विद्यालयमा योग शिक्षा प्रभावकारी बनाउन शिक्षकहरुका लागि नेपालगन्जमा प्रशिक्षण

नेपालगन्ज :विद्यालयमा योग शिक्षा प्रभावकारी बनाउन शिक्षकहरुका लागि नेपालगन्जमा प्रशिक्षण थालिएको छ। स्वास्थ्य शिक्षा विषय अन्तरगत योगसम्बन्धि शिक्षण विषयवस्तु पाठ्यक्रममा सामेल गरिएता पनि शिक्षकहरुमा आवश्यक ज्ञान सीपको अभावले प्रभावकारी हुन नसकेपछि अब शिक्षकहरुलाइ नै प्रशिक्षित गर्न नेपालगन्जमा सो तालिम मंगलबारदेखि सुरु भएको हो।


स्वस्थ्य जनशक्ति निर्माणका लागि विद्यालय तहबाटै योग शिक्षाबारे प्रचारप्रसार हुनुपर्ने र योगको अभ्यास बढाउन नेपालगन्ज क्षेत्रका शिक्षकहरुका लागि सो तालिम थालिएको जनाइएकोछ।संचालन भएको सो योग शिक्षा तालिम १० दिनसम्म चल्ने छ।


नेपालगन्ज उप-महानगरपालिकाको सहयोगमा नेपाल शिक्षक महासंघ नेपालगन्ज नगर समितिको आयोजनामा सो तालिम सुरु भएको हो।
नेपालगन्ज क्षेत्रका सामुदायिक , संस्थागत र मदरसा लगायतका शिक्षकलाई समेट्दै पहिलो चरणमा ४० जना सो तालिममार्फत योग शिक्षा प्रशिक्षणमा सहभागी भएका छन् । कुल पाँच चरणमा ५०/५०जनालाई सहभागी गराइ नेपालगन्जका सबै विद्यालयका कम्तिमा पनि २ जनालाई योग शिक्षामा प्रशिक्षित गराइने लक्ष्यका साथ अगाडी बढिएको शिक्षक महासंघ नेपालगन्ज नगर समिति अध्यक्ष मनोजराजा श्रीवास्तवले जानकारी गराउनु भएको छ।


सो तालिमको एक कार्यक्रमका बीच उदघाटन गर्दै प्रमुख अतिथि नेपालगन्ज उप- महानगर पालिकाका कार्यवाहक प्रमुख उमा थापाले स्वस्थ्य जीवनका लागि योग शिक्षा निर्विकल्प रहेको बताउदै विद्याथीहरुलाई यसबारे नियमित अभ्यास गराउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, नेपाल शिक्षक संघ- बाँके अध्यक्ष वीरेन्द्र यादव, नेपाल शिक्षक महासंघ नेपालगन्ज नगर समिति अध्यक्ष मनोजराजा श्रीवास्तव, विद्धिजिवी डा. विजय प्रधान, समाजसेवी घनश्याम वैश्यलगायतले आ-आफ्ना धारणा राख्दै विद्यालयमा योग शिक्षाको निरन्तर अभ्यास आवश्यक रहेको बताउनुभयो।


विद्यालयमा सीप र ज्ञानको अभावमा अझैपनि योगको व्यवहारिक कार्यन्वयन हुन नसकेपछि सीप विकासका लागि यो तालिम नेपालगन्ज उपमहानगर पालिकाको सहयोगमा संचालनमा ल्याउन सफल भएको शिक्षक महासंघ नेपालगन्ज नगर अध्यक्ष श्रीवास्तवले बताउनुभयो।
विद्यालय शिक्षाको पाठयक्रममा योग शिक्षा समावेश रहेतापनि अध्यापनरत कतिपय शिक्षकहरु नै योग अभ्यासबारे जानकार नभएकाले पनि यो तालिम थप उपयोगी रहने अपेक्षा राखिएको आयोजकले जनाएको छ।


तालिमपछि प्रशिक्षित शिक्षकहरु विद्यालयभित्र विभिन्न समयमा विद्यार्थीहरुबीच योग शिक्षा र अभ्यासको प्रयोग गर्नुहुने विश्वास लिइएको छ।
योगगुरु कृष्णा पान्डेले मुख्य प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको जनाइएको छ। सो तालिम दैनिक बिहान लगभग २ घण्टा योगका विभिन्न आसन र फाइदा लगायतका बारे प्रशिक्षण दिइने कार्यक्रम रहेको जनाइएकोछ।


नेपाल शिक्षक संघ नेपालगन्ज नगर अध्यक्ष कंचन आचार्यले स्वागत गर्नुभएको सो उदघाटन सत्रको संचालन शिक्षक महासंघ नेपालगन्ज नगर सचिव केशव शर्माले गर्नुभएको थियो।

प्रतिक्रिया

प्रतिक्रिया