्वयुद्धका सबै पीडितको सम्मानमा उपयुक्त रूपमा मनाउन सदस्य राष्ट्र तथा सम्बन्धित निकायलाई अनुरोध गरेको थियो। दोस्रो विश्वयुद्ध समाप्त भएको ६५औँ वर्षको अवसरमा सोही वर्ष मे महिनामा महासभाले विशेष शोकसभा पनि आयोजना गरेको थियो।
त्यस अवसरमा तत्कालीन महासचिवले दोस्रो विश्वयुद्धलाई “स्वतन्त्रता र मुक्तिका लागि इतिहासकै सबैभन्दा ठूलो सङ्घर्ष” को संज्ञा दिएका थिए। युद्धमा करिब चार करोड सर्वसाधारण र दुई करोड सैनिकको ज्यान गएको उल्लेख गर्दै तीमध्ये झन्डै आधा सोभियत सङ्घका सैनिक रहेको बताइएको थियो।
महासभाले दोस्रो विश्वयुद्धले विशेषगरी युरोप, एसिया, अफ्रिका, प्रशान्त क्षेत्रलगायत विश्वका विभिन्न भागका मानव समुदायलाई अपूरणीय क्षति र पीडा दिएको जनाएको छ। साथै युद्धपछिको कालखण्डमा मेलमिलाप, अन्तरराष्ट्रिय तथा क्षेत्रीय सहकार्य, लोकतान्त्रिक मूल्य, मानवअधिकार र आधारभूत स्वतन्त्रताको प्रवर्द्धनमा भएको प्रगतिलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरिएको छ।
दोस्रो विश्वयुद्ध समाप्तिको ८०औँ वर्षको अवसरमा गत वर्ष मे ७ मा संयुक्त राष्ट्रसङ्घ महासभाले विशेष शोकसभा आयोजना गरेको थियो।











